आफ्नै इँटा भट्टामा काम गर्ने १७ वर्षीया कामदारलाई बलात्कार गरेको आरोपमा वडा सदस्यविरुद्ध उजुरी

 चैत ९, २०७५ शनिबार २०:२५:२२ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – लिखु गाउँपालिका वडा नं.-३, नर्मदेश्वरका वडा सदस्य ५० वर्षीय विष्णुभक्त श्रेष्ठविरुद्ध १७ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दर्ता भएको छ ।

श्रेष्ठले आफूलाई बलात्कार गरेको भन्दै युवतीले शनिबार जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दर्ता गरेकी हुन् ।

श्रेष्ठविरुद्ध उनी आफैले सञ्चालन गरेको इँटा कारखानामा काम गर्ने कामदारमाथि बलात्कारको उजुरी परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताउनुभयो । पीडित बालिकाले शनिबार उजुरी दर्ता गराएको पनि श्रेष्ठले जानकारी दिनुभयो ।

बलात्कारको अभियोग लागेपछि वडा सदस्य श्रेष्ठ फरार रहेको प्रहरीले जनाएको छ । पीडितको उजुरी लिएर आरोपितको खोजी गरिरहेको श्रेष्ठले बताउनुभयो ।  

उजुरीमा चैत ७ गते बिहीबार दिउँसो वडा सदस्य श्रेष्ठले बलात्कार गरेको उल्लेख गरिएको छ । युवतीले इँटा भट्टामा दिउँसो सुतिरहेको समयमा आफूमाथि बलात्कार भएको उजुरीमा उल्लेख गरेकी छिन् । उनी पतिसँगै ज्यालादारीमा श्रेष्ठको भट्टामा काम गर्दै आएकी थिइन् ।

प्रहरीले शनिबारै पीडितको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराइ अनुसन्धान थालेको जनाएको छ । 


 

अन्तिम अपडेट: चैत १३, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया