सफलतासँगै विवादले घेरिएका कपिल शर्मा !

 चैत १९, २०७५ मंगलबार १९:५८:१० | एजेन्सी
unn.prixa.net

भारतको पञ्जाबको अमृतसरमा सन् १९८१ अप्रिल २ मा जन्मिएका भारतीय चर्चित हास् कलाकार कपिल शर्मा आज ३७ औँ जन्मदिन मनाइरहेका छन् । कपिल शर्माले सोमबार राति नै उनका आफन्तजन र परिवारसँग जन्मदिन मनाइसकेका छन् । कपिल शर्माले उनको जीवनमा जति सफलता हासिल गरेका छन्, उनको जीवन त्यति नै विवादले घेरिएको छ ।  

कपिल शर्माको वास्तविक नाम शमशेर सिंह हो । उनले लाफ्टर च्यालेञ्ज सिजन-३ जितेर दर्शकमाझ आफ्नो पहिचान बनाएका थिए । त्यो शो जितेर १० लाख रुपैयाँ पुरस्कार पाएका कपिलले त्यही रुपैयाँले आफ्नी बहिनीको विवाह गराएका थिए । कपिलले हिन्दी शोका साथै पञ्जाबी शोहरुमा पनि काम गरेका छन् । उनले करिब ९ वटा कमेडी शोहरु जितेका थिए । 

सुरुमा कपिल शर्मा लाफ्टर च्यालेञ्ज शो-३ का लागि अमृतसरमा भएको अडिसनमा रिजेक्ट भएका थिए । तर उनले हिम्मत हारेनन् । उनी दिल्ली आएर फेरि दिल्ली अडिसनमा सहभागी भएका थिए । त्यस अडिसनमा भने उनी छानीएका थिए । तिनै कपिल शर्माले पछि लाखौं करोडौं दर्शकहरुको मन जित्न सफल भए ।

कपिल ती कम व्यक्तिहरुमा पर्दछन् जसको नामबाट शोहरु सञ्चालन हुन्छन् । उनको शो ‘द कपिल शर्मा शो’ हिट भएसँगै त्यस शो की क्रियटिभ डाइरेक्टर प्रिती सिमोसका साथ जोडियो । पछि तिनै प्रितीका साथ झगडा पनि परेको थियो । त्यसपछि एक मराठी अवार्ड शोमा कपिल शर्माले गायिका मोनाली ठाकुर र तनिषा मुखर्जीका साथ दुर्व्यवहार गरेको आरोप लागेको थियो । 

कपिल शर्मालाई जति सफलता मिल्दै गयो त्यसपछि उनमा त्यसको घमण्ड पनि बढ्दै गयो । उनले एकपटक अवार्ड शो होस्टका लागि १ करोड २५ लाखको माग गरेका थिए । त्यसपछि पनि त्यस अवार्ड शो आयोजकसँग भ्यानिटी भ्यानका लागि झगडा नै गरेका थिए । 

कपिल शर्माले बीएमसीका कर्मचारीहरुलाई घुस खाएको आरोप लगाएर ट्वीट गरेका थिए । जसमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्याग गरेका थिए ।

त्यसलगत्तै कपिल शर्मा आफैले अवैध रुपमा उनको अफिसको भवन बनाउँदै गरेको समाचार सार्वजनिक भएको थियो । तर कपिल शर्माले भने उक्त भवन निर्माण स्वीकृति लिएर बनाएको बताएका थिए । 

कपिल शर्माले आफ्नै शो का सहकर्मी तथा चर्चित कमेडियन सुनील ग्रोवरलाई अष्ट्रेलियाको कार्यक्रम गरेर फर्कने क्रममा हवाइजहाज भित्रै कुटपिट गरेका थिए ।

सार्वजनिक ठाउँमै आफूलाई दुव्र्यवहार गरेको भन्दै सुनीलले त्यसपछि कपिल शर्मा शो नै छोडेका थिए । पछि कपिलले आफूबाट गल्ती भएको भन्दै सुनीलसँग माफी पनि मागे तर सुनील उनको शोमा फर्केर आएनन् । 

कपिल शर्मा शो मा कलाकारहरुलाई बोलाएर घण्टौंसम्म कुराएर आफू भने ढिला उपस्थित हुन्थे । यसरी शोमा पर्खनेमा अभिनेता अजय देवगन, श्रद्धा कपूर, सोनाक्षी सिन्हादेखि शाहरुख खान, अमिताभ बच्चनलगायत कलाकारहरुले समस्या झेल्नु परेको थियो । कपिलको यही व्यवहारका कारण कतिपय कलाकारले शो मा आउनै बन्द गरिदिएका थिए । बिस्तारै कपिलको शोकाे स्तर पनि घट्दै गयो । आफ्नो शो फ्लप भएपछि कपिल शर्मा डिप्रेशनमै परेका थिए ।

नशाको लत तथा डिप्रेशनमा परेका कपिल केही समय सुधारगृहमा बसेका थिए । त्यसपछि उनले आफ्नो व्यवहारमा पनि सुधार ल्याए । आफन्तजन र परिवारको साथले फेरि सामान्य अवस्थामा फर्किएका कपिलले उनकी कलेज पढ्दा देखिकी प्रेमिका गिन्नी चतराथका साथ डिसेम्बर १२, २०१८ मा विवाह गरे ।

त्यसको केही समयपछि उनी फेरि आफ्नो पुरानो शो द कपिल शर्मा शो को नयाँ सिजन लिएर टेलिभिजनमा फर्किएका छन् । कपिलको कमब्याकले उनका प्रशंशकहरु निकै खुशी भएका छन् । साथै अहिले उनको शो दर्शकहरुमाझ हिट भइरहेको छ ।  
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया