नेपालमा चरा प्रजातिको सङ्ख्या ८ सय ९८ पुग्यो
फागुन २०, २०८१ मंगलबार
भक्तपुर – सोमबार मध्यान्ह १२ बजेदेखि नै मध्यपुर थिमिको बोडे क्षेत्रमा मान्छेहरुको भिड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका वडा नं. ८ बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसहरुको भिड बढ्दै गयो ।
बिस्का अर्थात बिस्केट जात्रामा मनाइने बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न एकैछिनमा मानिसहरु खचाखच भए । त्यही भिडबाट अलिपर प्रतिनिधिसभाका सांसद महेश बस्नेत, प्रदेश न.. ३ का सांसद डा. राजेन्द्रमान श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले जात्राको अवलोकन गर्दै जात्राको तस्बिर लिन थाले ।
त्यसको केही बेरमै बाँसको चिम्टी बजाउँदै एकहुल मानिसहरु हातको साङ्लो बनाएर आए, सबैको ध्यान त्यतै केन्द्रित भयो, अघिअघि १० इञ्च लामो सियो बोकेको मानिस र केहीपछि जिब्रो छेड्न तयार भएर बोडेका सबै देवीदेवताको मन्दिरमा पूजा गर्दै आइपुगे ४७ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठ ।
बोडेका बासिन्दाले उहाँको जयजयकार गरे । पाँचो गणेशको दक्षिण फर्केको पाटीमा बनाइएको मञ्चमा उक्लिए पछि कर्मी नाइकेहरुले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झदै धूपबत्ती बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० इञ्च लामो सुइरोले हजारौँ मानिसहरूकै अगाडि वागश्रेष्ठको जिब्रो छेडियो ।
त्यसपछि उहाँले सबैलाई नमस्कार र अभिवादन गरेपछि चन्द्राकारकोे भ्वाय् अर्थात महाद्वीप बोकेर निस्किए बुद्धकृष्ण । महाद्वीप बोकेर करिब पौने एक घण्टासम्म बोडेको टोलटोल घुमेर पुनः भाँगु टोलमा पुगेर महालक्ष्मी मन्दिर भित्र प्रवेश गरेपछि सुइरो निकालेर मन्दिरमा ठोकिएपछि यो जात्रा सम्पन्न भयो ।
चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर आज जिब्रो छेडेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेका थिए । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनुनपर्ने श्रेष्ठले बताउनुभयो ।
परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यस वर्ष पनि आफूले बिज्रो छेडेको बताउँनुभयो । यसअघि २०६१ सालदेखि ०६४ सालसम्म जिब्रो छेडेको उहाँले आमाको निधनपछि बोडेको जुजुभाइ बाँसश्रेष्ठले ०६५ देखि ०७२ सालसम्म जिब्रो छेडेर यो जात्रालाई निरन्तरता दिनुभयो । गएको वर्ष पुनः जिब्रो छेड्नु भएका बुद्धकृष्णले यसवर्ष सातौँ पटक जिब्रो छेड्नु भएको हो ।
उहाँले भन्नुभयो, ‘विभिन्न रोगका कारण डाक्टरले बाँच्दैन भनेको थियो, त्यही वर्ष मैले जिब्रो छेडे, मेरो रोग निको भयो, त्यसपछि रोजगारीका लागि कोरिया गएँ, उताबाट फर्किएपछि थिमिको कोरिया नेपाल मैत्री अस्पतालमा निरन्तर एम्बुलेन्स चलाई रहेको छु, परिवार पनि धेरै राम्रो भएर आयो, अहिले भगवाणप्रतिको त्यही विश्वास र आस्थाले परम्परा जोगाउन फेिर जिब्रो छेड्ने जात्रालाई जोगाउँन जिब्रो छेड्न थालेको हुँ ।’ २०६० सालसम्म उहाँकै दाजु कृष्णचन्द्र वागश्रेष्ठले १२ वर्षसम्म निरन्तर रुपमा जिब्रो छेडेर जात्रा चलाइएको थियो ।
जात्राको किम्बदन्ती अनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङ्काल (बउचा) ले बोडेका मानिसलाई धेरै दुःख दिने गरेपछि तान्त्रिक भीमदत्त कर्माचार्यले तान्त्रिक विद्याले बोडेभरि पासो राखिदिए ।
बोडेमा दुःख दिन आएको ख्याक तान्त्रिक भीमदत्तको पासोमा पर्यो । भीमदत्तले लामो कपाल, लामो जिब्रो, डरलाग्दो पिशाच नीलबाराहीको दाहिने पाले भएको थाहा पाएपछि उसको कपाल काटे, लुगा फुकाले र लामो सियो जबरजस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घुँघरु बाँधिदिए ।
पिशाचको जिब्रो छेडी बलेको महाद्वीप काठको गहुङ्गो भारी बोकाएर बोडे घुमाए । कष्ट सहन नसकी पिशाचले आफूलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि,अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सात वर्षसम्म त्यसै दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किम्बदन्ती छ ।
एक रात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रो छेड्नु अगाडि क्षमा पूजा गर्ने चलन चलाए, जुन अहिलेसम्म पनि कायमै छ ।
वाचाअनुरूप सात पटकसम्म पिशाचको जिब्रो छेडियो र त्यसपछि ऊ नआउने भएपछि भीमदत्त कर्माचार्यले त्यसैअनुरूप बोडेवासीबाटै जिब्रो छेडाएको किम्वदन्ती रहेको स्थानीय बताउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।