विश्वकप समहू चरणको नालीबेली : रोनाल्डोको ह्याट्रिकदेखि के–कस्ता रेकर्ड ?

 असार १६, २०७५ शनिबार ६:५९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफा विश्वकपको समूह चरणका खेलहरु सकिएका छन् । समूह चरणमा धेरै अप्रत्यासित नतिजाहरु आएका थिए । 

डिफेन्डिङ च्याम्पियन जर्मनीले मेक्सिको र दक्षिण कोरियासँग हार ब्यहोर्दै समूह चरणबाटै घर फर्किनु, अर्जेन्टिना आइसल्याण्डसँग बराबरीमा रोकिनु र क्रोएसियासँग पराजित हुनु जस्ता नतिजा आए । जुन अप्रत्यासित थिए । कुल ४८ खेलको समाप्ति हुँदा विश्वकपमा के–के भयो ?

पहिलो रेफ्री

रसिया विश्वकपको उद्घाटन खेल खेलाउने सौभाग्य अर्जेन्टिनी रेफ्री नेस्टर पिटानाले पाए । उनलाई हर्नान माइडाना र हुवान पाब्लो बेलाटीले असिस्ट गरेका थिए । दुवै जना असिस्टेन्ट रेफ्री पनि अर्जेन्टिनाकै थिए ।

पहिलो गोल

रसिया विश्वकपको पहिलो गोल घरेलु खेलाडी युरी गाजिन्स्कीको नाममा रह्यो । उद्घाटन खेलमा साउदी अरेबियाविरुद्ध रुसले ५–० को भारी जित हात पार्ने क्रममा गाजिन्स्कीले खेलको १२औं मिनेटमा नै गोल गरेका थिए ।

समूह चरणमा कुल ११३ गोल भएका थिए । शीर्ष गोल कर्ता ह्यारी केनले पाँच गोल गरेका छन् भने उनलाई पछ्याइरहेका रोनाल्डो र रोमेलु लुकाकुको चार–चार गोल छ ।

पहेँलो कार्ड

विश्वकपको पहिलो पहेँलो कार्ड पनि रसियाली खेलाडीकै नाममा रह्यो । उद्घाटन खेलमा अलेक्सान्दर गोलोभिनले खेलको ८८औँ मिनेटमा पहेँलो कार्ड पाएका थिए । समूह चरणको समाप्ति सम्ममा कुल १६० पहेँलो कार्ड देखाइएको थियो ।

अर्जेन्टिना र आइसल्याण्ड तथा साउदी अरेबिया र उरुग्वेवीचको खेलमा कुनै पनि पहेँलो कार्ड देखाइएन भने अन्य सबै खेलमा पहेँलो कार्ड देखिएको थयो । सबैभन्दा धेरै पहेँलो कार्ड पाउने टिम पानामा बन्यो । पानामाविरुद्ध तीन खेलमा ११ पहेँलो कार्ड निकालिएको थियो ।

रेड कार्ड

समूह चरणमा कुल तीनवटा रातो कार्ड देखाइएको थियो । यो विश्वकपमा कोलम्बियाका कार्लोस सान्चेज रातो कार्ड पाउने पहिलो खेलाडी बने । उनले जापानविरुद्धको खेलमा रातो कार्ड पाएका थिए । रातो कार्ड पाउने अन्य खेलाडीमा जर्मनीका जेरोमी बोटिङ र रसियाका इगोर स्मोल्निकोभ छन् । 

ह्याट्रिक

समूह चरणमा दुईवटा ह्याट्रिक भए । यो विश्वकपको पहिलो ह्याट्रिक पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोको नाममा रह्यो । पहिलो खेलमा उनले स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए । चौथो मिनेटमा पेनाल्टीमार्फत पोर्चुगललाई अग्रता दिलाएका रोनाल्डोले ४४ र ८८ औं मिनेटमा गोल गरेका थिए । उनको गोलका कारण पोर्चुगलले स्पेनलाई ३–३ गोलको बराबरीमा रोकेको थियो ।

अर्को ह्याट्रिक इंग्ल्याण्डका ह्यारी केनले गरेका थिए । नवप्रवेशी टिम पानामाविरुद्धको खेलमा इंग्ल्याण्डले ६–१ को जित निकाल्ने क्रममा ह्यारी केनले ह्याट्रिक गरेका थिए, जसमा दुई वटा गोल उनले पेनाल्टीमा गरेका थिए ।

आत्मघाती गोल

समूह चरणमा आठवटा आत्मघाती गोल भएका थिए । पहिलो आत्मघाती गोल गर्ने खेलाडी मोरक्कोका अजिज बउहादोज थिए । उनकै आत्मघाती गोलका कारण इरानले पहिलो खेलमा जित हात पारेको थियो ।

त्यस्तै अष्ट्रेलियाका अजिज बेहिच, नाइजेरियाका ओगेनेकारो, पोल्याण्डका थियागो सियोनेक, इजिप्टका अहमेद फाती, रसियाका डेनिस चेरिसेभ, मेक्सिकोका इड्सन अल्भारेज, स्विट्जरल्याण्डका यान सोम्मर र ट्युनिसियाका यासिन मेरिहाले आफ्नै पोस्टमा गोल गरेका थिए ।

पेनाल्टी मिस

लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोले पेनाल्टी पाउँदा पनि गोल गर्न नसकेको ठूलो चर्चा भयो । तर समूह चरणमा अन्य चार खेलाडीको पेनाल्टी पनि मिस भएको थियो ।

पेरुका क्रिष्टियान क्वेभा, आइसल्याण्डका गेल्फी सिगुर्डसन, इजिप्टका फहाद अल मुवालाद र कोस्टारिकाका ब्रायन रुइजले पनि पाएको पेनाल्टी स्कोर गर्न सकेनन् ।

एसम एल–हादरीको कीर्तिमान

इजिप्टका भेट्रान गोलकिपर एसम एल–हादरीले साउदी अरेबियाविरुद्धको खेलमा मैदानमा उत्रिएपछि उनले विश्वकप खेल्ने सबैभन्दा बढी उमेरको खेलाडीको कीर्तिमान बनाएका छन् । उनले कोलम्बियाका फरिद मोन्द्रागनको ४३ वर्ष तीन दिनको कीर्तिमान तोडेका हुन् । सन् २०१४ को विश्वकपमा मोन्द्रागनले त्यो कीर्तिमान बनाएका थिए ।

साउदी अरेबियाको एउटा पेनाल्टीसमेत जोगाएका उनले विश्वकपमा पेनाल्टी जोगाउने सबैभन्दा पाका उमेरका खेलाडी समेत बने ।

हाजार्ड दाजुभाइ

विश्वकप फुटबल खेल्ने दाजुभाइको सूचीमा यो संस्करणमा इडेन हाजार्ड र थोर्गन हाजार्डको नाम थपिएको छ । एकै आमाका सन्तान यी दुई खेलाडीले पानामाविरुद्धको खेलमा सँगै खेले । बेल्जियमले ३–० को अग्रता लिएको अवस्थामा थोर्गन मैदान प्रवेश गरेपछि विश्वकप खेल्ने दाजुभाइको सूचीमा हाजार्ड दाजुभाइको नाम थपिएको हो ।

धेरै गोल खाने पानामा, गोलै नखाने उरुग्वे

विश्वकपको डेब्यू पानामाका लागि सुखद रहेन । उसले पहिलो सहभागितामा कुल ११ गोल खायो र दुई गोल फर्कायो । उसले खेलमा कुल ११ वटा पहेँलो कार्ड पनि पाएको थियो ।

उरुग्वेले तीन खेलमा जित हात पार्दा एक गोल पनि खाएन । उसले समूह चरणमा इरानविरुद्ध १, इजिप्टविरुद्ध १ र रसियाविरुद्ध ३ गोल प्रहार गरेको थियो । गोलकिपर फर्नाण्डो मुस्लेराको प्रदर्शन उच्च रह्यो ।

उरुग्वे, बेल्जियम र क्रोएसिया अपराजित

समूह चरणमा उरुग्वेसँगै क्रोएसिया र बेल्जियम अपराजित रहे । उरुग्वेले आफ्ना समूहका इरान, मेक्सिको र रसियालाई हरायो भने क्रोएसियाले नाइजेरिया, आइसल्याण्ड र अर्जेन्टिनामाथि जित दर्ता गरायो । यस्तै बेल्जियमले पानामा, ट्युनिसिया र इंग्ल्याण्डलाई पराजित गर्‍यो ।

नेगेटिभ गोल अन्तरमा पनि प्रिक्वार्टर फाइनल

मेक्सिको र अर्जेन्टिनाले आफूले गरेको भन्दा धेरै गोल खाएर पनि अन्तिम १६ मा स्थान बनाए । मेक्सिको ३ गोल गरेर ४ गोल खाएको थियो भने अर्जेन्टिनाले ३ गोल गरेर पाँच गोल खाएको थियो ।

एकमात्र ‘गोललेस म्याच’

समूह चरणमा एउटा मात्र खेलमा गोल हुन सकेन । समूह सी अन्तर्गतको डेनमार्क र फ्रान्सबीचको खेल गोलरहित बराबरीमा सकियो । ४८ खेल सकिँदा यो खेल बाहेक सबैमा गोल भएका थिए ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया