श्रीलंकामा शृङ्खलाबद्ध विस्फोट : २०७ जनाको मृत्यु, निसानामा होटल र चर्च

 वैशाख ८, २०७६ आइतबार २०:१७:३१ | एजेन्सी
unn.prixa.net

श्रीलंकामा चर्च र होटलमा शृङ्खलाबद्ध आक्रमण भएको छ । ‘इस्टर सनडे’का अवसरमा प्रार्थना गरिरहेकालाई लक्षित गरी श्रीलंकाका विभिन्न ठाउँमा बम विस्फोट भएको हो ।

आइतबार बिहान लगातार छ ठाउँमा बम विस्फोट गराइएको थियो भने दिउँसो थप दुई ठाउँमा विस्फोट भएको थियो । विस्फोटमा २०७ जनाले ज्यान गुमाइसकेको र करिब चार सय भन्दा बढी घाइते भएको बीबीसीमा उल्लेख छ ।

आइतबार बिहान मानिसहरु इस्टर पर्व मनाउन व्यस्त भएको मौका छोपेर चर्च र होटलहरुमा विस्फोट गराइएको थियो । आइतबार बिहान श्रीलंकाको राजधानी कोलम्बो, मुख्य शहर नेगोम्बो र बाटीकालोआमा विस्फोट भएको थियो भने दिउँसो देहिवाडाको एउटा होटलमा र अन्तिम आठौँ पटक डेमाटागोडामा विस्फोट भएको थियो ।

श्रीलंका सरकारले सिलसिलाबद्ध हमला आत्मघाती हमला भएको र यसको षड्यन्त्र विदेशमा रचिएको दाबी गरेको छ । 

श्रीलंकाका रक्षामन्त्री विजयवर्धनले भनेका छन् ‘यो आत्मघाती हमला हो । यसमा संलग्न भएको आरोपमा सात जनालाई पक्राउ गरिएको छ । खुफिया एजेन्सीले हमलाको बारेमा पहिले नै सूचना दिएका थिए । तर उनीहरुलाई रोक्नु अघि नै हमला भयो । यो हमलाको षड्यन्त्र विदेशमा रचिएको थियो ।’

मानिसहरुमा अब पनि हमला हुन्छ भन्ने डर छ । यसले गर्दा श्रीलंका निकै त्रसित बनेको छ । श्रीलंकामा अहिलेसम्म आठ ठाउँमा विस्फोट भैसकेको छ ।उनीहरुले इस्टरको अवसरमा चर्च र होटललाई निशाना बनाएका छन् । 

आठौँ पटक भएको विस्फोटमा तीनजना प्रहरी अधिकारी पनि मारिएका छन् । यो विस्फोट कोलम्बोको एक घरमा प्रहरीले तलासी लिने क्रममा भएको थियो । 

श्रीलंकाको प्रधानमन्त्री कार्यालयले जानकारी दिएअनुसार विस्फोटमा ९ जना विदेशी नागरिकको पनि ज्यान गएको छ । तर उनीहरु कुन कुन देशमा नागरिक हुन् भन्नेबारे खुल्न सकेको छैन । यो घटना कसले गरायो भन्नेबारे केही पत्ता लाग्न सकेको छैन । घटनाको कसैले पनि जिम्मा लिएको छैन ।

अहिलेसम्मको जानकारी अनुसार तीनओटा चर्च र कोलम्बोको तीनओटा फाइभ स्टार होटलमा विस्फोट भएको छ । 

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आक्रमणको अनुसन्धान भइरहेका बताएका छन् । उनले भ्रामक समाचारमा विश्वास नगर्न र शान्त रहन अपिल पनि गरेका छन् ।

श्रीलंकामा भएको आतंकवादी हमलाले त्रास फैलिएको छ । श्रीलंका सरकारले आइतबार बेलुकादेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू जारी गरेको छ । सामाजिक सञ्जालले भ्रामक समाचार फैलाएको भन्दै फेसबुकलगायतका सामाजिक सञ्जाल पनि बन्द गराएको छ ।

यसैगरी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएको शृ‌ंखलाबद्ध हमलाप्रति दु:ख व्यक्त गर्नुभएको छ । आइतबार अपरान्ह प्रधानमन्त्री ओलीले  श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेसँग फोनमा कुराकानी गर्दै बम बिस्फोटको घटनामा कैयौं निर्दोषहरुको ज्यान गएकोमा दुःख व्यक्त गर्नुभएको हो । 

प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी मार्फत श्रीलंकाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेको सचिवालयले जनाएको छ ।

अहिलेसम्म श्रीलंकामा के–के भयो ?

–अहिलेसम्म आठ ठाउँमा बम विस्फोट भयो ।
–निसानामा होटल र चर्च । 
–२०७ जनाको ज्यान गयो ।  
–४५० जना घाइते । 
–मृतकको संख्या बढ्ने आशंका ।
–घटनाबारे कसैले जिम्मा लिएको छैन । 
–देशभर कर्फ्यू जारी । 
 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया