‘नेतालाई प्रवेश निषेध, सडक खराब छ घाइते हुन सक्छन्’

 बैशाख ९, २०७६ सोमबार १९:५३:२१ | एजेन्सी
unn.prixa.net

भारतको झारखण्ड राज्यको अलंकेरा गाउँमा कुनै पनि घरको छानामा चुनावी झण्डा फहराइएका छैनन् ।

पूरा भारतमा चुनावी रौनकता छाउँदा यो गाउँ भने भारतमा पर्दैन जस्तै भान हुन्छ । कुनै कुनै घरका छतमा रातो पहेँलो रंगका महावीरको झण्डा राखिएका छन् । यी झण्डामा हातमा पहाड र काँधमा गदा लिएर हावामा उड्दै गरेका हनुमानको तस्बिर छ । यो हालसालै रामनवमी पर्व मनाइएको संकेत पनि हो । 

पूर्व विदेश राज्यमन्त्री एमजे अकबर

यो गाउँ गुमला जिल्लाको पालकोट प्रखण्डको हिस्सा पर्छ । पूर्व विदेश राज्यमन्त्री तथा झारखण्डबाट राज्यसभा सांसद एमजे अकबरको क्षेत्र पनि हो । यसलाई सरकारी फाइलको भाषामा ‘आदर्श गाउँ’ पनि भन्ने गरिन्छ ।

एमजे अकबर एकपल्ट यो गाउँम आएका थिए । उनले त्यसबेला थुप्रै वाचा गरेका थिए । उनीसँगै गाउँ गएका सरकारी अधिकारी पनि हो मा हो थपे । अहिले त गाउँमा त्यस्तो पनि देखिँदैन ।

एमजे अकबर गएपछि उनको नाममा केही इँटा, सिमेन्टका बोरा, बालुवा, पेन्ट तथा मार्बलका केही टुक्रा गाउँमा आयो । यसबाट दुई वटा प्राथमिक विद्यालयको पर्खाल लगाइयो । एउटा धारा बनाइयो, जसको टुटीबाट कहिल्यै पानी झर्दैन ।

ढलान गरिएको ठाउँमा पानीको कालो ट्याङ्की राखिएको छ । तल प्लाष्टिकको सेतो नल रहेको छ । त्यसभन्दा तल कालो रंगको ग्रेनाइटमा सुनौलो अक्षरले लेखिएको छ, ‘एमजे अकबरको सांसद कोषको सहयोगद्वारा निर्मित ।’ यसका अलावा एमजे अकबरको यहाँ कुनै नामोनिशान छैन ।

यस कारण पनि गाउँलेहरु उनीससँग रिसाएका छन् । केवल एमजे अकबरले मात्रै होइन, यो गाउँलाई सबै विधायक र सांसदले ठगेका छन् ।

नेताले कामै नगरेपछि गाउँलेहरुले मुख्य सडकमा ब्यारेकेड लगाएका छन् । त्यसमा लेखिएको छ, ‘नेताहरुलाई प्रवेश निषेध ।’ प्रहरी प्रशासनको हस्तक्षेपपछि ब्यारिकेड हटाइएको छ । तर अधिकांश गाउँलेहरुले मतदान बहिष्कार गर्ने भएका छन् ।

सडक नबने भोट नदिने

पालकोटबाट यो गाउँ केवल सात किलोमिटरको दूरीमा पर्छ । तर कारमा आउँदा पनि ४५ मिनेट लाग्छ । मोटरसाइकललाई चाहिँ आधा घण्टा ।

सबैभन्दा सजिलो सवारी साइकल भए पनि झण्डै एक घण्टा लाग्छ । तर सडकका खाल्डाका कारण धेरै पटक थुप्रै गाउँलेका हात खुट्टा पनि भाँचिएको छ । त्यसैले गाउँलेहरु सडक नबनेसम्म आफूहरुले मत नहाल्ने बताउँछन् ।

‘कोही नेता आउँदैनन्’

एमजे अकबर एकमात्र जनप्रतिनिधि हुन् जो १०–१२ वर्षको बीचमा यो गाउँ आएका छन् । आजकल त यो गाउँमा भोट माग्न पनि कुनै उम्मेदवार आउँदैनन् । 

अलंकेरा गाउँमा झण्डै ५ हजार नागरिक छन् । लोकसभाका पूर्व उपाध्यक्षसमेत रहेका कडिया मुण्डा यहाँबाट पाँच पटक सांसद बने । तर गाउँलेहरु भने उनी एक पटक पनि आफूहरुको गाउँमा नआएको गुनासो गर्छन् । यसपटक भने झारखण्डका पूर्व मुख्यमन्त्री अर्जुन मुण्डालाई बीजेपीले यस क्षेत्रबाट उठाएको छ । 

गाउँको एउटा विद्यालयमा पढाउने छत्रपाल सिंह खराब सडकका कारण कोही आफूहरुको गाउँमा नआउने बताउँछन् । सडककै अवस्थालाई व्यङ्ग्य गर्दै ब्यारिकेडमा लेखिएको छ, ‘नेतालाई प्रवेश निषेध । किनकी सडक खराब छ, घाइते हुन सक्छन् ।’

-बीबीसी हिन्दीबाट

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया