लोकविजय अधिकारी : भूकम्पका ‘घिउ मान्छे’

 बैशाख १२, २०७६ बिहिबार १२:१०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भूकम्प गएको एक हप्तापछि श्रीमतीले पठाएको एसएमएसमा लेखिएको थियो  ‘हामी त सुर्खेत जान भनेर नागढुंगा काटिसक्यौं, तपाईं राम्रोसँग बस्नुहोला’ । मर्ने बाँच्ने टुंगो नभएको भन्दै छुट्टिएका परिवारहरुको जमघट हुँदै थियो । शनिबार पनि कार्यालयको काम गर्नुपर्नेहरु ढोकामा ताला ठोकेर हतार हतार घरको बाटो तताइरहेका थिए । तर उहाँचाँहि घरबाट कार्यालय पुग्नुभयो ।

भूकम्प गएको ५ मिनेटपछि नै गृह मन्त्रालयबाट फोन आएको थियो, ‘कहाँ केन्द्रबिन्दु बनाएर कति रेक्टरको भूकम्प आएको हो जानकारी चाहियो’, उहाँले जवाफ फर्काउनुभयो म कार्यालय गएर जानकारी गराउँछु ।

भूकम्प गएको ५ मिनेटमा नै कार्यालयको बाटो तताउनुभएका उहाँ अर्थात राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी गएको एक वर्षमा मुश्किलले ६ महिना घरमा बस्नुभयो । ६ महिना चाहिँ राष्ट्रिय भूकम्प मापन केन्द्रको कार्यालय लैनचौरमै बिते । 

भूकम्पपछि लोकविजय अधिकारी यति व्यस्त हुनभयो कि उहाँले घरपरिवारसँग एक कल फोन गर्न पनि पाउनुभएन । भूकम्प जानेबित्तिकै छुटेको परिवार एक हप्तापछि सुर्खेत गएर महिना लिनपछि काठमाण्डाै फर्किएपछि मात्रै उहाँहरुको भेट भएको थियो ।  भूकम्प जानेबित्तिकै कार्यालयमा बसेर भूकम्पका हरेक अपडेट गराउन र नागरिकलाई सचेत गराउनै ब्यस्त हुनुभयो ।

काठमाण्डाैको धापासीमा श्रीमती, एक छोरा र एक छोरीको साथमा बस्ने लोकविजय अधिकारी बितेको एक वर्ष लगभग परिवारको सम्पर्कबाट टाढै रहनुभयो । उहाँ अहिले पनि यतिधेरै ब्यस्त हुनुहुन्छ कि, १० दिनअघि सुर्खेतबाट आउनुभएका बुवासँग भेट्ने फुर्सद पनि छैन ।

‘म कोठामा जान नपाएपछि २ पटक बुवा नै कार्यालयमा मलाई भेट्न आउनुभयो, तर म व्यस्त भएको कारणले राम्रोसँग सञ्चो विसञ्चोका कुरा हुनै पाएका छैनन’ आफ्नो व्यस्तता सुनाउँदै उहाँले भन्नुभयो, ‘म घर गएपछि रातको १२ बजे जान्छु बिहान सबेरै उठ्दा वुबासँग भेट हुनै पाएन ।’

३० घण्टासम्म मुखमा पानी पनि परेन

हुन त त्यो बेला सबैलाई ज्यान बचाउने चटारो थियो । सबैजना सडक र खुला चौरमा बसेका थिए, तैपनि चाउचाउ चिउरा त सबैले खान पाएका थिए । तर लोकविजय अधिकारीको पेटमा ३० घण्टासम्म पानी पनि परेन ।

भूकम्पको १० मिनेटमा नै कार्यालय आउनुभएका अधिकारी भन्नुहुन्छ ‘अफिसमा पनि पानी सकिएको रहेछ, वरिपरीका पसल पनि सबै बन्द थिए, काठमाण्डाैमा धारा खोला त कल्पना पनि गर्न सकिन्न त्यसैले हाम्रो अफिसमा काम गर्ने कुनै कर्मचारीले पानी पनि पिउन पाएनन ।’

राष्ट्रिय भूकम्प मापन केन्द्रमा काम गर्ने एक फ्रेन्च प्राविधिकले बजार चाहारेर  २/४ कोसा केरा ल्याए, त्यसपछि वैशाख १३ गते बेलुका ६ बजे मात्र उहाँहरुको पेटमा पहिलो खुराक पर्‍यो ।‘परकम्प जाने बित्तिकै सबै मिडियामा जानकारी दिनुपर्ने अवस्था थियो तर निद्रा र भोकले शरीर गलिसकेको थियो’ उहाँले त्योबेला सम्झनुभयो ।

वैशाख १४ गते खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वजितप्रसाद महतोले घरबाट चामल, दाल लगायतका खाद्यान्न ल्याएर दिनपछि उहाँहरुले ३ दिनपछि मात्रै ‘पेटपूजा’ गर्नुभयो । 

सुरुको १ हप्ता त राती आँखा झिमिक्क पार्न पनि पाउनुभएन । ल्याबको कोठामा भएका पलाष्टिकको म्याटमा सबैजना गफ गरेर रात बिताउनुभयो । एक महिनापछि  मात्रै सोफामा टाउको अड्याएर सुत्न पाउनुभएको थियो उहाँहरुले ।

भाग्यले साथ दिँदा यन्त्रले काम गरे

वैशाख १२ गतेअघि भूकम्पको जानकारी दिने २१ वटा स्टेशनमध्ये कुनै न कुनै स्टेशन बिग्रिएकै हुन्थे । तर बैशाख १२ गतेको दिन ति सबै स्टेशनले सहि सूचना दिए । विपद्को त्यो दिन सबै स्टेशनले काम गरेको क्षणलाई राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी ‘भाग्यले साथ दिएको’ भन्न रुचाउनुहुन्छ ।

‘कहिलेकाहीँ आध्यात्मिक कुरामा पनि विश्वास गर्नुपर्ने रहेछ, तर त्यो दिन मैले नै भाग्य कस्तो रहेछ भोग्न पाएँ’ उहाँले भन्नुभयो । सिन्धुपाल्चोकको स्टेशन भएको घर पुरै ध्वस्त भएको थियो, टावरको एन्टेना पनि उल्टो दिशामा पल्टिएको थियो  तर पनि डाटा आइरहेको थियो । वैशाख २९ गतेको भूकम्पले दोलखाको जिरीमा रहेका सिस्मोमिटर पनि ढल्काइदियो, तर पनि यन्त्रले सही जानकारी प्रवाह गरेकै थियो । त्यहि भएरै उहाँले यसलाई भाग्यको खेल भन्नुहुन्छ । 

यन्त्रसँगै भूकम्प मापन केन्द्रको भवन पनि जीर्ण  थियो । तर लोकविजय अधिकारी भने त्यहि भवनलाई सुरक्षित मानेर दिनरात काममा जुट्नुभयो । यो पुरानो भवनप्रति तपाईंलाई त्यत्रो विश्वास थियो त ? प्रश्न गर्न नपाउँदै उहाँले भन्नुभयो, ‘मलाई के विश्वास थियो भने अब ठूला भूकम्प आउन्न र यदि आए भने पनि भागुञ्जेल त हामीलाई भवनले थिचिहाल्छ किनकी भवनबाट बाहिर निस्कनै कम्तिमा डेढ दुइ मिनेट त लागिहाल्छ त्यही भएर हामी कोही पनि भागेनौं ।’

त्यो बेला सरकारको सहयोग

भूकम्पको अपडेटको लागि र मनको डर भगाउन उच्च पदमा बस्ने धेरै सरकारी कर्मचारीले फोन गरेपनि  भूकम्प मापन केन्द्र र उहाँको अवस्थाबारे सोधीखोजी गरेनन । जानकारी लिने संस्था व्यक्तिलाई नै बेवास्ता गर्ने सरकारी कर्मचारीको शैली देखेर लोकविजय अधिकारी पनि दिक्क हुनुभयो । तर तत्कालिन उद्योगमन्त्री महेश बस्नेत र सचिव जयमुकुन्द खनालले भने उहाँलाई खुबै ढाडस दिनुभयो ।

महेश बस्नेतले दिनको एकपटक फोन गरेर ‘के कस्ता अफ्ठेरा छन भन्नुस’ भन्नुहुन्थ्यो भने सचिव खनाल त बिदाको दिन केन्द्रमै पुगेर दिन कटाउनुहुन्थ्यो । सरकारले सेवा सुविधा नदिएपनि फोन गरेर ढाडस दिँदा पनि आनन्द आउने उहाँको भनाइ छ । 

एक मिनेटमा ३० कल 

भूकम्पअघि ओझेलमा परेका लोकविजय अधिकारी भूकम्पपछि भने चर्चित हुनुभयो । भूकम्पको सुरुका दिनमा उहाँलाई यति धेरै फोन आउँथे कि एउटा फोनमा  १ मिनेट कुरा गर्दा ३० वटासम्म मिसकलमा नोटिफिकेसन आइसक्थे । फोनको ओभरलोडका कारण उहाँको मोबाइल नै तात्थ्यो ।

सञ्चारमाध्यबाट आउने फोनमा जानकारी दिँदा दिँदा उहाँको घाँटी नै बसेको थियो । तर जति थकित र ब्यस्त भए पनि उहाँले जानकारी दिन भने छाडनुभएन । उहाँको  सक्रियता देखेर भूकम्प मापन केन्द्रका एक कर्मचारी फिस्स हाँस्दै भन्दैथिए ‘उहाँ त भूकम्पका सबैभन्दा घिउ मान्छे हुनुहुन्छ ।’

कामको भार कम भएको छैन

 २०७२ साल वैशाख १२ गतेपछिका चार वर्षमा ४५ हजारभन्दा बढी परकम्प गएकाे छ ।

यही आँकडाले पनि देखाउँछ कि राष्ट्रिय भूकम्प मापन केन्द्रको व्यस्तता । अहिले त परकम्प जाने क्रम पनि निकै कम भैसकेको छ । त्यसोभए उहाँको व्यस्तता केही कम भयो त ? उहाँ भन्नुहुन्छ ‘अहिले पनि काम उस्तै छ, परकम्प नजाँदा पनि कार्यालयमा तथ्याङ्क राख्ने र प्राविधिक कामले बिहान ८ बजेदेखि राति ११ बजेसम्म व्यस्त रहनुपर्छ ।’

काम बढ्यो, कर्मचारी घटे 

वैशाख १२ गते अघि पनि हामीले थाहा नपाउनेगरी १५ वटा जति भूकम्प जान्थे ती भूकम्पको रेकर्ड राख्न १३ जना प्राविधिक थिए । तर अवकास, बढुवा र पद विलयका कारण अहिले जम्मा ६ जना प्राविधिकले  दैनिक सयौं भूकम्पको अपडेट गर्ने र कार्यालयका सबै काम गर्नुपर्छ ।

भूकम्प मापन केन्द्रका दुःख फुकाउँदै प्रमुख लोकविजय अधिकारीले भन्नुभयो, ‘भूकम्प मापन केन्द्रका ६ जना कर्मचारीले भूकम्पका जानकारी दिनेदेखि विदेशबाट आएका पाहुनालाई सेस्समिक स्टेशन घुमाउने, अनि मर्मतको काम समेत गर्नुपर्छ’ सरकारले भाषणमा केन्द्रको सुधार गर्ने भनेपनि ब्यबहारमा त्यस्तो नभएको बताउँदै उहाँले भन्नुभयो, ‘यस्ता कुरा सम्झँदा त पहिला भन्दा पनि धेरै प्रेसर हुन्छ ।’

परिवारसँग टाढिएकोमा चिन्ता

भूकम्पयता परिवारबाट टाढिँदै गएपछि लोकविजय अधिकारीलाई चिन्ता लागेको छ । बेलुका अबेर घर पुग्दा छोराछोरी सुतिसकेका हुन्छन् । बिहान पनि चाँडै निस्कन पर्दा कयौं दिनसम्म छोराछोरीसँग बोलचालै हुन्न  । ‘परिवारसँग बसेर सुखदुःखका कुरा गर्ने मौका नै मिलेको छैन’ अधिकारीले गम्भीर हुँदै भन्नुभयो, ‘व्यक्तिगत काम सबै रोकिए, अफिसियल काम मात्र चलेका छन् ।’

एक वर्षयता बिहानैदेखि रातिसम्म कार्यालयमा खटिने भएकाले उहाँले कार्यालय समय १० बजेदेखि ५ बजेसम्म हो भन्ने पनि बिर्सन थाल्नुभएको छ । भूकम्पपछिका ६ महिनामा उहाँ मुश्किलले १ महिला मात्रै घरमा रात बिताउनुभएको छ । उज्यालोमा त उहाँले घर हेर्न पनि पाउनुभएन । 

-उज्यालाे अर्काइभबाट 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया