उपत्यकाका अधिकांश सवारीमा प्रदुषण फेल

 बैशाख १३, २०७६ शुक्रबार ६:४२:३७ | रासस
unn.prixa.net

काठमाण्डौ – उपत्यकामा चल्ने अधिकांश सवारी साधनमा प्रदुषण फेल रहेको देखिएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण अभियानअन्तर्गत ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र सवारी परीक्षणको संयुक्त टोलीले यातायातका साधनबाट हुने प्रदुषण अनुगमन तथा जाँच गर्दा अधिकांश सवारी साधनमा प्रदुषण फेल देखिएको हो । 

महाशाखाले गएको चैत २१ गतेदेखि गरेको एक हजार ३२४ सवारी साधनको प्रदुषण अनुगमन तथा जाँचमा ६७० सवारी साधनमा प्रदुषण फेल देखिएको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकामा चल्ने अधिकांश सवारी साधन प्रदुषण फेल देखिएको बताउनुभयो । ‘ट्राफिक प्रहरीलाई पर्याप्त रुपमा प्रदुषण जाँच गर्ने मेसिन नहुँदा धेरै सवारी साधनको प्रदुषण जाँच गर्न सकिएको छैन’, उहाँले भन्नुभयो । 

महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण अभियान–२०७५ अन्तर्गत करिडोर खोल्ने, जेब्राक्रसिङ निर्माण, आकाशे पुल निर्माण, प्रदुषण जाँचलगायतका काम गर्दै आएको छ । ट्राफिक प्रहरीले अहिले सवारी परीक्षण कार्यालय टेकुसँग सहकार्य गरेर सडकमा सवारी प्रदुषण जाँच गर्दै आएको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा रहेका छन् । काठमाण्डाै उपत्यकामा मात्र १० लाखको हाराहारीमा सवारी साधन सञ्चालन हुँदै आएका छन् । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया