प्रियंका गान्धीले गरिन् वाराणासीमा बाटाे खाली, माेदीविरुद्ध छैनन् हेभीवेट उम्मेदवार

 बैशाख १३, २०७६ शुक्रबार १७:४८:१८ | एजेन्सी
unn.prixa.net

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफूलाई वाराणासी को ‘गङ्गा पुत्र’ बताउँदै आएका छन् । कांग्रेस महासचिव प्रियंका गान्धी जब फूलपुर जान्छिन्, उनलाई पनि ‘गङ्गा पुत्री’ का रुपमा स्वागत गरिन्छ । 

यी दुईले एकअर्काको चुनावी सभालाई निशाना बनाउँदै आएका थिए र वाराणासीबाट नै एकअर्काका विरुद्धमा चुनावी मैदानमा उत्रने पनि आँकलन गरिएको थियो । 

तर बिहीबार कांग्रेसले वाराणसीका लागि स्थानीय नेता तथा पूर्व विधायक अजय रायलाई टिकट दिएपछि राष्ट्रिय राजनीतिदेखि कार्यकर्तासम्म पनि तरंग पैदा भएको छ । पार्टीका कार्यकताहरु पनि प्रियंका गान्धी वाराणसीबाट चुनाव उठेको र प्रधानमन्त्री मोदीलाई चुनौती दिएको हेर्न चाहन्थे । उत्तर प्रदेशको पाँच पटक विधान सभाको सदस्य भैसकेको रायले भारतीय जनता पार्टीको विद्यार्थी विभागबाट राजनीतिक यात्रा सुरु गरेका थिए । 

प्रियंकाले पनि यो विषयमा खुलारुपमा खारेज गरेकी थिइनन् । केही दिन अघिमात्र सञ्चारमाध्यमले वाराणसीबाट चुनाव लड्ने विषयमा सोधेको प्रश्नमा उनले भनेकी थिइन्, ‘यदि पार्टीले चाहेको खण्डमा वाराणसीबाट चुनाव लड्छु ।’

आफ्नो चुनावी यात्राका क्रममा प्रियंकाले वाराणसीको यात्रा पनि गरेकी थिइन्, जहाँ उनको भव्य स्वागत पनि नभएको होइन । प्रधानमन्त्री मोदीलाई टक्कर दिने माहोल हुँदाहुँदै पार्टीले उनलाई चुनावी मैदानमा उतारेन । यसको पछाडि के कारण हुनसक्छ ?

वरिष्ठ पत्रकार नवीन जोशी भन्छन्, ‘प्रियंकालाई मोदीसँगै चुनावी मैदानमा उतार्ने सवाल सनसनी मच्चाउनको लागि मात्र थियो । कुनै गम्भीर सवाल थिएन, यसअघि नै सम्झनुपर्ने थियो ।’

‘यदि प्रियंका गान्धी आफ्नो चुनावी राजनीतिको सुरुवात गर्न चाहन्छिन् भने उनी मोदीसँग लड्न तयार हुँदिनन् किनकि कयौं सम्भावनापछि वाराणसीमा उनको जितको कुनै अंश देख्न सकिँदैन, ’ उनले भने । जोशीका अनुसार, प्रियंका चुनाव लड्न चाहेको खण्डमा रायबरेली या कुनै अरु सिटबाट लड्छिन्, जसको माध्यबाट उनको संसदसम्मको यात्रा सहज हुन्छ न कि वाराणसीबाट । 

पूर्वी उत्तर प्रदेशमा लोकसभाको २९ सिट आउँछ, जसमध्ये २७ सिटमा भारतीय जनता पार्टीको प्रबल सम्भावना छ । वाराणासी पनि यही २७ सिटभित्र पर्छ, जहाँबाट मोदी सांसदमा निर्वाचित भएका थिए । 

मोदी विरोधको सुरुवात

आम चुनाव अघि २३ जनवरीमा प्रियंका गान्धीको सक्रिय राजनीतिमा आगमन भएको थियो । उनलाई पार्टीले महासचिवको पद र पूर्वी उत्तर प्रदेशको जिम्मेवारी दिएको थियो । 

सक्रिय राजनीतिमा आएपछि प्रियंकाले प्रधानमन्त्री मोदीको गढ मानिने गुजरातमा आफ्नो पहिलो भाषण दिएकी थिइन् । उनले मोदीलाई नै आफ्नो भाषणको निशाना बनाएकी थिइन् । 

उनको सुरुवात नै नरेन्द्र मोदीको विरोधबाट भएको थियो । तर प्रियंकालाई चुनाव लड्नबाट बचाउन पार्टी किन लागिरहेको छ, यस सम्बन्धमा वरिष्ठ पत्रकार जतिन गान्धी भन्छन्, ‘भाषण र बयान दिनु अलग कुरा हो भने चुनाव लड्ने कुरा पनि अलग हो । चुनाव लड्नका लागि जमिन स्तरमा कार्यकर्ताको भिडको आवश्यकता हुन्छ र वाराणसीमा कांग्रेससँग कार्यकर्ताको यस्तो भिड देखिँदैन ।’

जतिन गान्धी प्रियंकालाई चुनावी मैदानमा न उतार्नुको मुख्य कारण सपा (समाजवादी पार्टी) –बसपा (बहुजन समाजवादी पार्टी) बीच भएको गठबन्धनलाई पनि मान्छन् । उनी भन्छन्, ‘समाजवादी पार्टीले शालिनी यादवलाई वाराणसीबाट चुनाव मैदानमा उठाएसँगै यो कुरा तय भएको थियो ।’

‘पहिला महागठबन्धनको तर्फबाट कोही पनि प्रत्याशी नउतार्ने कुरा भएको थियो, तर जब उनीहरुको तर्फबाट कांग्रेसलाई मैदान खुला नछोड्ने तय भएपछि यो स्थिति आएको हो । यस्तो अवस्थामा प्रियंकाले हार्ने मात्र थिइनन्, कांग्रेसलाई दोस्रो नम्बरमा आउन पनि धौधौ हुन्थ्यो । किनकि अहिले गठबन्धनको पक्षमा राम्रो समीकरण बनेको छ’, उनले थपे । 

कांग्रेस उम्मेदवार अजय राय

वाराणसीबाट कांग्रसले अजय रायलाई मैदानमा उतारेको छ । महागठबन्धनले समाजवादी पार्टीकी उम्मेदवार शालिनी यादवलाई टिकट दिएको छ । 

सन् २०१४ को लोकसभा चुनावमा कांग्रेस, सपा र बसपाका अलावा आम आदमी पार्टी नेता अरविन्द केजरीवालले पनि नरेन्द्र मोदीलाई यो सिटमा चुनौती दिएका थिए । भ्रष्टाचारविरुद्धकाे आन्दाेलनबाट उदाएका केजरीवाल नै नरेन्द्र माेदीकाे मुख्य प्रतिद्वन्द्वी थिए ।

नरेन्द्र मोदीले झण्डै ५ लाख ८१ हजार मत प्राप्त गर्दा दोस्रो नम्बरमा रहेका केजरीवालले दुई लाख नौ हजार र तेस्रो नम्बरमा रहेका कांग्रेसका अजय रायले ७५ हजार मत पाएका थिए । 

के यो गणित प्रियंका गान्धी मैदानमा आउँदा बदलिन्छ ? पत्रकार जोशी भन्छन्, ‘प्रियंकालाई वाराणसीबाट चुनावी मैदानमा उतार्दा कांग्रेसलाई निश्चितरुपमा केही पाइदा त मिल्ला तर उसको जितको आश भने बाँकी रहँदैन ।’

‘प्रियंका पार्टीको ठूलो अनुहार हुन्, उनी पार्टीको भविष्य पनि हुन् र उनको अनुहार पनि इन्दिरा गान्धीसँग मिल्छ । मानिसहरु उनलाई आशको नजरले पनि देख्छन् र सुरुवातमा नै उनको हार होओस्, पार्टी यस्तो चाहँदैन’, उनले भने । 

यो चुनावमा प्रियंकाले पार्टीलाई मजबुत बनाउन नसके पनि उनी कार्यकर्तामा जोश भर्न भने अवश्य नै सफल हुन्छिन्, जुन आगामी चुनावमा कांग्रेसलाई फाइदाको पक्ष हुन्छ । 

परम्परा बनाइराख्ने कोसिस ?

भारतीय राजनीतिमा ठूला अनुहारको सामु ठूला उम्मेदवार उतार्ने मौका पनि नआएको होइन तर धेरैजसो विषयमा पार्टीहरु विपक्षका ठूला नेताको विरुद्ध आफ्नो मजबुत उम्मेदवार उतार्दैनन् । चाहे ती श्यामाप्रसाद मुखर्जी हुन् या अटल बिहारी वाजपेयी, कांग्रेसले यी नेताहरुको विरुद्धमा आफ्ना मजबुत उम्मेदवार उतारेका थिएनन् । 

पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरु आफ्ना विरोधीको पनि सम्मान गर्दथे र उनीहरुलाई पनि संसदमा देख्न चाहन्थे । सनु १९५७ मा अटल बिहारी वाजपेयीको संसदमा भाषण सुनेर नेहरुले भनेका थिए, ‘यो नौजवान एक दिन भारतका प्रधानमन्त्री बन्नेछ ।’

के अहिले पनि कांग्रेसले यही परम्परालाई कायम राखेको हो त ? तर ठूला र आशलाग्दा नेताहरु संसदमा पुग्नुपर्छ, जसले लोकतन्त्र मजबुत बनाइराख्न सहयोग पुग्दछ । 

वाराणासीबाट प्रियंका गान्धीले टिकट नपाउँदा मोदीलाई सहज हुन्छ या कांग्रेसका अजय राज र महागठबन्धनकी शालिनी यादवले टक्कर दिन्छन्, यो अब चर्चाको विषय भएको छ । 

 
 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया