बनारसबाट मोदीलाई टक्कर दिँदै तेजबहादुर

 वैशाख १७, २०७६ मंगलबार १३:६:४७ | एजेन्सी
unn.prixa.net

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चुनाव लड्ने भएपछि वाराणसी(बनारस) लोकसभा सिटको चर्चा त्यसै नै हुने भयो । सोमबार समाजवादी पार्टी(सपा) ले नरेन्द्र मोदीविरुद्ध आफ्नो उम्मेदवार परिवर्तन गरेपछि वाराणसी सिट फेरि एकपटक चर्चामा आएको छ । 

अन्तिम समयमा समाजवादी पार्टीले वाराणसीबाट बोर्डर सेक्युरिटी फोर्स(बीएसफ) बाट बर्खास्त जवान तेजबहादुर यादवलाई टिकट दिएको छ । सपाले उम्मेदवार परिवर्तन गरेसँगै कांग्रेसले पनि उम्मेदवारी फिर्ता लिने चर्चा चल्न थालेको छ । यदि कांग्रेसले पनि उम्मेदवारी फिर्ता लिएमा मोदीलाई चुनाव जित्न हम्मेहम्मे हुन सक्छ ।

यसै विषयमा भारतीय पत्रकार उमाशंकर सिंह लेख्छन्, ‘कांग्रेस तथा राहुल गान्धीले अब तेजबहादुरको समर्थनमा आफ्नो उम्मेदवारी फिर्ता लिन्छन् त भन्ने ठूलो प्रश्न रहेको छ ।’वाराणसीबाट कांग्रेसले अजय रायलाई उम्मेदवार बनाएको छ ।

बलिउडका गीतकार तथा युवा कथाकार गौरव सोलंकी लेख्छन्, ‘बनारसवाला जवानलाई भोट दिन्छन् वा जवानका नाममा दिन्छन् ?’

को हुन् त तेजबहादुर यादव ?

बीएसफमा कार्यरत तेजबहादुर यादवलाई सन् २०१७ मा खराब खानाबारे गुनासो गरेपछि सेवाबाट बर्खास्त गरिएको थियो । तेजबहादुरले पहिले नै निर्दलीय रुपमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । अब उनले सपाको चुनाव चिन्हबाट चुनाव लड्ने भएका छन् । सपाका तर्फबाट शालिनी यादवले उम्मेदवारी दिएकी थिइन् । उनको उम्मेदवारी फिर्ता लिँदै सपाले तेजबहादुरलाई उम्मेदवार बनाएको हो । 

गएको मार्चमै तेजबहादुर यादवले प्रधानमन्त्री नरेन्द्र मोदवीविरुद्ध बनारसबाट चुनाव लड्ने बताएका थिए । यादवले आफ्नो उम्मेदवारी भ्रष्टाचारविरुद्ध भएको बताएका छन्, ‘मैले भ्रष्टाचारको मुद्दा उठाएँ । तर मलाई बर्खास्त गरियो । मेरो पहिलो प्राथमिकता सेनालाई बलियो बनाउनु र त्यहाँ भएको भ्रष्टाचार अन्त्य गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ ।’

तेजबहादुरले बीएसफमा जवानलाई दिइने खानाको गुणस्तरीयतामाथि प्रश्न उठाउँदै भिडियो बनाएका थिए । सामाजिक सञ्जालमा उनको भिडियो भाइरल भएको थियो ।

यस प्रकरणमा निकै विवाद भएपछि प्रधानमन्त्री कार्यालयले हस्तक्षेप गरेको थियो । बीएसफले अनुशासनात्मक कारबाही गर्दै तेजबहादुरलाई बर्खास्त गरेको थियो । आफ्नो बर्खास्तगीका विषयमा तेजबहादुर अदालत गएका थिए । यो मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको छ । उत्तर प्रदेशको वाराणसीमा अन्तिम चरणअन्तर्गत मे १९ मा चुनाव हुँदैछ ।

प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसीबाटै निर्वाचित सांसद हुन् । सन् २०१४ मा नरेन्द्र मोदीले तीन लाखभन्दा बढी भोटको अन्तरले जितेका थिए । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई हराएका थिए । मोदीले ५ लाख ८१ हजार भोट ल्याएका थिए । दोस्रो स्थानमा रहेका केजरीवालले २ लाख नौ हजार भोट ल्याएका थिए । कांग्रेसका अजय रायले ७५ हजार भोट ल्याउँदा बहुजन समाज पार्टीका विजयप्रकाश जयशवालले ६० हजार भोट ल्याएका थिए । 

सन् २०१४ को निर्वाचनको अंकगणित हेर्दा विपक्षी दल सबैले तेजहादुरलाई समर्थन गरेमा मोदीलाई टक्कर दिन सक्ने अवस्था रहेको छ । 
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया