जापानी सम्राट अकिहिताेले छाडे राजगद्धी

 वैशाख १७, २०७६ मंगलबार १७:४४:१८ | एजेन्सी
unn.prixa.net

जापानका सम्राट अकिहितोले मंगलबार आफ्नो राजगद्धी छोडेका छन् । टोक्योमा आयोजित ऐतिहासिक समारोहमा अकिहितोले सम्राटको रुपमा अन्तिम पटक सम्बोधन गरे ।

जापानको २०० वर्षको शाही परिवार इतिहासमा यस्तो निर्णय गर्ने उनी पहिलो सम्राट हुन् । शाही महलमा विभिन्न रीतिरिवाजका साथ राजगद्धी छोड्ने प्रक्रिया सुरु भएकाे थियाे । ८५ वर्षीय सम्राटलाई गद्धी त्याग गर्नको लागि कानुन बनाएर स्वीकृति दिइएको थियो । सम्राट अकिहितोले आफ्नो बढ्दो उमेरका कारण राजसंस्था चलाउन तथा आफ्नो जिम्मेवारी राम्रोसँग निभाउन असमर्थ भएको बताएका थिए ।

सम्राट अकिहितोका छोरा युवराज नारोहिताकोे बुधबार राज्याभिषेक गरिनेछ । अर्थात उनी जापानका नयाँ राजा बन्नेछन् । जापानमा राजाको हातमा कुनै पनि राजनैतिक शक्ति हुँदैन । त्यहाँ राजाले राष्ट्रिय प्रतिकको रुपमा रहने व्यवस्था छ । त्यसैले पनि जापानी नागरिकका बीचमा जापानी राजपरिवार निकै नै लाेकप्रिय रहेकाे छ ।

सम्राट अकिहितोले राजगद्धी छाड्नेबारे सबैभन्दा पहिले राजपरिवारका कुलदेवातलाई सांकेतिक जानकारी दिएका थिए ।

राजगद्धी त्याग गर्ने प्रक्रियामा राजकीय रीतिरिवाजअनुसार काशीकाेदाेराे जाँदै सम्राट आकिहिताे

स्थानीय समयअनुसार साँझ पाँच बजे सम्राट अकिहितो र महारानी मिशिको राजदरबारमा आएका थिए । र यो पुरै प्रक्रिया दश मिनेटसम्म चलेकाे थियाे । यसक्रममा महलमा ३०० जति पाहुना थिए । अकिहितो सम्राटको रुपमा त्यतिबेला आफ्नो अन्तिम मन्तव्य राखे । हुन त उनी मंगलबार राति १२ बजेसम्म मात्र सम्राटको रुपमा रहनेछन् । बिहीबार बिहानै युवराज नाराहितोलाई शाही परिवारको उत्तराधिकारी घोषणा गरिनेछ ।

आखिर सम्राट अकिहितोले राजगद्धी किन छाडे ?

जापानी राजपरिवारको करिब २०० वर्षे इतिहासमा अकिहितो स्वेच्छाले राजगद्धी त्याग गर्ने पहिलो सम्राट हुन् । सन् २०१६ मा सम्राट अकिहितोले देशको नाममा सम्बोधन गर्दै आफ्नो बढ्दो उमेरका कारण ठिकसँग जिम्मेवारी निभाउन सक्दैनन् कि भन्ने कुरा व्यक्त गरेका थिए ।

त्यति नै बेला उनले सांकेतिक रुपमा आफूले राजगद्धी छोड्नेबारेमा संकेत गरेका थिए । त्यसको एक वर्षपछि सन् २०१७ मा जापानको संसदले एक विशेष कानुन बनाएर उनलाई राजगद्धी छोड्न  अनुमति दिएको थियो ।

को हुनेछन् नयाँ सम्राट ?

राजकुमार नारोहितो जापानका १ सय २६ औँ सम्राट बन्नेछन् । अकिहितोले सन् १९८९ मा राजगद्धी सम्हालेका थिए । ३० वर्षसम्म सम्राट रहेपछि उनी आफूखुशी राजगद्धी त्याग गर्न गइरहेका छन् । 

५९ वर्षीया नारोहितो अक्सफोर्ड विश्वविद्यालयमा पढेका हुन् । उनी २८ वर्षको उमेरमा राजकुमार घोषित भएका थिए । सन् १९८६ मा एक चियापान कार्यक्रममा उनको भेट राजकुमारी मसाको ओवाडासँग भएको थियो । त्यसपछि सन् १९९३ मा उनीहरुको विवाह भयो ।

नारोहीतो र मसाकोको आइको नाम गरेकी एउटी छोरी मात्र छिन् । उनी १८ वर्ष पुगिन् । तर जापानको वर्तमान कानुनमा महिलालाई राजगद्धी नमिल्ने व्यवस्था भएकोले उनी जापानकी उत्तराधिकारी हुन सक्दिनन् । त्यही भएर नयाँ सम्राट नाराहीतोका भाइ राजकुमार फमिहितो नयाँ उत्तराधिकारी हुनेछन् ।

जापानको राजपरिवारलाई किन महत्वपूर्ण मानिन्छ ?

विश्वमा यो नै त्यस्तो एक्लो राजपरिवार हो जो विगत २ हजार ६ सय वर्षदेखि लगातार जापानमा शासन गर्दै आएको छ । जापानका सम्राटलाई भगवान मानिन्थ्यो । तर दोस्रो विश्वयुद्धमा जापानको पराजयपछि अकिहितोका बुवा सम्राट हिरोहितोले आफूसँग कुनै पनि दैवी शक्ति नभएको घोषणा गरेका थिए । 

विश्वयुद्धमा पराजय बेहोर्नुपरेपछि जापानको स्वाभिमानमा ठेस पुगेको थियो । तर सम्राट अकिहितोले राजगद्धी सम्हालेपछि जापानको  स्वाभिमान फर्केको र अत्यधिक सफलता मिलेको थियो ।जापानका सम्राट आमजनतासँग प्राय मिल्दैनथे । तर सम्राट अकिहितोले यो परम्परालाई बदलेर आम जनतासँग भेटघाट गर्न थाले ।

सम्राट अकिहितो पछिल्लो दुई सय वर्षमा  स्वेच्छाले राजगद्धी छाड्ने पहिलो सम्राट हुन् । तर यसरी राजगद्धी छोडेको जापानको इतिहासमा यो पहिलो घटना भने होइन ।

जापानी टेलिभिजन एनएचके का अनुसार करिब आधा जति सम्राट साम्राज्ञीहरुले आठौँ देखि उन्नाइसौँ शताब्दीको बीचमा राजगद्धी छोडेका थिए ।

  
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया