जापानको राजगद्दीमा नारोहितो

 वैशाख १८, २०७६ बुधबार १२:५४:५४ | एजेन्सी
unn.prixa.net

जापानका राजा नारोहितो

जापानका १२६ औँ नयाँ सम्राट नारोहितो बुधवार विधिपूर्वक राजसिंहासनमा बसेका छन् । उनका बुवा आकिहितोले राजगद्दी परित्याग गरेपछि जापानी राजसंस्थाका उत्तराधिकारी नारोहितो औपचारिक रूपमा सम्राट बनेका हुन् ।

राजसिंहासनमा औपचारिक र परम्परागत विधि सम्पन्न भएपछि पहिलो पटक भाषण गर्दै उनले विश्वको जनताको सुख, देशको प्रगति र विश्वशान्तिको कामना गरेका छन् ।

राज्याभिषेक समारोह स्थानीय समयानुसार बिहान १०:१५ बजे सुरु भएको थियो । जापानमा जब कोही एक राजा आफ्नो गद्दी छोडेर अर्का राजा हुन्छन् तब नयाँ युगको सुरुवात भएको मानिन्छ । 

को हुन् नयाँ सम्राट ?

नारोहितो जापानका १ सय २६ औँ सम्राट बनेका हुन् । अकिहितोले सन् १९८९ मा राजगद्धी सम्हालेका थिए । ३० वर्षसम्म सम्राट रहेपछि उनले आफूखुशी राजगद्धी त्याग गरेका हुन् । 

५९ वर्षीय नारोहितो अक्सफोर्ड विश्वविद्यालयमा पढेका हुन् । उनी २८ वर्षको उमेरमा राजकुमार घोषित भएका थिए । सन् १९८६ मा एक चियापान कार्यक्रममा उनको भेट राजकुमारी मसाको ओवाडासँग भएको थियो । त्यसपछि सन् १९९३ मा उनीहरुको विवाह भयो ।

सम्राट नारोहितो र उनकी पत्नी समाको ओवाडा

नारोहीतो र मसाकोको आइको नाम गरेकी एउटी छोरी मात्र छिन् । उनी १८ वर्ष पुगिन् । तर जापानको वर्तमान कानुनमा महिलालाई राजगद्धी नमिल्ने व्यवस्था भएकोले उनी जापानकी उत्तराधिकारी हुन सक्दिनन् । त्यही भएर नयाँ सम्राट नाराहीतोका भाइ राजकुमार फमिहितो नयाँ उत्तराधिकारी हुनेछन् ।

जापानको राजपरिवारलाई किन महत्वपूर्ण मानिन्छ ?

विश्वमा यो नै त्यस्तो एक्लो राजपरिवार हो जो विगत २ हजार ६ सय वर्षदेखि लगातार जापानमा शासन गर्दै आएको छ । जापानका सम्राटलाई भगवान मानिन्थ्यो । तर दोस्रो विश्वयुद्धमा जापानको पराजयपछि अकिहितोका बुवा सम्राट हिरोहितोले आफूसँग कुनै पनि दैवी शक्ति नभएको घोषणा गरेका थिए । 

विश्वयुद्धमा पराजय बेहोर्नुपरेपछि जापानको स्वाभिमानमा ठेस पुगेको थियो । तर सम्राट अकिहितोले राजगद्धी सम्हालेपछि जापानको  स्वाभिमान फर्केको र अत्यधिक सफलता मिलेको थियो ।जापानका सम्राट आमजनतासँग प्राय मिल्दैनथे । तर सम्राट अकिहितोले यो परम्परालाई बदलेर आम जनतासँग भेटघाट गर्न थाले ।

राजगद्धी त्याग गर्ने प्रक्रियामा राजकीय रीतिरिवाजअनुसार काशीकाेदाेराे जाँदै सम्राट आकिहिताे

सम्राट अकिहितो पछिल्लो दुई सय वर्षमा  स्वेच्छाले राजगद्धी छाड्ने पहिलो सम्राट हुन् । तर यसरी राजगद्धी छोडेको जापानको इतिहासमा यो पहिलो घटना भने होइन ।

राष्ट्रपति भण्डारीद्वारा बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका सम्राट नारोहितोले गद्दी आरोहण गर्नुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले सम्राट नारुहितोको गद्दी आरोहणसँगै प्रारम्भ भएको ‘रिवा’ युगमा नेपाल र जापानबीचको हार्दिकतापूर्ण धेरै पुरानो मित्रवत् सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले जापानी सम्राटलाई आज पठाउनुभएको बधाई सन्देशमा उहाँको सुख, सुस्वास्थ्यका साथै रिवा युगमा जापानी जनताको निरन्तर शान्ति प्रगति र समृद्धिको कामना गर्नुभएको छ ।
  

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया