खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
संयुक्त राष्ट्रसंघले पाकिस्तानी चरमपन्थी संगठन जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरलाई ‘वैश्विक आतंकवादी’ घोषणा गरेको छ ।
संयुक्त राष्ट्रसंघका लागि भारतीय राजदूत सैयद अकबरुद्दीनले ट्वीट गर्दै यसको पुष्टि गरेका छन् । उनले लेखेका छन्, ‘ठूला–साना सबै देशको साथ प्राप्त भयो । संयुक्त राष्ट्र संघको प्रतिबन्ध सूचीमा मसूद अजहरलाई आतंकवादी घोषणा गरिएको छ । समर्थनका लागि सबैलाई धन्यवाद ।’
भारत सरकारले विगत केही वर्षदेखि मसूद अजहरलाई वैश्विक आतंकवादी घोषण गर्न अलग–अलग मोर्चा बनाएर कुटनीतिक प्रयास गरिरहेको थियो । पुलवामा आक्रमणपछि भारतले फेरि यस मुद्दालाई विशेष प्राथमिकताका साथ उठाएको थियो । चीनको समर्थन नपाएकाले संयुक्त राष्ट्रसंघमा यो प्रस्ताव पटक–पटक खारेज भएको थियो । तर चीनले आफूले गर्दै आएकाे 'टेक्निकल हाेल्ड' फिर्ता लिएपछि राष्ट्रसंघले मसूद अजहरमाथि प्रतिबन्ध लगाउँदै आतंककारीकाे सूचीमा राखेकाे हाे ।
मसूद अजहरको संगठन जैश–ए–मोहम्मदले केही महिनाअघि भारत प्रशासित कश्मीरमा भएको आक्रमणको जिम्मा लिएको थियो ।
कसरी सक्रिय भयो जैश–ए–मोहम्मद ?
अपहरणकर्ताले काठमाण्डौबाट दिल्लीका उडेको जहाजलाई अफगानिस्तानको कन्दाहार लगेका थिए । उनीहरुले भारतीय जेलमा रहेका मौलाना मसूद अजहर, मुश्ताक जरगर, शेख अहमद उमर सइदजस्ता चरमपन्थी नेताको रिहाईको माग गर्दै जहाज अपहरण गरेका थिए ।
जहाज हाइज्याक भएको ६ दिनपछि तत्कालीन भारतीय सरकारले अपहरणकारीको शर्त मान्दै चरमपन्थी नेताहरुलाई रिहा गरेको थियो । त्यसको बदलामा उनीहरुले कन्दहारमा अपहरण गरिराखेको यात्रुसहितको विमान छोडेका थियो । त्यतिबेला स्वर्गीय अटल बिहारी वाजपेयी नेतृत्वको सरकार रहेको थियो ।
त्यसलगत्तै मौलाना मसूद अजहरले फेब्रुअरी २००० मा जैश–ए–मोहम्मदको स्थापना गरेका थिए । त्यसपछि यो चरमपन्थी संगठनले भारतमा कैयौँ आतंककारी आक्रमण गरेको छ ।
त्यसबेला सक्रिय रहेको हरकत–उल–मुजाहिदीन र हरकत–उल–अंसारका कैयौँ चरमपन्थी जैश–ए–मोहम्मदमा प्रवेश गरेका थिए । मौलाना मसूद अजहर आफै पनि हरकत–उल–अंसारका महासचिव रहेका थिए । उनी हरकत–उल–मुजाहिदीनसँगको सम्पर्कमा पनि थिए ।
पठानकोट, उडीदेखि पुलवामासम्मको आक्रमण
आफ्नो स्थापना भएको दुई महिनामै जैश–ए–मोहम्मदले श्रीनगरको बदामीबागमा रहेको भारतीय सेनाको स्थानीय मुख्यालयमा भएको आतंककारी आक्रमणको जिम्मेवारी लिएको थियो ।
त्यसपछि २८ जुन, २००० मा भएको जम्मू–कश्मीर सचिवालयमा पनि संगठनले आक्रमण गरेको थियो ।
त्यस्तै २४ सेप्टेम्बेर २००१ मा एक युवकले विस्फोटक पदार्थले भरिएको कारले श्रीनगरमा रहेको विधानसभा भवनमा ठक्कर दिएका थिए । त्यसै समय अर्का व्यक्ति विधानसभा भवनको पुरानो भवनमा पसेर आगो लगाएका थिए । यो घटनामा ३८ जनाको ज्यान गएको थियो ।
आक्रमण हुनेबित्तिकै जैश–ए–मोहम्मदले घटनाको जिम्मेवारी लिएको थियो तर अर्को दिन उसले आफूले घटना नघटाएको बताएको थियो ।
सन् २००१ को डिसेम्बर १ मा भएको भारतीय संसद भवनमा भएको आतंककारी आक्रमण र जनवरी २०१६ मा पञ्जाबको पठानकोटमा भएको वायु सेनाको अड्डामा भएको आक्रमणको जिम्मेवारी पनि जैश–ए–मोहम्मदलाई नै ठहराइन्छ ।
पठानकोटमा भएको आक्रमणभन्दा पहिले भारतमा भएका थुप्रै आक्रमणको जिम्मेवार ठहराइएको थियो । त्यसमध्ये सबैभन्दा ठूलो आक्रमण सन् २००८ मा मुम्बईमा भएको थियो । यो घटनामा आक्रमणकारीसहित १७४ जनाको ज्यान गएको थियो । घटनामा लश्कर–ए–तोएबाको मुख्य हात भएको भए पनि यसमा जैश–ए–मोहम्मदले पनि सघाएको भारतीय सुरक्षा एजेन्सीहरुले दाबी गरेका छन् ।
सन् २००१ मा भारतीय संसदीय भवनमा भएको आक्रमणका मुख्य दोषी अफजल गुरु जैश–ए–मोहम्मदसँग जोडिएका थिए । उनलाई सन् २०१३ मा मृत्युदण्ड दिइएको थियो । डिसेम्बर २०१६ मा भएको कश्मीरको उडीमा सैन्य अखडामा भएको आक्रमणमा १८ जना भारतीय सैनिकको ज्यान गएको थियो ।
त्यसको केही दिनमै भारतीय सेनाले नियन्त्रण रेखामा ‘सर्जिकल स्ट्राइक’ गरेको दाबी गरेको थियो ।
आतंककारी संगठनको सूचीमा समावेश
जैश–ए–मोहम्मदलाई भारत, ब्रिटेन, अमेरिका तथा संयुक्त राष्ट्र संघले पनि आतंककारी संगठनको सूचीमा समावेश गरेको थियो ।
अमेरिकाको दबाबमा आएर पाकिस्तानले पनि सन् २००२ मा यो संगठनमाथि प्रतिबन्ध लगाएको थियो । केही रिपोर्टहरुलाई मान्ने हो भने जैश–ए–मोहम्मदका प्रमुख मौलाना मसूद अजहर पाकिस्तानको पञ्जाब प्रान्तको बहावलपुरमा बस्दै आएका छन् ।
पठानकोटमा भएको आक्रमणपछि पाकिस्तानले बहावलपुर र मुल्तानमा रहेको जैश–ए–मोहम्मदको अखडामा कारबाही गरेको थियो । पाकिस्तानी सञ्चार माध्यमले अजहरका भाइलाई गिरफ्तार गरेको खबर पनि प्रकाशित गरेका थिए । पाकिस्तानसँग भारतले पटक–पटक अजहरलाई सुपुर्दगी गर्न माग गर्दै आएको छ । तर पाकिस्तानले भने प्रमाणको अभाव रहेको भन्दै टाल्दै आएको छ ।
पठानकोट आक्रमणपछि जैश–ए–मोहम्मदले अल–कलाममार्फत एक अडियो सार्वजनिक गर्दै भारतीय सुरक्षा एजेन्सी ‘जिहादी’ हरुमाथि नियन्त्रण गर्न नसकेको भन्दै मजाक उडाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।