हुदहुद, नीलम, तितली, फणी... चक्रवाती तुफानको नाम यसरी राखिन्छ

 वैशाख २१, २०७६ शनिबार १३:१४:२४ | एजेन्सी
unn.prixa.net

चक्रवाती तुफान ‘फणी’ अत्यधिक तीव्रता भएको आँधीको रुप लिएको छ ।  अहिले यो तुफान भारतको ओडिशा राज्यबाट पश्चिम बंगाल हुँदै बंगलादेशतर्फ लागिरहेको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार यसले अहिलेसम्म ८ जनाको ज्यान लिएको छ भने ठूलो परिमाणमा धनमाल नष्ट भएको छ । आँधी आउनुअघि नै सरकारले झण्डै ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारेको बताएको थियो ।  त्यसैले पनि दुई दशक यताकै शक्तिशाली आँधी आउँदा कम मानवीय क्षति भएको छ । ओडिशाका तटीय क्षेत्रमा राष्ट्रिय आपत्कालीन प्रतिक्रिया बल(एनडीआरएफ), स्थल सेना तथा वायु सेनालाई उद्धार तथा राहतका लागि खटाइएको छ ।

यसभन्दा पहिले ओडिशा तथा आन्ध्र प्रदेशमा आएको चक्रवाती तुफान ‘तितली’ ले कहर मच्चाएको थियो । भारी वर्षा र भूस्खलनका कारण त्यहाँको जनजीवन प्रभावित भएको थियो । एक महिनाअघि मात्रै ‘डे’ नामक आँधी आएको थियो । यसभन्दा पहिले २०१३ मा ‘फाइलिन’ नामक आँधीले ओडिशा तथा आन्ध्र प्रदेशमा भौतिक क्षति पुर्‍याएको थियो ।

विभिन्न समयमा कहर मच्चाउने यस्ता आँधीको नाम कसरी र कसले राख्दछ त ? यो सबैलाई कौतुहुलताको विषय बन्न सक्छ ।  बीबीसीका अनुसार सन् १९५३ मा अमेरिकाको मायामीमा रहेको नेसनल हरिकेन सेन्टर तथा वर्ल्ड मेटिरियोलोजिकल अर्गनाइजेसन(डब्ल्यूएमओ)को अगुवाइमा एउटा प्यानलले आँधी र उष्णकटिबन्धीय चक्रवातको नाम राख्दै आएको छ । डब्ल्यूएमओ संयुक्त राष्ट्रसंघअन्तर्गतको एजेन्सी हो । तर पहिले उत्तरी हिन्द महासागरमा आउने चक्रवातको नाम राखिँदैनथ्यो ।

यसको कारण थियो, यस क्षेत्रको सांस्कृतिक विविधता । पश्चिममा जस्तै नाम राखिए यहाँका मानिसको भावनामा ठेस पुग्ने सम्भावना निकै थियो । आँधीको नाम राख्दा निकै नै सावधानी अपनाउनु पर्ने थियो । कुनै पनि समुदायको सांस्कृतिक भावना तथा विश्वासमा ठेस पुर्‍याउन हुन्थेन ।

सन् २००४ मा डब्ल्यूएमओको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय प्यानल भङ्ग गरियो । त्यसपछि सम्बन्धित देशले आ–आफ्नो क्षेत्रमा आउने चक्रवातको नाम आफै राख्न थाले । यसै वर्ष हिन्द महासागर क्षेत्रका आठ देशले भारतको पहलमा चक्रवाती तुफानका नाम राख्ने व्यवस्था सुरु गरे । भारतका अलावा यसमा बंगलादेश, पाकिस्तान, म्यानमार, मालदिभ्स, श्रीलंका,ओमान तथा थाइल्याण्ड रहेका छन् । यी देशहरुले ६४ वटा नामको सूची बनाएका छन् । हरेक देशको भागमा आठ नाम रहेका छन् ।

हरेक वर्ष सबै देशका चक्रवात विशेषज्ञ भेला हुने गर्छन् । आवश्यकताअनुसार सूचीमा नाम थप्न पनि सकिन्छ । सदस्य देशका नागरिकले पनि नाम सिफारिस गर्न सक्छन् । यस विषयमा भारत सरकारले विभिन्न शर्तमा नागरिकसँग सल्लाह माग्छ । नाम सिफारिस गर्दा सकेसम्म छोटो, सबैले बुझ्न सकिने खालको, सांस्कृतिक रुपमा संवेदनशील तथा भड्किलो नभएको हुनु पर्छ । 

पछिल्लो समय आएको तुफानको नाम ‘फणी’ राखिएको छ । यो नाम बंगलादेशले राखेको हो । ‘फणी’ अर्थ साँप हुन्छ । फणा फिँजाएको सर्पझैँ तुफान फैलिने भएकाले फणी राखिएको हो । 

यति धेरै सावधानीका बाबजुद पनि कहिलेकाहीँ विवाद उत्पन्न हुन्छ । सन् २०१३ मा ‘महासेन’ तुफानलाई लिएर विवाद उत्पन्न भएको थियो । श्रीलंकाले राखेको यस नाममा त्यहाँकै केही समुदायले आपत्ति जनाएका थिए । श्रीलंकामा राजा महासेनले शान्ति र समृद्धि ल्याएको मानिन्छ । त्यसैले प्राकृतिक विपत्तिको नाम उनको नामबाट राख्दा धेरैले आपत्ति जनाए ।  पछि त्यसको नाम परिवर्तन गरी ‘वियारु’ राखिएको थियो ।

यसरी आठ देशले पालैपालो हिन्द महासागरमा आउने समुद्री तुफानको नाम राख्ने गर्छन् । बंगलादेशको ‘फणी’ पछि अब भारतले नाम राख्छ । अब आउने आँधीको नाम ‘वायु’ हुनेछ । आठ देशका आठ–आठ नाम गरी राखिएका ६४ नाम सकिए पनि पछि तीनै नाम दोहोरिनेछन् । तर ठूलो क्षति पुर्‍याएको आँधीको नाम भने पुनः प्रयोग गरिने छैन । 

यसरी आँधीको नामाकरण गर्नुको पछाडि समाचार प्रकाशित तथा प्रसारण गर्न सहज हुनुका साथै पूर्वतयारीका लागि पनि सजिलो हुने मौसमविद् बताउँछन् ।

देखिन थाल्यो नेपालमा पनि चक्रवात ‘फानी’ को प्रभाव

तीव्र गतिमा ओडिशाकाे तटीय क्षेत्रमा ठाेक्किँदै चक्रवात ‘फानी’, ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारियाे

ओडिशाले वर्षौंदेखि यसरी गर्दैछ आँधीको सामना !

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया