सिक्किमका मन्त्री जीएम गुरुङ संखुवासभा भ्रमणमा

 बैशाख २१, २०७६ शनिबार ११:३४:२८ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा - भारतको सिक्किम राज्यका सडक पुल तथा संस्कृति धरोहर मन्त्री गर्जमान गुरुङ (जीएम) संखुवासभा भ्रमणमा आइपुग्नु भएको छ । 

पहिलो पटक संखुवासभा भ्रमणमा आउनुभएका मन्त्री गुरुङ गुराँसको राजधानी तिनजुरे-मिल्के-जलजले (टीएमजे) क्षेत्र र सानो पाथीभरा मन्दिरको दर्शन गर्दै राति सदरमुकाम खाँदबारी आइपुग्नु भएको थियो ।

उहाँले शुक्रबार बिहान संखुवासभाका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, स्व.खेमराज ट्रष्टसँग सम्बन्धित व्यक्तिहरुसँग भेटघाट गर्नुभएको थियो । पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङसंगको भेटमा मन्त्री गुरुङले दुई देशबीचको सम्बन्ध, जातीय र भाषिक सांस्कृतिक सम्बन्ध तथा राजनैतिक गतिविधिका बारेमा चासो राख्नुभएको थियो । 

पारिवारिक र व्यक्तिगत भेटघाटको सिलसिलामा संखुवासभा आएको बताउँदै मन्त्री गुरुङले स्वर्गीय खेमराज गुरुङको जन्मस्थल हेर्न आएको बताउनुभयो । सिक्किममा भर्खरै सम्पन्न चुनावमा पनि आफ्नो पार्टी नै बहुमतमा आउने बताउँदै उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीले निरन्तर पाँच बर्षे कार्यकालको पाँच वटा सरकार चलाइसकेको छ । अब छैटो पटक पनि हाम्रै पार्टीले सरकार चलाउने निश्चित छ ।’

भ्रमणमा मन्त्री गुरुङसँगै उहाँकी श्रीमती र स्थानीय प्रधानपञ्चलगायत आठ जनाको सहभागिता रहेको छ । स्व. खेमराज गुरुङको ‘वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना’ बोलको गीतले सिक्किमलाई नै मोहनी लगाएको स्मरण गर्दै खेमराजकै सम्बन्धको कारण संखुवासभा आइपुगेको मन्त्री गुरुङले बताउनुभयो । 
    
मन्त्री गुरुङ स्व. खेमराज गुरुङको जन्मघर बगलेगाउँमा पनि पुग्नुभएको थियो । ‘मैले खेमराजजीसँग उहाँको जन्मस्थल संखुवासभाका बारेमा जाने इच्छा राखेको थिए, त्यतिबेला समय व्यस्तताका कारण आउन सकिन, त्यसैले अहिले उहाँले देखेको सपनाहरु पूरा गर्न म संखुवासभा आएको छु’, उहाँले भन्नुभयो । मन्त्री गुरुङले खाँदबारी ४ को छयाङकुटी डाँडामा स्व.खेमराज मकालु भ्यू छोलिङ बौद्ध गुम्बाको शिलान्यास गर्नुभएको थियो । 

मन्त्री गुरुङलाई खाँदबारी नगरपालिकाले औपचारिक रुपमा सम्मान तथा स्वागत गरेको थियो । शनिबार मनकामना मन्दिरको दर्शन गरेर सिक्किम फर्किने कार्यक्रम रहेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया