विभिन्न बहानामा विद्यार्थीबाट शुल्क उठाइँदै, 'सबैका लागि निःशुल्क शिक्षा' कागजमै सीमित

 बैशाख २५, २०७६ बुधबार २०:३९:१६ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - नेपाल सरकारले सबैका लागि निःशुल्क शिक्षा भने पनि बझाङ जिल्लाका सामुदायिक विद्यालयहरुले भने विभिन्न बहानामा विद्यार्थीबाट चर्को शुल्क लिने गरेका छन् ।

अभिभावकहरुले पटक-पटक जिल्लाका सामुदायिक विद्यालयहरुले चर्को शुल्क लिने गरेको भनेर गुनासो गरे पनि यस्ता विद्यालयहरु कारबाहीमा परेका छैनन् । कक्षा १ देखि १२ सम्म नेपाल सरकारले निःशुल्क शिक्षा भने पनि जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरुले कक्षा ६ देखि १० सम्म भर्ना शुल्क, परीक्षा शुल्क, गयल शुल्क, खेलकुद शुल्कजस्ता बहाना बनाउँदै शुल्क असुल्दै आएका छन् । 

तल्कोट गाँउपालिका १ सुनिकोटका मिलन ऐडीले कक्षा ७ मा पढ्ने भाइ अशोक ऐडीको स्थानीय सुनिकोट माविमा भर्ना गर्न जाँदा विद्यालयले तीन सय ४० रुपैयाँ शुल्क लिएको गुनासो गर्नुभयो । उहाँजस्तै  सुनिकोटका धेरै अभिभावकहरुले भर्ना गर्दा रकम तिर्नु परेको भन्दै दुःखेसो पोखे । 

सुनिकोटजस्तै जिल्लाकै नमुना मानिएको सदरमुकाम चैनपुर नजिकै रहेको सत्यबादी मावि भोपुरले समेत भर्ना शुल्क लिएको अभिभावकहरुले बताएका छन् । सत्यवादी माविमा कक्षा सातमा दुई छोरीको भर्ना गर्दा नौ सय ५० रुपैयाँ र कक्षा १० मा पढ्ने छोराको भर्ना शुल्क पाँच सय ५० तिरेको जयपृथ्वी नगरपालिका ११ की महिला सदस्य पद्मा देवी सार्कीले बताउनुभयो ।

‘हामीजस्ता दलितहरुका बालबालिकाहरुलाई त झन् निःशुल्क हुन्छ भन्ने थाहा थियो । शिक्षकहरुले पैसा नदिएसम्म छोरा छोरीको भर्ना नै नगर्ने भए पछि मैले बाध्य भएर भर्ना शुल्क तिर्नुपर्‍याे’, उहाँले भन्नुभयो ।  

सत्यवादी मावि भोपुरका प्रधानाध्यापक रामदत्त उपाध्यायले विद्यालयको शैक्षिक सुधारका लागि केही शिक्षकहरु निजी स्रोतबाट राखेको हुँदा विद्यार्थीहरुबाट सहयोगस्वरुप भर्ना रकम लिएको बताउनुभयो । सत्यवादीमा कक्षा सातमा भर्ना भएकी विमला वादीले चार सय ५० भर्ना शुल्क तिरेको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘हामी चार जना  छोरीहरुको भर्ना खर्च नभए पछि स्टोरिज अफ् नेपालका पत्रकार जय पौडेलले सहयोग गर्नुभयो ।’ 

कापी कलमका लागि भन्दै पाएको पैसा विद्यालयमा बुझाउन परेको कक्षा सातमा पढ्ने प्रमिला वादीले बताउनुभयाे। ‘घरको अवस्था नाजुक छ । एक छाक खान समेत धौधौ हुन्छ । बाहिरबाट हामीहरुलाई कापी , कलममा खर्च गर्नु भन्दै दिएको पैसासमेत भर्ना गर्दा विद्यालयमा नै बुझाउनु पर्‍याे’, उहाँले भन्नुभयो ।

यस्तै सदरमुकाम नजिकै रहेको जालपा माविले समेत भर्ना शुल्क लिएको विद्यालय व्यवस्थापन समितिका सदस्य रमेश धामीले बताउनुभयो । कक्षा नौ मा पढ्ने छोराको तीन सय २५ र कक्षा सातमा पढ्ने छोरीको भर्ना गर्दा तीन सय रुपैयाँ तिरेको उहाँले गुनासो गर्नुभयो । विद्यालय व्यवस्थापन समितिमा कुनै सल्लाह र जानकारीबिना नै शिक्षकहरुले मनोमानी भर्ना शुल्क लिने गरेको उहाँको आरोप छ । 

विद्यालयले कक्षा छ, सात, र आठको तीन सय, कक्षा नौ को तीन सय २५ र १० कक्षामा भर्ना हुने विद्यार्थीबाट तीन सय ५० रुपैयाँ भर्ना शुल्क तोकेको उहाँले जानकारी दिनुभयो । सरकारको निःशुल्क शिक्षा नीति काजमै सीमित भएको र सामुदायिक विद्यालयहरुले नै सरकारी नीतिको खिल्ली उडाएको उहाँले बताउनुभयो । 

जयपृथ्वी नगरपालिका शिक्षा संयोजक तथा स्रोत व्यक्ति खगेन्द्र प्रसाद जोशीले बझाङ जिल्लाका सामुदायिक विद्यालयहरुले नियम विपरीत शुल्क असुलेको स्वीकार्दै धेरैजसो विद्यालयहरुले निजी शिक्षककलाई तलब खुवाउनका लागि भर्ना शुल्क लिने गरेको बताउनुभयो ।   

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जिल्लामा रहेका विभिन्न सामुदायिक विद्यालयहरुले भर्ना शुल्क लिएको भन्ने कुरा सामान्य जानकारीमा आएको र भर्ना शुल्क लिएको फेला पारे नियमअनुसार कारबाही हुने जानकारी दिनुभयो ।   

भर्ना शुल्क नलिन विद्यालयलाई प्रमुख जिल्ला अधिकारीको  निर्देशन  

शैक्षिक शत्रको सुरुमा नै जिल्लाका विभिन्न विद्यालयहरुले विद्यार्थीहरुबाट सहयोग स्वरुप भन्दै बिना रसिद भर्ना शुल्क लिएको जनगुनासो आए पछि प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले यस्तो कार्य तत्काल रोक्न निर्देशन दिनुभएको छ । शुक्रबार सदरमुकाम नजिकैको सत्यवादी माविमा गएर भर्ना शुल्क नलिन शिक्षकहलाई उहाँले आग्रह गर्नुभएको थियो । 

नेपाल सरकारले संविधानमा नै शिक्षालाई निःशुल्क भनेको भए पनि विद्यालयले विभिन्न बाहनामा शुल्क उठाउने गरेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी सुनारले शिक्षा विकास तथा समन्वय इकाइलाई शुल्क न उठाउनका लागि परिपत्र गर्नुभएको छ । 
 

अन्तिम अपडेट: चैत ४, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Bharat sapkota

    May 9, 2019, 5:55 p.m.

    दुर दराज को के कुरा ३ न प्रदेशको राजधानी मकवानपुर को उप महा नगर कै हालत उस्तै छ।कसले लेख्नु र समाचार ।

  •  0 Reply

तपाईको प्रतिक्रिया