‘स्टिङ अपरेशन’ गर्न दिएको घुस रकम हराएपछि...

 बैशाख २७, २०७६ शुक्रबार १०:८:६ | रासस

बाँके – अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले वैशाख २१ गते साँझ नेपालगञ्ज चारबाहिनीस्थित श्री लयर्स च्याम्बरमा छापा मार्‍यो । यो क्रममा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका टाइपिस्ट सुब्बा कृष्णकुमार पाठकलाई पक्राउ गर्‍यो ।

मुद्दामा सहजीकरण गरिदिने भन्दै पाठकले सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले उनलाई समातेको थियो । पाठक पक्राउपछि अख्तियारले एक विज्ञप्ति जारी गर्दै तीन लाख रुपैयाँ घुससहित पाठकलाई रङ्गेहात समातेको भन्यो । तर, घटना त्यसो थिएन ।

घुस रकम भनिएको तीन लाख रुपैयाँ पाठकबाट बरामद नभएको रहस्य खुल्यो । अख्तियारले भनेजस्तो रङ्गेहात घुस रकमसहित पाठक पक्राउ परेनन् । जसका कारण यतिखेर अख्तियारभित्र तनाव भएको छ । आर्थिक अनियमितता नियन्त्रणमा सक्रिय रहेको अख्तियारकै लापरवाहीले तनाव भएको हो । 

यसरी गायब भयो घुस रकम 

वैशाख २१ गते शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने कर्मचारीविरुद्ध ‘स्टिङ अपरेशन’ गर्दै भ्रष्टाचार मुद्दा चलायो । घुस माग्ने कर्मचारीलाई मुद्दा चलाउन उसले सेवाग्राहीलाई घुस रकम उपलब्ध गराउने गर्छ । जुन रकम सेवाग्राहीले कर्मचारीलाई बुझाउँछन् । ती नोटको फोटोकपी यसअघि नै अख्तियारले राखेको हुन्छ ।

यसप्रकार घुस माग्ने कर्मचारीलाई उजुरीकर्ताको सहयोगमा रकम दिएर गरिने कारवाही नै ‘स्टिङ अपरेशन’ हो । उच्च अदालतका कर्मचारी पाठकलाई पक्राउ गर्न पनि यही विधि अपनाएको थियो अख्तियारले । तर, अख्तियार यो पटक भने चुक्यो । सेवाग्राहीलाई उपलब्ध गराएको घुस रकम नै गायब भएको छ । अर्थात् पक्राउ परेका अभियुक्तबाट रकम फेला परेन ।

घुस रकम लिएर सेवाग्राही घटनास्थलतिर लागे, उनीसँगसँगै आयोग टोली रङ्गेहात समात्ने भनेर अख्तियार पछिपछि लाग्यो । तर, अख्तियारको टोलीले पाठकलाई आफ्नो नियन्त्रणमा लियो । घुस रकम भने लिन पाएन ।

घुस रकमसहित पाठकका छोरा फरार

श्री लयर्स च्याम्बरमा घुस लेनदेन भएको पाइएको भन्दै अख्तियारले अदालतभित्र हुने भ्रष्टाचारमा वकिलको संलग्नताबारे पनि अनुसन्धान अघि बढायो । आर्थिक लेनदेन भइरहेको ल फर्ममा केही ढिला पुगेको आयोगको यही कमजोरीको भरपूर फाइदा उठाइएको छ । ल फर्ममा पाठकका छोरा विपीन पनि घुस लेनदेनका क्रममा सँगै थिए ।

घुस लेनदेन भइसकेपछि विपीनले तत्कालै बुबा पाठकको इशारा बुझेर तीन लाख रकम लिएर सुइँकुच्चा ठोके । आयोग कर्मचारी पुग्दा उनी त्यहाँबाट टाप कसिसकेका थिए । पाठकले चलाखीपूर्ण घुसको कारोबार गर्दै लिएको घुस रकम छोराका साथ पठाए । जब अख्तियारको टोली ल फर्म पुग्यो, विपीन ओझेल परिसकेका थिए ।

पाठकले अख्तियारको टोलीभन्दा एक कदम अघि बढेर चलाखी गरेका रहेछन् । जसबाट अख्तियारका अधिकारीहरु अचम्मित हुनुका साथै तनावमा पनि परेका छन् । रङ्गेहात भने पनि घुस रकम बरामद नहुँदा यो मुद्दा कमजोर बनेको छ । अनि अख्तियारले सार्वजनिकरूपमा रङ्गेहात पक्राउ भनेको कुरा पनि झुठो सावित भएको छ ।

घुस रकम लिएर फरार भएको भनिएका विपीन फेला नपर्दासम्म यो विषयको समाधान लाग्ने देखिँदैन । घुस रकम लिएर विपीन भारततिर लागेको बुझिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले अनुसन्धानका क्रममा रहेको भन्दै पाठकका छोराको खोजी भइरहेको बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया