माेदीबारे टाइमकाे 'विवादित' कभर स्टाेरी : ‘इण्डियाज डिभाइडर इन चिफ’

 बैशाख २७, २०७६ शुक्रबार १५:४३:१० | एजेन्सी

अमेरिकी म्यागजिन ‘टाइम’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विषयमा ‘विवादित’ कभर स्टोरी बनाएको छ । टाइमले मे २० को संस्करणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बारेमा प्रकाशित गरेको कभर स्टोरीले चुनावी माहोलका बीच भारतीय राजनीतिमा हलचल ल्याएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्यारिकेचर राख्दै टाइमले शीर्षक राखेको छ, ‘इण्डियाज डिभाइडर इन चिफ’ । आतिश तसीरले लेखेको लेखमा ‘के विश्वकै ठूलो प्रजातन्त्रत्रले अर्को ५ वर्ष मोदी सरकारलाई सहन सक्ला ?’ लेखिएको छ । 

लेखमा भारतीय पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरुको धर्मनिरपेक्षतासम्बन्धी विचार अहिले भैरहेको धार्मिक असहिष्णुताको वातावरणलाई तुलना गरिएको छ । 
हुन त म्यागजिन अहिले बजारमा आएको छैन । मोदीको कभर स्टाेरी गरिएकाे यो म्यागाजिन मे २० मा मात्र बजारमा आउने छ ।

१९ मे को लोकसभा चुनाव २०१९ को अन्तिम चरणको मतदान हो । र चुनावको नतिजा २३ मे मा आउनेछ । त्यो बीचमा म्यागेजिनको यस्तो लेखले चुनावी माहोललाई प्रभावित पार्न सक्ने राजनीतिक विज्ञहरु बताउँछन् ।

म्यागजिनको कभर स्टोरीमा के लेखिएको छ ?

टाइमको वेबसाइटमा प्रकाशित यस स्टोरीमा मोदी गुजरातको मुख्यमन्त्री भएदेखि भारतको प्रधानमन्त्री भएसम्मको वर्णन गरिएको छ । सन् २०१४ मा भएको उनको जितलाई ३० वर्षकै सबैभन्दा ठूलो जित बताइएको छ । त्यसपछि उनको पाँच वर्षको कार्यकालको वर्णन गरिएको छ ।

अहिले नरेन्द्र मोदीको फोटोसहित टाइम पत्रिकाले छापेको यो कभर पेज भारतमा सामाजिक सञ्जालको ट्रेण्डमा रहेको छ ।

सन् २०१५ मा पनि टाइम म्यागजिनले ‘ह्वाइ मोदी म्याटर्स’ भन्ने शीर्षकमा मोदीमाथि कभर स्टोरी गरेको थियो । त्यतिबेला पनि यस स्टोरीलाई लिएर सामाजिक सञ्जालमा थुप्रै आलोचना भएको थियो । यसै म्यागजिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन् २०१६ को वर्ष व्यक्ति घोषणा गरेको थियो ।

जुन स्टोरीलाई लिएर भारतमा अहिले विवाद भइरहेको छ त्यो स्टोरीका लेखक आतिश तासीर हुन् । ३९ वर्षीय आतिश ब्रिटेनमा जन्मिएका लेखक तथा पत्रकार हुन् । उनी भारतीय पत्रकार तवलीन सिंहका छोरा हुन् । 


 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया