बाढीले बाँकेमा चार जनाको ज्यान गयो, नेपालगञ्ज पनि डुबानमा

 असार १८, २०७५ सोमबार १९:१३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – बाँकेमा आइतबार रातिदेखि परेको वर्षापछि आएको बाढीमा चार जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा दुई जना नाबालकसमेत छन् । सोमबार साँझसम्म बैजनाथमा दुई जना, डुडुवा र कोहलपुरमा एक गरी चार जनाको मृत्यु भएको हो । बैजनाथ गाउँपालिका –५, गुरुवागाउँका ३५ वर्षीय लोकबहादुर सुनारको डल्लीपुर नालाले  बगाउँदा मृत्यु भएको छ । सोमबार बिहान खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका सुनारको शव ५०० मिटर टाढा झाडीमा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

यसैगरी बैजनाथ ३ का ६५ वर्षीय तुलाबहादुर बुढाको जेठी नालामा डुबेर मृत्यु भएको छ । सोमबार बिहान जेठी नालामा डुबेर बेपत्ता  भएका बुढाको दिउँसो शव फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख प्रहरी निरस्क्षक  निरञ्जन घिमिरेले जानकारी दिनुभयो । 
 

यसैगरी कोहलपुर नगरपालिका –४, गौवा गाउँगाउँका ४ वर्षीय बालक रञ्जित पासीको घर नजिकै नालामा डुबेर मृत्यु भएको घिमिरेले जानकारी दिनुभयो । यस्तै डुडुवा गाउँपालिका –२, जाफरपुरवाका राम नारायण यादवकी  ४ वर्षीया छोरी रिमादेवी यादवको  घर नजिकैको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।  बाढीका कारण किरण नाला, पेडारी नाला, डुडुवा नाला, जेठी नालामा बाढी आएको छ । बाढीले दर्जनौं घरमा समेत क्षति पु¥याएको छ ।

पेडारी नालामा बाढी आउदा नेपालगञ्ज–गुलरिया सडकखण्डमा आवागमन प्रभावित भएको छ ।  खजूरा बजार नजिकै पेडारी नाला सडकमाथिबाट बग्दा आवागमन प्रभावित भएको हो । जसका कारण सयौं यात्रुहरु अलपत्र परेका छन् । यसैगरी बाढीले राप्ती सोनारी र नरैनापुरमा समेत  आवागमन प्रभावित भएको 
छ । 

बाढीले नेपालगञ्जका न्यूरोड, बसपार्क रोड लगायतका स्थान डुबेका छन् । एडीबीको सहयोगमा नेपालगञ्जमा सडक तथा नाली निकाश कार्य चलिरहँदा  डुबान भएको छ  । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले बाढीबाट क्षति हुन नदिनका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन प्रशासनले निर्देशन दिएको बताउनुभयो ।  

प्रशासनले सम्भावित बाढीबाट बच्न पूर्व तयारी गर्न बाढीबाट अति प्रभावित हुँदै आएका डुडुवा, राप्ती सोनारी र नरैनापुरमा अत्यावश्यक तयारीका लागि यसअघि नै पत्राचार गरेको थियो । हालसम्म राप्ती नदीमा पानीको बहाव सामान्य अवस्थामा रहेको छ  ।

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया