इटालियन ओपन टेनिस : किर्गोसले रिसको झोकमा खेल छोडे

 जेठ ३, २०७६ शुक्रबार ७:१६:१८ | एजेन्सी
unn.prixa.net

अष्ट्रेलियन खेलाडी निक किर्गोसले रिसको झोकमा खेल छोडेका छन् । इटालियन ओपन अन्तर्गत दोस्रो चरणको खेलमा उनले आफ्नो र्‍याकेट (टेनिस ब्याट) भूइँमा बजारे, पानीको बोटललाई किक हाने र बस्ने मेचलाई कोर्टमा हुर्‍याइदिए । 

त्यसपछि उनी कोर्टबाट बाहिर निस्किए । २४ वर्षे अष्ट्रेलियाली खेलाडी किर्गोसले कास्पर रुड विरुद्धको खेलको निर्णायक सेट चलिरहेका बेला यस्तो गरेका हुन् । तेस्रो सेटमा २–१ ले पछि परेको अवस्थामा उनलाई गेम पेनाल्टी दिइएको थियो । रिसाहा खेलाडी भनेर चिनिने किर्गोस बारम्बार विवादमा आइरहेका छन् । 

गएको मार्चमा मायामी ओपनका बेला उनले फ्यानमाथि नै जाइ लागेका थिए । सन् २०१५ मा विपक्षी खेलाडीका बारेमा अपमानजनक शब्द प्रयोग गरेका कारण २८ दिनका लागि प्रतिबन्धमा परेका थिए । 

त्यसबेला उनले स्वीस खेलाडी स्टान वावरिन्काको प्रेमिकाका बारेमा नराम्रो शब्द प्रयोग गरेका थिए । त्यसको एक वर्षपछि उनी फेरी प्रतिबन्धमा परे । सांघाई ओपनको खेलमा उनले कुनै जाँगर नचलाई खेले जस्तोमात्र गरेपछि आठ साताको प्रतिबन्ध र २० हजार ५६० पाउण्ड जरिवानाको कारवाहीमा परे ।

सांघाई मास्टर्सकै अर्को प्रतियोगितामा उनले हारको झोकमा दुईवटा बललाई स्टेडियम बाहिर फलिदिएका थिए । यही प्रतियोगितामा उनले अम्पायरसँग पनि बादविवाद गरेका थिए । उनी मानसिक रुपमा विरामी भएको र मनोचिकित्सकको परामर्समा रहेको प्रतिक्रिया दिएका थिए ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया