पाकिस्तान: डाक्टरको लापर्वाहीका कारण बालबालिकासहित ४ सयभन्दा बढी व्यक्ति एचआईभी पीडित

प्रतिवेदन भन्छ- 'देशभरि छ लाख नक्कली डाक्टर छन्'

 जेठ ३, २०७६ शुक्रबार १४:४५:५९ | एजेन्सी
unn.prixa.net

उत्तरी पाकिस्तानको एउटा गाउँमा सयौं व्यक्तिहरु एचआईभीबाट पीडित भएका छन् । डाक्टरले दूषित सुईको प्रयोग गर्दा बालबालिकाहरु पनि एचआईभीबाट पीडित भएका हुन् । यो घटना पाकिस्तानको लरकाना गाउँको हो ।

गएको महिना प्रशासनको शहरको बाहिरी भागमा १८ जना बच्चामा एचआईभी पोजिटिभ पाइएको थियो । त्यसपछि व्यापक स्तरमा जाँच भएको थियो र यसबाट डाक्टरहरुको करतुत सार्वजनिक भएको हो । 

स्वास्थ्य अधिकारीका अनुसार, चार सयभन्दा बढी मानिसहरु एचआईभी पोजिटिभ रहेकाे पाइएको हो । पीडितमध्ये धेरै बालबालिका रहेका छन् । विशेषज्ञहरुले यो संख्या अझै बढ्न सक्ने बताएका छन् । 

यो घटना सार्वजनिक भइसकेपछि यहाँका मानिसहरु निकै डराएका र रिसले चूर भएका छन् । यो घटना बाल रोग चिकित्सकको लापर्वाहीको कारणले भएको हो । 

‘अहिले दर्जनौंको संख्यामा मानिसहरु उपचारका लागि आइरहेका छन्,’ एक स्थानीय डाक्टरले भने । अहिले उपचारका लागि स्वास्थ्यकर्मी र उपकरणको पनि अभाव देखिएको छ । 

पाकिस्तानमा एचआईभीलाई लिएर निकै कम प्रचारप्रसार हुने गरेको छ । तर बिरामीको दर भने बढ्दै गैरहेको छ । संयुक्त राष्ट्र संघको प्रतिवेदनका अनुसार, पाकिस्तान एसियाको दोस्रो राष्ट्र हो, जहाँ एचआईभीको दर लगातार बढ्दै गैरहेको छ । 

महंगीको कारण पनि पाकिस्तानी नागरिकहरु आफ्नो उपचार गर्न सक्षम छैनन् । यहाँ गरिबीको स्तर बढ्दै गैरहेको छ । यूएनएआईडीएस (एचआईभी-एड्स अन्तर्गत संयुक्त राष्ट्र संघको कार्यक्रम) को रिपोर्टले भन्छ, ‘केही सरकारी रिपोर्टका अनुसार, देशभरि छ लाख नक्कली डाक्टर छन् र यो संख्यामध्ये करिब दुई लाख ७० हजार डाक्टर सिन्ध प्रान्तमा काम गरिरहेका छन् ।’

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया