बाल क्लबमा सक्रिय सदस्यले नै बालविवाह गर्दा न्यूनिकरणमा समस्या

 जेठ ५, २०७६ आइतबार १७:२३:३५ | रासस
unn.prixa.net

कैलाली - टीकापुर-८ को लालीगुँरास बाल क्लबमा सक्रिय एक १४ वर्षीया किशोरीको विवाह भएकाे छ ।

बालबालिका र किशोर किशोरीमा आइपर्ने समस्या समाधान र उनीहरुको विकासका लागि गठन भएको क्लबकै सदस्यले बालविवाह गरेपछि क्लबमा निकै तनाव भएकाे छ ।

क्लबका अध्यक्ष महेश साउदले भन्नुभयो, 'हामीले उनलाई निकै सम्झायौँ  तर उनले अब माइतीघर फर्कन नसक्ने बताइन्', उहाँले भन्नुभयो, 'उनका श्रीमान् पनि किशोर नै भएकाले हामीले सम्झाए पनि उनीहरुले मानेनन् ।

कैलालीको भजनीमा रहेको कोपिला बाल क्बलमा सक्रिय १७ वर्षीय एक किशोरले गाउँकै १६ वर्षीया किशोरीसँग प्रेम विवाह गरे । क्बलकै सदस्यले विवाह गरेपछि त्यहाँ पनि हल्लाखल्ला भयो ।

उनीहरुले भागी विवाह गरेपछि क्लबका सचिव सरोज चौधरीले दुवै परिवारका अभिभावकलाई बोलाएर छलफल गरेको बताउनुभयो । 'हामीले दुवै जनाका अभिभावक बोलाएर पढाइलाई निरन्तरता दिन र २० वर्ष नपुगी सँगै नबस्न सल्लाह दियौँ”, चौधरीले भन्नुभयो, अहिले दुवैले अध्ययन गरिरहेका छन् । उनीहरु परिपक्व भएर विवाह गर्नेमा सहमत छन् ।'

टीकापुरको बाल सञ्जालका अध्यक्ष रतन टमटाका अनुसार समुदायमा बालविवाह त भइरहन्छन् तर क्लबमै सक्रिय सदस्यले विवाह गर्दा नकारात्मक सन्देश जान्छ । उहाँले भन्नुभयो, 'बालबालिकालाई अभिभावकको निगरानी आवश्यक छ । उनीहरुलाई मोबाइल, इन्टरनेटजस्ता प्रविधिको गलत प्रयोग गर्नबाट बचाउनुपर्छ ।'

कैलालीमा सयौँ बाल क्लब छन् । यी क्लबमा ११ वर्षदेखि १८ वर्षमुनिका बालबालिका छन् । बाल क्लबमा उनीहरु आफ्नै बचतले हाजिरीजवाफ, चित्रकला, वक्तृत्वकला, खेलकुद प्रतियोगिताजस्ता कार्य गर्छन् । क्लबमा उनीहरु बालबालिकाका समस्या र किशोर किशोरीमा देखिने समस्याबारे पनि छलफल गर्छन् । 

स्वयंसेविका देवसरा साउद आफूहरुले पनि बालविवाह न्यूनिकरणका लागि स्वास्थ्य आमा समूहमा छलफल गर्ने गरेको बताउनुभयो । छाउपडी र बालविवाह रोक्नका लागि छलफल गर्छौं  तर हाम्रै एक स्वयंसेविकाकै नातिनीले उमेर नपुगेरै विवाह गरिन् । आफैँ स्वयंसेविका भएर पनि नातिनीलाई घर फर्काउन सकिएन', उहाँले भन्नुभयो, 'यहाँका धेरै किशोरी विवाह गरेर भारत जाने गर्छन्, एक दुई वर्षपछि बच्चा बोकेर फर्कन्छन्, अनि कसरी रोक्नु ?'

सीतापुरकाे जनजागृति उच्च माविकी शिक्षिका उर्मिला रावल कक्षा ९ र १० मा पढ्ने बालबालिकाले धेरै प्रेम विवाह गर्ने गरेको बताउनुभयो । 'हरेक वर्ष पाँच जति किशोर किशोरीे बालविवाहकै कारण विद्यालय छोडछन् । यसलाई रोक्न निकै कठिन छ ।' 

उमेर नपुगेरै कति जनाको बालविवाह हुन्छ भन्ने तथ्याङ्क त कसैसँग छैन तर किशोरी आमा बन्नेको तथ्याङ्क हेर्दा अहिले पनि टीकापुर नगरपालिकामा १७ प्रतिशत आमा २० वर्षमुनिका छन् । नगरपालिकाका स्वास्थ्य संस्थामा चालू वर्षको चैतसम्म ५ सय ९६ ले सुत्केरी सेवा लिएकामा ८९ किशोरी आमा छन् ।

'टीकापुर अस्पतालमा नियमित चार पटक गर्भजाँच गर्ने १५ प्रतिशत २० वर्षमुनिका आमा छन् भने सुत्केरी हुने १७ प्रतिशत छन्,' स्वास्थ्य प्रबर्द्धन शाखाका संयोजक बलबहादुर रावलले भन्नुभयाे, 'यसले बालविवाह अझ बढेको भन्ने देखाउँछ ।'

टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले भन्नुभयो, 'बालविवाह पनि गलत अभ्यास हो, यसलाई न्यूनिकरण गर्न सबैले साथ दिनुपर्छ तर हामीले मात्र चाहेर पनि बालविवाह रोक्न  नसकेकाले कानुन कार्यान्वयनका लागि सबैभन्दा पहिले अभिभावक सचेत बन्नुपर्छ।' 

बालविवाह न्यूनिकरणका लागि किशोर किशोरीमैत्री स्वास्थ्य कार्यत्रम, विद्यालयमा साथी शिक्षा कार्यक्रम लागू गरिएको उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया