लोकसभा चुनाव सकिएसँगै मोदीको चुनाव प्रचारक टिभी च्यानल 'नमो टिभी' गायब

 जेठ ७, २०७६ मंगलबार १५:१:९ | एजेन्सी
unn.prixa.net

लोकसभा चुनाव सुरु हुनुभन्दा केही दिन पहिले सञ्चालनमा आएको नमो टिभी अन्तिम चरणको मतदान सकिनुभन्दा दुई दिन अगाडि बन्द भएको छ ।

२६ मार्चमा लन्च भएको विवादित नमो टिभी अहिले टिभी सेटबाट एकाएक हराएको छ । भाजपासँग सम्बन्धित एक सुत्रका अनुसार लोकसभा चुनावका सबै प्रचार अभियानहरु सकिएपछि मे १७ मा यो च्यानल बन्द गरिएको छ । 

नाम नखुलाउने सर्तमा एक भाजपा नेताले भने, ‘नमो टिभी लोकसभा चुनावमा विजेपीको लागि चुनावी अभियानको प्रमुख हिस्सा थियो । चुनाव सकिएपछि त्यसको आवस्यकता नै भएन र बन्द गरियो ।’

भिडियोकोन, टाटा स्काई तथा डिश टीभी जस्ता डीटीएच अपरेटरले  नमो टीभीलाई नि:शुल्क प्रसारण गरिरहेका थिए ।

चुनावी समयमा यसरी टिभी सञ्चालन गरेको भन्दै चुनाव आयोगमा गुनासो बढेको थियो । तर पनि यो च्यानल र भाजपा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध कुनै कारबाही गरिएन । विपक्षीले यस च्यानललाई चुनावी अभियानमा प्रोपोगाण्डा फैलाउने उद्देश्यले सञ्चालन गरिएको भन्ने आरोप समेत लगाएका थिए ।

दिल्लीका प्रमुख निर्वाचन अधिकारीले च्यानल बन्द भएपछि पनि नमो टीभीलाई चुनावी सामग्री प्रसारित गरेको भन्दै नोटिस पठाएका थिए ।

अप्रिलमा चुनाव आयोगले नमो टीभीमा प्रसारणको लागि रेकर्ड गरिएका कार्यक्रमहरु पूर्व प्रमाणित गर्नुपर्ने भन्ने निर्देशन दिएको थियो । यस्तै दिल्ली निर्वाचन आयोगले पनि आयोगबाट प्रमाणित नगरेसम्म कुनै पनि कार्यक्रम प्रसारण गर्न नमिल्ने निर्देशन दिएको थियो । 

अप्रिल ११ को चुनाव आयोगको निर्देशनअनुसार नमो टीभी भाजपालाई दिइएको एक प्लेटफर्म सेवा हो । आयोगको निर्देशनले आयोगका अधिकारीको अनुमतिबिना कुनै पनि कार्यक्रम प्रसारण गर्न नपाइने बताएको थियो ।

यस्तै नमो टिभीले एनएसएस ६ स्याटालाइटको प्रयोग गरेको बारे पनि भारतीय प्रसारण कानुनलाई लिएर प्रश्न उठाइएको थियो । प्राप्त जानकारीका अनुसार प्रधानमन्त्रीको प्रचारका लागि प्रयोग गरिएको च्यानलले आफ्नो प्रयोजनको लागि लाइसेन्सबिनाको स्याटेलाइट प्रयोग गरेको थियो ।

एबीपी न्यूज च्यानलमा बोल्दै नरेन्द्र मोदीले आफूले नमो टिभी नहेरेको दाबी गरेका थिए । तर च्यानलको उद्घाटन भएको दिन नमो टिभी सबैलाई हेर्न आह्वान गर्दै प्रधानमन्त्री आफैले ट्वीट गरेका थिए ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया