व्यापारी चन्द्रप्रसाद आचार्यकाे हत्या आशंकामा तीन जना पक्राउ

 जेठ ७, २०७६ मंगलबार १९:४०:२ | मुना हमाल
unn.prixa.net

सुर्खेत - वीरेन्द्रनगर-१ का चन्द्रप्रसाद जैशी आचार्यको हत्याको आंशकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर-६, बुद्धपथमा पसल सञ्चालन गर्दै आएका नन्दकला बिष्ट, उनका श्रीमान कृष्ण बिष्ट र छोरी बिन्दु बिष्टलाई पक्राउ गरेको हो । 

आचार्य गएकाे फागुन १८ गते राति १० बजे वीरेन्द्रनगर ६ बुद्धपथमा मृत अवस्थामा भेटिएका थिए । आचार्यले वीरेन्द्रनगर-६ मा चियानास्ता पसल गर्दै आएका थिए । दिउँसाे ३ बजे वीरेन्द्रनगर-१, बांगेसिमलबाट नागरिकता लिन घर गएका आचार्यलाई राति १० बजे बुद्धपथमा मृत अवस्थामा प्रहरीले भेटाएको थियो । मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रदेश प्रहरी कार्यालयले घटनाको बारेमा जानकारी गराएको हो । 

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा बिष्ट परिवारले हत्या गरेको आंशका गरेको छ । प्रहरीले बुद्धपथमा रहेकाे सीसीटीभी फुटेज र होटल अतिथिको भुइँतलाकाे सीसीटीभी फुटेजको आधारमा अनुसन्धान सुरु गरेको थियो । आचार्य त्यसै दिन बिष्ट परिवारले सञ्चालन गर्दै आएको पसलमा गएको अनुसन्धानबाट खुलेको छ ।

प्रारम्भिक अनुसन्धानलाई हेर्दा बिष्ट परिवारबाटै हत्या भएको आंशका भएकाले विस्तृत अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।  

व्यापारी चन्द्रप्रसाद आचार्य

‘आचार्य सोही दिन नन्दकला बिष्टले सञ्चालन गरेको पसल वरपर धेरै पटक आवातजावत गरेको, टहरोको आँखीझ्यालजस्तो भागबाट पटक पटक चियाएर भित्रबाहिर गरेको र ९ बजेर ३७ मिनेटमा अन्तिम पटक पसलमा प्रवेश गरेको सीसीटीभीमा स्पष्ट देखिन्छ’, घटनाका बारेमा जानकारी दिँदै प्रदेश प्रहरी प्रमुख डीआइजी महेशविक्रम शाहले भन्नुभयो, ‘पसल भित्र गएको ९ मिनेटपछि पसलको पश्चिमतर्फ करिब १२ मिटरको दूरीमा जैशी पल्टिएको अवस्थामा देखिएका छन् । हामीले प्रारम्भिक अनुसन्धानबाट बिष्ट परिवारबाटै हत्या भएको आंशका गरेका छौँ । उनीहरुलाई पक्राउ गरेर वृस्तृत अनुसन्धान सुरु गरिसकेका छौँ ।’

आचार्य पहिले पनि पटक पटक उक्त पसलमा जाने गरेको र त्यस दिन पनि पसलमा गएको बुद्धपथ आसपासका नजिकका व्यक्तिहरुले देखेको प्रहरीले बताएको छ । प्रहरीले वैज्ञानिक परीक्षण पोलिग्राफबाट पनि अनुसन्धान गर्दा बिष्ट परिवारले नै घटना घटाएको हुनसक्ने देखिएको उहाँले बताउनुभयो ।

 घटना घटेको झण्डै तीन महिना पुग्दा पनि दोषी पत्ता नलगाएको भन्दै असन्तुष्टी जनाउँदै आएका थिए ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया