६४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्ने लक्ष्यका साथ स्वीट्जरल्याण्ड

 असार १९, २०७५ मंगलबार १४:५६:२५ | उज्यालो सहकर्मी

फुटबलको वर्तमान परिप्रेक्षमा स्वीट्जरल्याण्ड बलियो टोली होइन । तर, उसको आफ्नै विरासत छ । सन् १९२४ को ओलम्पिक उपविजेता स्वीट्जरल्याण्डको विश्वकप रेकर्ड भने राम्रो रहन सकेन । 

सन् १९३४, १९३८ र आफैंले आयोजना गरेको सन् १९५४ को विश्वकपमा उसले क्वार्टरफाइनलमा मात्र पुग्न सकेको थियो । 

त्यही स्वीट्जरल्याण्ड ६४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्ने लक्ष्यसहित पूर्व उपविजेता स्वीडेनसँग रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा उत्रँदैछ ।
 
सन् १९५८ को उपविजेता तथा सन् १९९४ मा तेस्रो भएको स्वीडेनमा नाम चलेका स्टार खेलाडीहरु छैनन् । तर, उसको एकीकृत टिम गेमले समूह एफमा जर्मनीलाई पछि पार्दै उसले समूह विजेताको ताज पाएको थियो । 

समूह चरणमा मेक्सिकोविरुद्धको अन्तिम खेल उसका लागि अविष्मरणीय रह्यो ।
 
स्वीस स्ट्राइकर ब्रील एम्बोलोले अपेक्षा राखेका छन् कि सेन्ट पिटर्सवर्गमा स्वीडेनलाई हराएर विश्वकपको क्वार्टरफाइनलमा पुग्ने सपना साकार पार्न सकियोस् ।
 

एम्बोलो समूह इको अन्तिम खेलमा कोष्टारिकाविरुद्ध २–२ को बराबरी भएलगत्तै आफ्नी नवजात छोरी भेट्न स्वीट्जरल्याण्ड पुगेका थिए । 

उनकी श्रीमतीले गएको बिहीबार छोरीलाई जन्म दिएकी थिइन् ।
 
‘यो एकदमै सही समय हो ।’ जर्मन क्लब शाल्केका युवा स्टार एम्बोलोले भने, ‘म सिधै एयरपोर्टबाट अस्पताल पुगेँ र ठीक समयमा पुगेँ ।’
 
‘म धेरै खुसी छु किनभने नालियाको जन्म मेरो जीवनको सबैभन्दा खुसीको क्षण हो ।’
 
‘अब म आशा राख्छु कि हामी छिट्टै स्वीट्जरल्याण्ड फर्कनेवाला छैनौं, हामी रुसमा केहि हासिल गर्न चाहन्छौं ।’
 
एम्बोलोले रुसमा स्वीट्जल्याण्डका लागि दुई खेल सब्स्टिच्युटका रुपमा खेले भने एक खेलमा प्लेइङ सेटमा अटाए । तर, प्रशिक्षक भ्लादिमिर पेटकोभिचका लागि सेन्ट्रल फरवार्डको रुपमा एम्बोलो उत्तम बिकल्पको रुपमा देखिएका छन् । 

स्ट्राइकरहरु ह्यारिस सेफेरोभिक, मारियो गाभ्रानोभिक दुवै रुसमा आफूलाई प्रमाणित गर्न असफल रहे ।
 
‘२१ वर्षीय एम्बोलोले भने, ‘स्वीडेन एक बलियो टिम हो । तर, हामी राम्रोसँग तयार छौैं, हामी क्वार्टरफाइनलमा पुग्नका लागि जे गर्न पनि तयार छौं ।’
 
‘दुई वर्ष पहिला हामी युरो २०१६ को अन्तिम १६ मा पोल्याण्डसँग हारेका थियौं । त्यहाँबाट हामीले सिकेका छौं । 

तथ्य हो छ कि रुसमा हामी दुई पटक पछि परेको स्थितिबाट माथि उठ्न सफल भएका छौं । हामी देखाउन चाहन्छौं कि हामी अधिक तयार छौं ।’
 
दुई पहेँलो कार्डको प्रतिबन्धका कारण स्वीडेनका मिडफिल्डर सेबास्टियन लार्सन आजको खेलमा हुने छैनन् । यसको अर्थ मिडफिल्डमा गुस्ताव सेभेन्सनले सुरुआत गर्नेछन् । 

यता स्वीट्जरल्याण्डका दुई रक्षात्मक जोडी स्टेफन लिचस्टेनर र फावियन सारले पनि दुई पहेलो कार्डका कारण आजको खेल गुमाउनेछन् ।
 
लिग खेलजस्तो फुटबलको माध्यमबाट मनोरञ्जन दिने समय नकआउट चरणमा हुँदैन ।

स्वीडेनका प्रशिक्षक जेने एण्डरसनले अपेक्षा गरेका छन् कि उनका अग्रपंक्तिले पनि रक्षात्मक फुटबल खेल्नेछन् ।

उनले पत्रकार सम्मेलनमा भनेका छन्, ‘मुख्य कुरा के हो भने मैदानमा रहेका हरेक खेलाडी एक डिफेण्डर हुन् । मार्कोस वर्ग र ओला टोबोनन्ले त्यही अनुसार गरिरहेका छन् पनि ।’

प्लेयर्स टू वाच 

एमिल फोर्सवर्ग, स्वीडेन 

ज्लाटन इब्राहिमोबीचले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि उनको उत्तराधिकारीको रुपमा हेर्न थालिएका क्षमतावान प्लेमेकर हुन् फोर्सवर्ग । 

आरबी लिपजिगका यी स्टार अहिलेसम्म जारी विश्वकपमा स्वीडेनका लागि त्यति प्रभावशाली बन्न सकेका छैनन्, जति उनीबाट अपेक्षा गरिएको छ । 

तर, उनले आफ्नो गुमेको लय खोज्ने यो सबैभन्दा उत्तम अवसर हुनसक्छ । 

जर्दान साकिरी, स्वीट्जरल्याण्ड 

समूह चरणमा सर्वियाविरुद्ध अन्तिम समयमा विजयी गोल गरेपछि भावुक बनेर आलोचित भएका शाकिरी रुसमा शानदार खेलिरहेका छन् । 

आफ्नो दिन चलेको बेलामा विष्फोटक गेम चेञ्जरको रुपमा रहने साकिरीबाट स्वीट्जरल्याण्डले आज त्यस्तै अपेक्षा गरेको छ । 

म्याच फ्याक्ट्स 

– स्वीट्जरल्याण्डले विश्वकपमा गरेका पछिल्ला १४ मध्ये ११ गोल दोस्रो हाफमा सम्भव भएको छ । यही विश्वकपमा पनि ५ मध्ये ४ गोल स्वीट्जरल्याण्डले दोस्रो हाफमा गरेको थियो ।
 
– जारी विश्वकपमा स्वीडेनका लागि इमिल फोर्सवर्गले २१ र मार्कोस वर्गले ३७ शट प्रहार गरेका छन् । आश्चर्यजनक रुपमा दुवै खेलाडी अहिलेसम्म गोलविहीन छन् ।
 
– स्वीट्जरल्याण्ड सन् १९५४ पछि विश्वकपको क्वार्टरफाइनलमा पुग्न सकेको छैन । ठूला प्रतियोगिताको नकआउट चरणमा गोल गर्ने जर्दान साकिरी अहिलेको टिमका एक्ला खेलाडी हुन् ।
 
– स्वीट्जरल्याण्डबिरुद्धको आजको खेल स्वीडेनका लागि विश्वकपको ५०औं खेल हो । मात्र ११ टिमले यो कोशेढुंगा पार गर्न सकेका छन् । तीमध्ये मेक्सिकोले मात्र अहिलेसम्म विश्वकप जित्न सकेको छैन ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया