सुजनको गृहकार्य हेर्ने अभिभावक सञ्चारमन्त्री

 जेठ १२, २०७६ आइतबार ९:१८:१९ | रासस
unn.prixa.net

काभ्रेपलाञ्चोक – सूचना तथा सञ्चार, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एक बालकलाई आँगनदेखि नै डोर्‍याउँदै उनको कोठामा लगेर कापी–किताब माग्नुभयो । बालकले आफ्नो ब्यागमा भएको सबै किताब–कापी क्रमैसँग मन्त्री बाँस्कोटाको हातमा राखिदिए ।

पाँचखाल नगरपालिका–१२ बालुवामा रहेको सुजन दनुवारको घरमा शनिबार अपराह्न पुग्नुभएका मन्त्री बाँस्कोटाले सुजनलाई शुक्रबार दिइएको गृहकार्य सरासर हेर्दै कक्षा १ बाट हासिल गरेको स्थानबारे प्रश्न गर्नुभयो । ‘सेकेण्ड भएँ’ छ वर्षका सुजनले उत्तर फर्काइहाले । सुजनलाई बधाई भन्दै ‘स्कूलले के–के दियो त बाबु तिमीलाई ?” मन्त्री बाँस्कोटाको थप प्रश्नलगत्तै सुजनले भने, “किताब, कापी, पेन्सिल, मोजा, के–के हो, के–के ।”

मन्त्री बाँस्कोटाले २० मिनेटको समय कुराकानी गर्दै सुजनको तीन कापी तथा गणित र अङ्ग्रेजी विषयका दुई प्रयोगात्मक किताब हेर्नुभयो र भन्नुभयो, “राम्रो छ, अझ प्रयास गर्नु, अब कक्षामा पहिलो हुनुपर्छ, म तिम्रो होमवर्क चेक गर्न बेलाबेलामा आउँछु नि !”, मन्त्री बाँस्कोटाको कुरा सुनेर सुजन उत्साहित देखिए ।

सुजनलाई मन्त्री बाँस्कोटाले आउँदो असारताका स्कुलको ‘वर्षे बिदा’ मा काठमाण्डाै आउन भन्नुभयो । सुजनले मधुर बोलीमा ‘हुन्छ’ मात्रै भने । उनका बाबुआमा भने कोठाको ढोकामा उभिएर मन्त्री बाँस्कोटा र सुजनबीचका कुराकानी सुनिरहे ।

मन्त्री बाँस्कोटाले सुजनलाई किताब–कापी झोलामा राख्न आग्रह गर्दै आफू भ्याएसम्म महिना दिनमा भेट्न आउने आश्वासन दिनुभयो । उहाँले भन्नुभयो, “यदि भ्याइनँ भने दुई महीनामा एकचोटी पक्का ।”

मन्त्री बाँस्कोटाले कक्षा १२ सम्मका लागि अभिभावकत्व ग्रहण गरेका सिमान्तकृत दनुवार समुदायका सुजन अहिले स्थानीय आजाद माध्यमिक विद्यालयमा २ कक्षामा पढ्दैछन् । सुजनसँगको भेटघाटपछि मन्त्री बाँस्कोटाले भन्नुभयो, “सुजनले प्रगति गर्दैछ, यसमा म खुशी छु, अन्य दुई बालबालिकाको अवस्था बुझ्न केही दिनपछि उनीहरुको घरमा जान्छु ।” उहाँले सुजनको अभिभावकत्व ग्रहण गरेपछि काभ्रेपलाञ्चोकमा २०७५ सालको भर्ना अभियान सुरु गरिएको थियो ।

मन्त्री बाँस्कोटाले यस वर्ष पनि जिल्लाका थप दुई बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । उहाँले भर्ना अभियानअन्तर्गत गत वैशाखमा पाँचखाल नपा–१ का आमाबाबु नभएका प्रितम तामाङलाई स्थानीय ज्ञानेश्वरी मावि र पाँचखाल नपा–५ का बाबु नभएकी निष्मा सुनारलाई स्थानीय जनउद्धार प्राविमा कक्षा १ मा भर्ना गरी अभिभाकत्व ग्रहण गर्नुभएको हो ।
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया