मनै लोभ्याउने राताम्मे लालीगुराँस, टीएमजेमा पर्यटकको घुईंचो

 जेठ १२, २०७६ आइतबार ९:३८:३८ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा — पूर्वी पहाडी जिल्लाहरु संखुवासभा, तेह्रथुम र ताप्लेजुङको सिमानामा पर्ने तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा यतिबेला मनै लोभ्याउने गरी राताम्मे भएर लालीगुराँस फुलेका छन् ।

वनैभरी लालीगुराँस फुलेपछि आन्तरिक तथा बाह्य पर्यटकको घुईंचो बढेको छ । गुफापोखरीकी स्थानीय हिमा खनालले दैनिक सयदेखि डेढ सयको हाराहारीमा पर्यटकहरु घुमफिर गर्न र गुराँस हेर्न आउने गरेको बताउनुभयो । 

समुद्री सतहदेखि दुई हजार आठ सय २९ मिटरको उचाइमा रहेको गुफापोखरी र आसपासका भौगोलिक सौन्दर्यले भरिपूर्ण बनावट हेर्न नै पर्यटकहरुको ठूलो घुईंचो लाग्ने गरेको छ ।

टीएमजे क्षेत्रमा विशेषगरी मंसिरदेखि माघसम्म हिउँ खेल्न र फागुनदेखि वैशाख, जेठसम्म लालीगुराँस हेर्न पर्यटक आउने गर्छन् । पछिल्लो समय जिल्लाभित्रका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको समूह, विद्यालयहरुबाट शैक्षिक भ्रमण र स्थानीयहरु समेत समूह–समूहमा हेर्न आउने गरेको स्थानीयबासिन्दाको भनाइ छ । त्यसका साथै विराटनगर, धरान, इटहरी र काठमाण्डौदेखि समेत घुमफिर गर्न आउने धेरै हुन्छन् । प्रायः जसो आन्तरिक तथा बाह्य पर्यटकहरु लालीगुराँस हेर्न, फोटो खिच्न, शहरबजारको भीडबाट केही समयलाई ‘फ्रेस’ हुनलाई यहाँ आउने गर्छन् ।

केही दिनअघि मात्रै खाँदबारी–४ सेकाहाबाट एकदिन धाएर शिक्षक र विद्यार्थी लिएर गएका कुनिना बोडिङ्ग स्कूलका सहायक प्रिन्सिपल मनिराज गुरुङले टीएमजे क्षेत्र पुगेपछि लालीगुराँसको संसारमा पुगेजस्तो अनुभूति भएको बताउनुभयो । ‘वर्षमा एकपटक मनको सबै पीडा बिर्सिन भए पनि टीएमजे क्षेत्र जानु पर्ने रहेछ । यहाँ पुगेपछि त्यतिकै मनको आधा पीडा निको हुन्छ’ उहाँले भन्नुभयो, ‘आफ्नै जिल्लाभित्र भएर पनि पहिलो पटक टीएमजे क्षेत्र पुगेको हो ।’

सदरमुकाम खाँदबारीबाट साथीहरुसँग मोटरसाइकलमा टीएमजे क्षेत्र घुमेर फर्किएका सलबहादुर गुरुङले गुराँस हेर्नहरुको घुईंचो देखेर आफू छक्क परेको बताउनुभयो । उहाँले बनै राताम्मे लालीगुराँसले जोकोहीको मन लोभ्याउने बताउनुभयो ।

पछिल्लो समयमा गुफापोखरीमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई व्यवस्थित गर्न तीनजुरे–मिल्के—जलजले (टीएमजे) पर्यटन समिति गठन गरेर विभिन्न गतिबिधि सञ्चालन गरिरहेको समितिका अध्यक्ष सन्तोष लिम्बुले बताउनुभयो । उहाँले हिउँदको समयमा पर्यटकहरु धेरै नै भीड लाग्ने भएकाले होटल लजहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सचेतनामुलक कार्यक्रम र अभिमुखीकरण गर्ने गरेको बताउनुभयो ।

‘टीएमजे क्षेत्रको विकासका लागि गुराँस बनको संरक्षण, पर्यटन सूचना केन्द्र सञ्चालन, जातीय, भाषा, संस्कृति सम्बन्धी संग्रहालय लगायतका विभिन्न सामग्रीहरु राखिएको छ’ अध्यक्ष लिम्बुले भन्नुभयो—‘पर्यटकहरुको व्यवस्थापन गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउन हामी प्रयासरत छांै ।’

अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष लालीगुराँस धेरै फुलेको गुफापोखरीका स्थानीयबासिन्दाले बताएका छन् ।    गुफापोखरीमा जम्मा २० घर छन् । त्यसमध्ये पनि व्यवस्थित रुपमा चलेका होटल लज भने आधा दर्जन जति मात्रै छन् । त्यसै पनि गुफापोखरीमा रात बास बस्ने गरी जानलाई अग्रिम होटल बुकिङ्ग गर्ने गर्नुपर्छ । नत्र होटल पाउन मुश्किल पर्छ । चौकीमंगलबारेमा थोरै मात्रामा होटल व्यवसाय सञ्चालनमा रहे पनि धेरैको रोजाई गुफापोखरी हुने गर्दछ । त्यसैले चौकीमंगलबारे भन्दा पनि गुफापोखरीमा नै पर्यटकहरुको चहलपहल बढी हुने गर्दछ । 

टीएमजे क्षेत्रको मुख्य आकर्षण

तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्र तीन जिल्ला संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा गरी जम्मा ५ सय ८५ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । नेपाल सरकारले २०५५ सालमा यस क्षेत्रलाई राष्टिय गुराँस संरक्षित क्षेत्रको रुपमा घोषणा गरेको हो । 

पर्यटकीय क्षेत्र तीनजुरे–मिल्के–जलजले क्षेत्रको मुख्य आकर्षण भनेको विश्वमा पाइने ३२ प्रजातिका लालीगुराँसमध्ये २८ प्रजातिका लालीगुराँस एकै ठाउँमा हेर्न पाइनु हो । टीएमजे क्षेत्र पुगेपछि विभिन्न जातका रंगीबिरंगी लालीगुराँस हेर्दा–हेर्दा नै पर्यटकहरु लठ्ठ हुने गर्दछन् । त्यसपछि उच्च हिमाली क्षेत्रमा गुफापोखरी, मेन्छायम डाँडा, सनराइज हेर्न, भीमसेनले बोकेको ढुङ्गा, रडगार्डेन, कञ्चनजंघा लगायतका हिमश्रृङखला नजिकै देखिने, तमोर नदीको र्‍याफटिङ्ग सजिलै देख्न सकिने, सानो पाथीभराको मन्दिर पनि यहाँको आकर्षण हो ।

त्यसपछि यहाँको भौगोलिक बनावट, निगालोद्धारा निर्माण गरिएको चित्राले छाएको परम्परागत घर तथा घरका छानो, स्थानीय जातका खानेकुरा तथा परिकारहरु, उच्च हिमाली क्षेत्रको रहनसहन र बसोबासले पनि पर्यटकहरुलाई आकर्षण गर्दछ । 
 
कसरी पुग्ने टीएमजे क्षेत्र ?

पछिल्लो समय कच्ची सडकले टीएमजे क्षेत्र छोएकाले पर्यटकहरु झन् बढेका छन् । विराटनगरबाट धरान–धनकुटा–हिले–बसन्तपुर–टुटेदेउरालीदेखि चौकीमंगलबारे हुँदै गुफापोखरीसम्म गाडीमा पुग्न सकिन्छ । धरानबाट टुटेदेउरालीसम्मको सडक कालोपत्रे छ भने त्यहाँदेखि टीएमजे क्षेत्रको प्रवेशपछि कच्ची सडकको यात्रा गर्नुपर्छ । अहिले गुफापोखरी र चौकीमंगलबारेसम्म गाडीमा पुग्न सकिन्छ । 

सदरमुकाम खाँदबारी र तुम्लिङटार एयरपोर्टदेखि चैनपुर–मादी हुँदै गुफापोखरी पुग्न सकिन्छ भने अर्को बाटो चैनपुर—माम्लिङ—मुडेशनिश्चरेदेखि टुटेदेउराली हुँदै पनि टीएमजे क्षेत्र पुग्न सकिन्छ । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया