रेडक्रसको आपतलीन कार्यसञ्चालन केन्द्र सक्रिय

 असार १९, २०७५ मंगलबार १८:४४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – मनसुन सक्रिय भएसँगै वर्षा बढी भएकाले बाढी पहिरोको जोखिमसमेत बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटीले आजदेखि आपतकालीन कार्यसञ्चालन केन्द्र (ERO) लाई सक्रिय बनाएको छ । 

रेडक्रसले बाढी, पहिरो प्रभावितहरुलाई आपतकालीन आवास, स्वास्थ्य सहयोग र सरसफाईको क्षेत्रमा सहयोग गर्ने गरी केन्द्रले काम गर्ने छ ।

नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष देवेन्द्रबहादुर प्रधानले आपतकालीन केन्द्रको पहिलो बैठकलाई आज सम्बोधन गर्दै भन्नुभयो - रेडक्रसको संस्थागत प्रणाली अनुरुप नै हामी अत्यावश्यक मानवीय सेवाको लागि तयारी गरिसकेका  छौँ । 

योजना अनुसार सातवटै प्रदेशबाट दैनिक अवस्थाको प्रतिवेदन लिने, तत्काल अवस्था जाँच गर्ने र आवश्यक मानवीय सहयोग पुर्याउन राहत सामग्री सहित स्वयंसेवक परिचालन हुने व्यवस्था सो केन्द्रले गर्ने छ । आवास, स्वास्थ्य, सरसफाई प्राथमिक उपचार, बन्दोवस्ती, स्वयंसेवक परिचालन, दैनिक अपडेट, सूचना तथा सञ्चार, अन्तर्राष्ट्रिय सहयोग, समन्वय, अनुगमन जस्ता विभिन्न १९ वटा कार्यसमूह आजैदेखि सक्रिय भएका हुन् ।

सोसाइटीले बाढी, पहिरो प्रभावित परिवारलाई तत्काल सहयोग पुर्याउन १० हजार सेट सामग्री विभिन्न गोदामघरहरुमा तयारी अवस्थामा राखेको छ । त्यस्तै आपतकालीन आवासको लागि ६ सय सेट सामग्री जोहो गरेको छ ।  

यसै क्रममा नेपाल रेडक्रसले २१ हजार परिवारको लागि सहयोग गर्ने गरी आपतकालीन योजना सार्वजनिक गरेको छ । नेपाल रेडक्रसका कामु कार्यकारी निर्देशक इन्द्रबहादुर केसीले भन्नुभयो,  '१० हजार परिवारको लागि आफ्नै स्रोतबाट र बाँकी ११ हजार परिवारको लागि रेडक्रस अभियान लगायत सहयोगी संस्थाहरुको सहयोग जुटाइने छ ।'

बाढी, पहिरो तथा महामारी जस्ता समस्याबाट हुन सक्ने क्षतिलाई  न्यूनिकरण र तत्काल सहयोगको लागि नेपाल रेडक्रस सोसाइटीले  सबै जिल्ला शाखाहरुलाई पनि तयारी अवस्थामा रहन अनुरोध गरिसकेको छ । 

केही दिनदेखिको निरन्तर वर्षाका कारण झापा जिल्लामा केही बस्तीहरु डुबानमा परेको र अवस्थालाई सम्बोधन गर्न विभिन्न क्षेत्रमा स्वयंसेवकहरुलाई कार्यविभाजन गरी सचेत अवस्थामा राखिएको सोसाइटी झापाका सभापति लोकराज ढकालले बताउनुभयो । 

सिरहा रेडक्रसका सभापति राजदेव यादवले जिल्लाको प्रतिकार्य योजना निर्माण गरिएको र सबै सरोकारवाला निकायले समन्वयमा काम गरिरहेको जानकारी दिनुभयो । तत्काल सहयोगको आवश्यकता परेमा वा यसवारे जानकारी लिन परेमा नि:शुल्क टेलिफोन ११३० मा फोन गर्न सकिने व्यवस्था पनि मिलाइएको नेपाल रेडक्रस सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले बताउनुभयो । 

 

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया