राजनीति नजानेका राहुल गान्धी, नेपालबाट केही सिक्नै सकेनन्

 जेठ १२, २०७६ आइतबार १६:४४:४२ | जानुका दुवाडी
unn.prixa.net

हालसालै भारतमा के भयो भनेर यहाँ उल्लेख गर्नै पर्दैन । भारतमा लोकसभा चुनाव सम्पन्न भयो । नरेन्द्र मोदीको पार्टी भाजपाले बहुमतले विजय प्राप्त गर्यो । मोदी दोस्रो चोटी भारतको प्रधानमन्त्रीको रुपमा सपथ खाँदैछन् । 

सन् २०१४ को चुनावपछि प्रतिपक्षको मोर्चा सम्हालेको कांग्रेस २०१९ मा पनि पुरानै मोर्चामा सीमित भयो । त्यसमा थोरै पनि तंग्रिने मौका पाएन भन्ने कुरा उल्लेख गरेर यहाँ समय बर्बाद नगरौं । किनकी यो विषयमा प्रायः सबै नेपालीलाई यो भन्दा पनि गहिरो जानकारी होला ।

यदि सामाजिक सञ्जालको पहुँचबाट टाढा रहेका र सञ्चारमाध्यममा पहुँच नभएका कोही बचे खुचेका नेपाली भए पनि मोदीको जितको खुशीमा वीरगञ्जमा गरिएको दीप प्रज्वलन, निकालिएको जुलुस र चोकचोक र गल्ली गल्लीमा भइरहेको खासखास–खुसखुसबाट थाहा पाइसके होलान् । 

यसो हिसाब गर्दा बुझ्न सकिन्छ यो विषय थाहा नपाउने नेपालमा अब बाँकी कोही नहोलान् सायदै । यसो भन्दा लाग्न सक्छ नेपालमा नरेन्द्र मोदीका समर्थक मात्रै रहेछन त ? पक्कै होइन । मोदीका मात्रै होइन, समर्थक कांग्रेस अध्यक्ष राहुल गान्धीदेखि युवा कम्युनिष्ट नेता कन्हैया कुमारसम्मका पनि छन् । एउटाको समर्थक र अर्काको विरोधी हुनुको नाताले समर्थन र विरोधमा फेसबुकमै भए पनि अफ्नो मत जाहेर गर्न समय निकाल्न हामी नेपाली कहिल्यै कञ्जुस्याईं गर्दैनौ र यो विषयमा पनि गरेनौं । 

यसबाहेक ‘फलानाले यसो गर्नुपर्थ्याे’ र ‘यसो गर्नु हुन्नथ्यो’ भन्ने प्रकृतिका सल्लाह दिनु पनि त हाम्रो ‘नैसर्गिक अधिकार’भित्रै पर्दछ ।  दोस्रो पटकसमेत भारी बहुमतले चुनाव जितेका नरेन्द्र मोदीलाई यसो गर्या भए हुन्थ्यो भन्न त अहिले त्यति उपयुक्त नहोला । तर कांग्रेस अध्यक्ष राहुल गान्धीप्रति भने केही गुनासोहरु पक्कै छन । 
राहुल गान्धीले नेपालको राजनीतिबाट सिक्न सकेनन्

लोकतन्त्रमा चुनाव जित्नु वा हार्नु ठूलो कुरा होइन । जितको कारण नखोजे पनि नजित्नुको समीक्षा भने गर्नै पर्छ । राहुल गान्धीले चुनावको तयारी कसरी गर्ने भन्ने कुरामै ढंग पुर्याएनन् भन्ने तर्क पनि बजारमा सुनिन सक्छ । 

सबैभन्दा ठूलो कुरा त उनले नेपालको राजनीतिबाट केही सिक्नुपथ्र्यो सिक्न सकेनन् । राहुल अस्तिताका मात्रै नेपाल त आए तर यहाँका राजनीतिक पार्टीबाट चुनाव कसरी जित्नेबारे सल्लाह नगरी फर्किए ।  उनलाई बीजेपीलाई टक्कर दिनुथियो कि ‘म पनि मन्दिर जान्छु ।’ त्यसैले उनी यतैबाट मानसरोवर गए अनि त्यतैबाट भारत फर्किए । तर नेपाली राजनीतिक पार्टीहरुबाट निर्वाचनमा कसरी जित्ने र हारिहाले कसरी चमत्कार देखाउने भन्नेबारे ज्ञान लिन सकेनन् ।

ज्ञान लिएको भए पो थाहा हुन्थ्यो घोषणापत्रमा गरिबी, सरसफाइ, किसानलाई मलखाद पुर्याउने, सार्कलाई ब्यूँताउनेजस्ता पत्याउने र जसले पनि गर्न सम्भव कुरा लेखेर चुनाव जित्न सकिँदैन । 

चुनाव जित्न त पानी नै नभएको ठाउँमा पानीजहाज ल्याउने, एक किलो चामल र एक सिलिण्डर ग्यास पाउन सीडीओको तोक चाहिने ठाउँमा चुल्हाचुल्हामा ग्याँस पुर्याउने, गाउँको इनारदेखि समुद्रको किनारसम्म फ्रि वाइफाइ जोडिदिने, गाडीको तस्बिर नै नदेखेको बस्तीमा रेल गुडाउने र एक वर्षमै विकास गरेर संसारको सातो उडाउने जस्ता कुराहरु लेख्नुपर्छ र पो त्यो घोषणा पत्र हुन्छ र चुनाव जितिन्छ । 

राहुल गान्धीले चुनावी घोषणापत्र त कमजोर बनाए बनाए, भाषण पनि  खासै गतिलो दिन सकेनन् । भारतजस्तो बलियो अर्थतन्त्र भएको देशमा अति गरिबलाई मात्र मासिक १२ हजार बेरोजगार भत्ता दिन्छु भनेर कसैले पत्याउँछ ? हाम्रोमा जस्तो जुन समाज, वर्ग र क्षेत्रमा गयो त्यसैलाई भत्ता दिने घोषणा पो गर्नुपर्छ त । जस्तो युवा भत्ता, बेरोजगार भत्ता, किशोर भत्ता, सन्यासी भत्ता, महिला भत्ता, अधबैंसे भत्ता, विद्यार्थी भत्ता आदि इत्यादि । फेरि घोषणा गरेको सबै पुर्याउनै पर्छ भन्ने पनि त छैन नि ।

यति भन्न पनि डराएपछि कसरी जितिन्छ चुनाव ? चुनावको प्रचार त जसो गरे गरे, त्यसपछिको लागि पनि उनको खासै तयारी देखिएन । पार्टीका कार्यकर्ता पनि खासै चलाख, बलिया र जाँगरिला रहेनछन् । मतगणना स्थलमा पनि प्रस्तुति गतिलो रहेनछ । हार्न लाग्दा न त मतगणनास्थलबाटै प्रतिनिधि बाहिरिएको समाचार आयो, न मतपत्र नै च्यात्न सके । जाबो मतपत्र च्यात्न नसक्ने र पार्टीको लागि अलिकति होहल्लासम्म गर्न नसक्ने कार्यकर्ता पालेर कसरी चुनाव जित्नु ? 

चुनाव हारेपछि पनि सुरुक्क हार स्वीकार गरे । कम्तीमा चुनावमा धाँधली भयो । हामी यो नतिजा मान्दैनौँसम्म त भन्नु सक्नुपर्दछ । बा केही भइ पो हाल्थ्यो की ? केही नभए पनि कार्यकर्ताहरुलाई दुई चार दिन उफ्रिन त दिशानिर्देश हुन्थ्यो ।  उनले नेपाली राजनीतिबाट पटक्कै केही सिक्न सकेका रहेनछन् भन्ने कुरा त तब प्रमाणित भयो, जब उनले हारको जिम्मा लिँदै अध्यक्षबाट दिन्छु पनि भने । 

बल्लतल्ल पाको अध्यक्ष यति सहजै छोड्नुहुन्छ ? हारको जिम्मा अध्यक्षले लिनुपर्छ भन्ने कहाँ छ  र ? पार्टीले नराम्रो गरेर चुनाव हारेको पनि होइन । हारेको त अर्को पार्टीले राम्रो गरेर हो । हारको समीक्षा गर्दा यति त भन्नुपर्ने । राहुल गान्धीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट पनि केही त सिक्नुपर्ने । सभापति देउवाले अस्ति भखैर मात्रै आफूहरुको हारको खुलासा गर्नुभयो, ‘दुई कम्युनिष्ट पार्टी मिल्दा कांग्रेस हारेको हो, मलाई मात्रै दोष दिन मिल्दैन ।’ हुन त विचरा पार्टीमा गुट बनाउन नसकेपछि के गरुन् । गुट नभएपछि पार्टीको विधान मान्नै पर्यो । समयमै छिमेकबाट गुट बनाउने तालिम नलिएपछि यस्तै हुन्छ । 

यो बाहेक पनि उनले नेपाली राजनीतिबाट सिक्नुपर्ने कुरा धेरै छन्, जुन भोलिको दिनमा पनि काम लाग्न सक्छन् । विपक्षी भएपछि संसदमा हंगामा, कुर्सी तोडफोड गर्ने, कुनै समुदायलाई उचालेर आन्दोलन गर्न उक्साउने, जस्ता राजनीतिक उपयोगी सीपहरु  सिक्ने मौका नेपाल बाहेक अन्त कमै पाइन सक्छ । त्यसैले समयमै सिट सुनिश्चित गरुन् र आगामी राजनीतिको लागि केही सिकून् । 
 

अन्तिम अपडेट: भदौ १, २०७६

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया