सिक्किमका नयाँ मुख्यमन्त्रीको घोषणा : शनिबार सरकारी बिदा, सबै मन्त्रीले स्कोर्पियो चढ्ने

 जेठ १३, २०७६ सोमबार २०:५३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) का अध्यक्ष पीएस गोलेले सोमबार सिक्किमको नयाँ मुख्यमन्त्रीका रुपमा सपथ ग्रहण गरेका छन् 

सिक्किमको राजधानी गान्तोकमा रहेको पाल्जोर स्टेडियमा भएको एक समारोहका बीच सिक्किमका राज्यपाल गंगा प्रसादले गोलेलाई मुख्यमन्त्रीको सपथ खुवाएका हुन् । 

सपथ ग्रहणपछि गान्तोकमा रहेको टाशिलिङ सचिवालयमा मुख्यमन्त्रीको कार्यभार सम्हाल्दै मुख्यमन्त्री गोलेले अबदेखि सिक्किममा शनिबार सरकारी बिदा हुने बताएका छन् । त्यस्तै नयाँ मन्त्रिमण्डलले मितव्ययिता अपनाउने पनि उनले घोषणा गरेका छन् । मुख्यमन्त्रीदेखि क्याबिनेटका सबै सदस्यले स्कोर्पियो चढ्ने पनि मुख्यमन्त्री गोलेले बताएका छन् । आफूहरुले खर्च घटाएर सिक्किमेली नागरिकलाई विभिन्न योजनाहरु उपलब्ध गराउने पनि मुख्यमन्त्री गोलेले बताएका छन् । 

मुख्यमन्त्री गोलेले आफूहरु सुविधाभोगी नहुने स्पष्ट पार्दै भने, ‘हामीले आरामदायी फर्चुनर गाडी प्रयोग गर्दैनौँ । अहिले केही गाडी नपुग भएकाले फर्चुनर प्रयोग गरिए पनि एक दई दिनमै हामी सबैले स्कोर्पियो चढ्छौँ ।’ साथै उनले कुनै पनि मन्त्री पाइलट स्कर्टिङमा नहिँड्ने स्पष्ट पारे । आफूहरुले गाडीमा रातो बत्ती नबाल्ने पनि उनले बताए । 

सिक्किममा २५ वर्षदेखि एकछत्र सरकार चलाइरहेका पवन चाम्लिङको सत्ता यस पटक पल्टिएको छ । 

लोकसभा चुनावसँगै भएको सिक्किम विधानसभा चुनावमा चाम्लिङ नेतृत्वको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्टलाई सिक्किम क्रान्तिकारी मोर्चाले २५ वर्षपछि सत्ताबाट बहिर्गमन गराएको हो । 

सिक्किममा रहेका ३२ वटा विधानसभा क्षेत्रमध्ये एसकेएमले १७ सिटमा जित हात पार्दै सरकार बनाउने भएको छ भने एसडीएफ १५ सिटका साथ २५ वर्षपछि विपक्षमा बस्ने पक्का भएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया