सरकारी कागजात किर्ते गरेर जग्गा पास गर्न खोज्ने एक जना पक्राउ

 जेठ १६, २०७६ बिहिबार १९:११:५६ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – सुनकोशी गाउँपालिका-९, ककनीका पञ्चबहादुर तामाङ सरकारी कागजात किर्ते गरेर जग्गा पास गर्ने क्रममा पक्राउ परेका छन् । 

उनी वडा कार्यालयको छाप, लेटरप्याड, मालपोत रसिद, सर्जमिन मुचुल्काका साथ कागजात किर्ते गरेर मालपोत कार्यालयमा पेश गर्ने क्रममा पक्राउ परेका हुन् । प्रहरीले तामाङलाई वडा कार्यालयको उजुरीका आधारमा पक्राउ गरेको हो । 

आफ्नै बाजेका नाममा रहेको जग्गा आफ्नो नाममा नामसारी गर्न किर्ते गरेर कागजात पेश गरेको पाइएकाले तामाङलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको वडाध्यक्ष झनककुमार कार्कीले बताउनुभयो । वडा कार्यालयका काजगजात किर्ते गर्नेमाथि अनुसन्धान गर्न प्रहरीमा लिखित उजुरी दिएकोसमेत उहाँले बताउनुभयो । 

प्रहरीले तामाङलाई बुधबार पक्राउ गरेर हिरासतमा राखेको छ । उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो । किर्ते गर्ने काममा संलग्नहरुबारे अनुसन्धान भइरहेको श्रेष्ठको भनाइ छ । 

तामाङले सबै किर्ते आफूले गरेको प्रहरीलाई बताएका छन् । आफ्नै बाजेको जग्गा नामसारी गर्न किर्ते गर्ने कुरा विश्वास गर्न नसकिने भएकाले यसमा अन्य व्यक्ति पनि संलग्न भएको आशंका गरिएको छ । 

सर्जमिन मुचुल्का, सिफारिसलगायतमा कार्यवाहक वडाध्यक्ष भनेर धनबहादुर तामाङ र टंकबहादुर कट्वालको नाम उल्लेख गरिएको छ । तामाङ र कट्वाल दुवै उक्त वडाका वडा सदस्य हुन् । 

उनीहरुले आफ्नो नाममा किर्ते भएको भन्दै वडा कार्यालयमा उजुरी समेत गरेका छन् । घटनाबारे गम्भीर अनुसन्धान भइरहेको जनाइएको छ ।  
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया