कुलमानको सुधार अभियान: एकैदिन तीन वटा सब-स्टेसन सञ्चालन

 जेठ २१, २०७६ मंगलबार १६:४६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल विद्युत प्राधिकरणले एकै दिन तीन वटा सब-स्टेशन सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणले तीन वटा सब-स्टेसनको निर्माण सम्पन्न गरी सोमबारबाट सञ्चालनमा ल्याएको छ । सप्तरीको बोदेबर्साइन र गोरखाको पालुङटारमा निर्माण भएका ३३-११ केभी सब-स्टेसनको परीक्षण गरी सञ्चालन (चार्ज)मा ल्याइएको हो । सप्तरीको दक्षिण–पश्चिम र गोरखाको पश्चिम क्षेत्रको विद्युत आपूर्ति सुधार गर्न क्रमश: बोदेबर्साइन र पालुङटार सब-स्टेसन निर्माण गरिएको हो । 

नेपाल विद्युत प्राधिकरणले  विद्युतको पहुँच बढाउन, गुणस्तरीय र विश्वसनिय विद्युत् आपूर्तिका लागि देशैभर अभियानकै रुपमा  निर्माण गरिरहेको सबस्टेसनहरुको काम धमाधम सकिन थालेको छ ।

बाँकेको धामपुरमा निर्माण भएको ३३-११ केभी सब-स्टेशनको निर्माण तथा  परीक्षण सम्पन्न भएर चार्ज हुने अवस्थामा पुगेको छ । प्राधिकरणले २०६७ को जेठबाट धामपुर सब-स्टेशन निर्माण सुरु गरेको थियो ।

सबस्टेसन सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत आपूर्ति व्यवस्थित,भरपर्दो तथा प्रभावकारी हुने, प्राविधिक चुहावटमा कमी आउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । 

‘ठेक्कापट्टा लगाएर ठेकेदारको कमजोर कार्यसम्पादन लगायतका समस्या झेल्दै १०-११ वर्षदेखि अलपत्र पारिएका वितरण सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएका छौंँ,’ घिसिङले भन्नुभयो, ‘मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छौं ।’  

नेपाल सरकार, प्राधिकरणको लागनी र दातृ निकाय एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋणमा वितरण सब-स्टेशनको निर्माण भइरहेको छ । एडीबीको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाअन्तर्गत  नारायणी नदी पूर्व १३ र पश्चिम १२ गरी २५ वटा वितरण सबस्टेसनको निर्माण भइरहेको छ । यसमध्ये झापाको घैलाडुब्बा, कैलालीको हसुलिया लगायतका सब-स्टेशन सञ्चालनमा आइसकेका छन् । 

त्यसमध्ये चालु आर्थिक वर्षको बाँकी अवधिमा निर्माणमा कुनै अवरोध नभएमा  ५ वटा सब-स्टेशनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने आयोजना प्रमुख बोधराज ढकालले बताउनुभयाे । 

‘सप्तरीको दक्षिण–पश्चिम क्षेत्रका उपभोक्ताले कम भोल्टेजका कारण पानी तान्ने मोटर चलाउन नपाउने, बत्ती नबल्ने लगायतका समस्या झेल्दै आएका रहेछन्, सोमबारबाट बोदेबर्साइन सब-स्टेशनबाट विद्युत आपूर्ति हुन थालेपछि सबै समस्या समधान भयो,उपभोक्ताहरु खुसियाली मनाउन सब-स्टेशनमै आए, यस्तै खुसियाली सबै ठाउँमा देखिएको छ’ ढकालले  भन्नुभयो ।

नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण सम्पन्न भएको धामपुर सब-स्टेशनबाट बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका करिब ९५ हजार जनता लभान्वित हुने छन् । सब-स्टेशनबाट ११ केभीका ४ वटा फिडर निकालेर दुई गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा विद्युतीकरण गरिने प्राधिकरण नेपालगञ्ज क्षेत्रीय कार्यालय प्रमुख मनोज कुमार सिंंहले बताउनुभयो ।

सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सब-स्टेशनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सब-स्टेशन बनाउने लगायतका काम गरिरहेको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया