तालाबन्दी हुँदा तल्लो मोदीखोला जलविद्युत् ठप्प

 जेठ २४, २०७६ शुक्रबार ११:३८:३६ | रासस
unn.prixa.net

पर्वत – परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको यहाँ निर्माणाधीन २० मेघावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोनामा कार्यरत कामदार र कर्मचारीले तालाबन्दी गरेका छन् ।

निर्माणकार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने लगायतका माग राखेर कुश्मा नगरपालिका–७ स्थित कार्यालयमा तालाबन्दी गरेका छन् भने विद्युत्गृह, हेडबक्स र सुरुङमा भइरहेको निर्माणकार्यसमेत तीन दिनदेखि बन्द गराएका छन् । आयोजनाले असार पहिलो साता परीक्षण उत्पादन थाल्ने तयारी गरेको थियो ।

निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरेको आयोजनामा कार्यरत कामदारले स्वतः स्थायी गर्नुपर्ने, प्रभावित क्षेत्रका बासिन्दालाई नै  स्थायी रोजगारीको व्यवस्था हुनुपर्ने र विद्युत्गृहलगायतका संरचना निर्माणमा पछिल्लो समय राखिएका कर्मचारी र कामदारलाई स्थायी गर्न नपाउने आयोजनासँग माग राखेका छन् । आयोजनामा कार्यरत ४० कर्मचारीले यही जेठ २० देखि काम बन्द गराएपछि निर्माणकार्य प्रभावित भएको छ ।

“हामी सुरुदेखि निर्माणकार्यमा कार्यरत कर्मचारीलाई थाहै नदिइ बाहिरबाट कर्मचारी राख्ने काम भएको छ”, कर्मचारी सौरभ पौडेलले भन्नुभयो, “हामीलाई स्थायी गर्ने कुरा पटक–पटक झुटो आश्वासन दिएका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको हो ।” कर्मचारीले यसअघि यही जेठको ८ देखि १२ गतेसम्म पनि तालाबन्दी र काम ठप्प पारेका थिए । तर, तालाबन्दीपछि २० गते समस्या समाधान गर्ने सहमति गरे पनि कार्यान्वयन नहुने स्थिति देखएपछि पुनः तालाबन्दी गरेको उहाँले बताउनुभयो ।

आयोजनाले भने कुनै पनि कर्मचारीलाई स्थायी नगरिएको र विद्युत् उत्पादन थालिएपछि प्रक्रिया पूरा गरेर मात्रै स्थायी गर्ने योजना रहेको जनाएको छ । आयोजना प्रमुख पवनकुमार यादवका अनुसार अहिले परीक्षण उत्पादनको तयारीमा रहेका बेला केही दक्ष कर्मचारीलाई सहयोगीका रुपमा राखेर काम गराइएको तर स्थायी गरिएको छैन । “हामीले कसैलाई पनि स्थायी गरेका छैनाैँ”, आयोजना प्रमुख यादवले भन्नुभयो, “विद्युत् उत्पादनपछि नयाँ विज्ञापन गरेर स्थायी गर्ने प्रक्रिया सुरु गर्छाैँ ।” अहिले कार्यरत कर्मचारीलाई नै प्रक्रियामा पनि प्राथमिकता दिने आयोजनाको उद्देश्य रहेको उहाँको भनाइ छ ।

निजी क्षेत्रको मोर्दी इनर्जी लिमिटेडले निर्माण गरिरहेको टनेल परीक्षणका क्रममा पानी चुहिएका कारण मर्मत भइरहेको छ । वैशाखको अन्तिम साता परीक्षणका लागि टनेलमा पानी पठाउँदा धेरै ठाउँबाट चुहिएपछि मर्मतको काम भइरहेको छ । कुश्मा नगरपालिका–७ चुवाको परादीस्थित पावरहाउसदेखि मोदी गाउँपालिकाको पातीचौरसम्म खनिएको चार हजार २०० मिटर लामो टनेलको बीचबीचमा कमजोर भू–भाग भेटिएको थियो ।

तालाबन्दीका कारण मर्मतको काम रोकिएको छ । हेडबक्समा ढोका मर्मत गर्ने र परीक्षण गर्ने काम चलेको थियो भने विद्युत्गृहमा जेनेरेटरलगायतका सामग्री जडान र परीक्षणकै क्रममा थिए । कर्मचारीको आन्दोलनका कारण परीक्षण उत्पादन झन् ढिलाइ भएको आयोजना प्रमुख यादवले बताउनुभयो ।

विसं २०६९ साउनमा निर्माण सुरु गरिएको आयोजनाको उत्पादन लक्ष्य २०७४ असारमा थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरैपटक उत्पादन मिति सारेको थियो । अघिल्लो असार मसान्तभित्र उत्पादन गर्ने भनिए पनि पूर्वाधारतर्फ काम नसकिएको र टनेलभित्र केही समस्या आएका कारण ढिलाइ भएको आयोजनाले जनाएको थियो ।
 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया