११ वर्षदेखि पालमुनी जीवन गुजारा गर्दै विष्ना वादी

 असार २१, २०७५ बिहीबार ७:१३:२१ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – पालको छानो । चाउचाउ, बिस्कुटका कार्टुनहरुले बेरेको भित्ता । बिस्कुटकै कार्टुन बाट बनेको ढोका बझाङको केदारस्यँ गाउँपालिका ८ झोताकी ५६ वर्षीया विष्ना वादी यसरी नै बनेको कटेरोमा बस्दै आउनुभएको वर्षौं भइसक्यो । 

छोराछोरी र आफन्त कोही पनि नभएकी एकल महिला कहाँ गएर बसुन् ? कसैले काम दिए एक छाक खान पाइने र काम नदिए भोकै बस्नुपर्ने उहाँको बाध्यता छ । बर्खामा पानीले भिजेको भुईँमा प्लास्टीकका टुक्राहरु ओछ्याएर बस्नुपर्ने उहाँको बाध्यता छ । 

कति बर्खा आए कति हिउँद गए तर विष्ना वादीको जीवनमा भने कहिल्यै हरियाली छाएन । थलारा गाउँपालिका खोली माइती घर भएकी विष्ना वादीको सानै उमेरमा आमाबुबा बित्नुभयो । अपरिपक्व उमेरमै उनका आफन्तहरुले उनको विवाह बुंगल नगरपालिका पाउटा बसोबास गर्ने टिका बादीसँग गरिदिए । तर उहाँको दूर्भाग्य, विवाह गरेको केही महिनामै श्रीमानको निधन भयो । घरका मान्छेहरुले उनलाई अलच्छिनी भन्दै घरबाट निकालेपछि यो संसारमा विष्नाका आफन्त भन्ने कोही रहेनन् ।

आँखाभरि टिलपिल आँशु पार्दै उहाँले भन्नुभयो, ‘गाउँ गाउँमा सिंह दरबार आए तर मलाई भने कागलाई बेल पाक्यो हर्ष न विस्माद ।’

विष्ना वादीले पराल, चाउचाउ विष्कुटका कार्टूनहरु र प्वालै प्वाल भएको पाल टाँगेर बनाएको झोपडीलाई पक्की घर ठानेर जिविका चलाउँदै आउनु भएको पनि एघार वर्ष भइसक्यो । सम्पत्तीको नाउँमा खाना पकाउनको  लागि गाउँलेहरुले दिएको एक–एक थान बाल्टीन, कटौरा, डेक्ची, पनिउँ र डाडु मात्रै  छन् । काम गर्न खोजे नपाइने र माग्न गाउँतिर जाँदा पनि अलच्छिनी आई भनेर सुनाउने गरेको उहाँ बताउनुहुन्छ ।

अन्न माग्न गाउँगाउँ पग्ने विष्ना धेरैजसो दिन गाली र बेईजती लिएर रित्तो हात त्यही पालको झोपडीमा पुग्नुहुन्छ । आफूसँग सम्पत्तीको नाउँमा केही पनि नहुँदा कति छाक त उहाँ भोकै बस्नुपरेको छ । 

हजारौंले फोटो खिचेर लगेपनि सहयोग गर्न भने कोही आएनन्

उद्धार गर्ने आशा देखाएर  हजारौँले उहाँको र झुपडीको फोटो खिचेर लग्छन् । ‘तपार्इँ जस्ता फोटा खीच्ने धेरै आए । फोटो खिच्दै मेरो दुःखको बारेका सोध्छन् अनि जान्छन् ।’ विष्नाले चित्त दुखाउँदै भन्नुभयो, ‘सक्नुहुन्छ भने मेरो पीडा सरकारका मान्छेलाई भनिदिनु होइन भने फोटो नखिच्नु ।’

अहिले खाई नखाई गरीे जसोतसो गुजारा चलाई रहेको भए पनि बुढेसकालमा काम गर्न नसक्ने अवस्था हुँदा के हुने होला भन्ने चिन्ताले विष्नालाई पिरोली राख्छ ।

प्रत्येक दिन पानी पर्छ, एक ठाँउ टाल्यो अर्को ठाँउबाट पानी आँउछ । पानी परेको दिन त रातभरि सुत्नै पाईँदैन । विष्नासँग ओड्ने ओच्छ्यान पनि छैन । आफूले लगाएको पुरानो कपडा देखाउँदै भन्नुभयो, ‘ यही एक जोर लुगा छ । भिजेको कपडा शरीरमै ओभाना हुन्छ ।’ 

‘मेरो त भाग्य नै यस्तै, काम गर्न खोजे काम पाईँदैन । गाउँमै काम गर्न पनि कसैले दिँदैन । उहाँले आँखाभरी आँशु पार्दै भन्नुभयो, ‘म मरे पनि फाल्ने मान्छे कोही छैन ।’ 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया