अन्तरजातीय विवाह गरेकी प्रमिला: सुत्केरी स्याहार्न काेही आएनन्, सेवा केन्द्रमा शरण

 जेठ ३१, २०७६ शुक्रबार २०:१५:५४ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - १६ वर्षको कलिलो उमरेमै अन्तरजातीय विवाह गरेकी प्रमिला सिवा अहिले १८ वर्ष पुगिन् । पाँचथरको याङवरक गाउँपालिका–४, थर्पुमा रहेकाे वरडाँडाकी प्रमिला सिवाले स्कुल पढ्दा–पढ्दै  ताप्लेजुङको सिदिङवा गाउँपालिका–४, साप्लाखुका विजय ताम्लिङ (लिम्बू) सँग २०७४ साल असोज महिनामा अन्तरजातीय विवाह गरेकी हुन् ।

विवाहपछि श्रीमान र सासु-ससुरासँगै झापाको काकडिभिट्टामा बस्दै आएकी  प्रमिलाको साथमा अहिले भने श्रीमान् छैनन् । विवाह भएको झण्डै एक वर्षपछि प्रमिला गर्भवती भइन् । त्यति नै खेर श्रीमानले अर्कै केटी लिएर सम्पर्कविहीन भए ।

प्रमिलाले आवश्यक परेकाे बेला श्रीमानको साथ पाइनन् । उल्टै घर परिवार र आफन्तजनबाट अन्तरजातीय विवाह गरेकै कारण दुर्व्यवहार र शारीरिक यातना खेप्नुपर्‍यो ।

गएको असोज महिनादेखि श्रीमान सम्पर्कविहीन भएको प्रमिलाले बताइन् । असोज महिनामा श्रीमान विजयले म विदेश जान्छु, तिमी माइतमा गएर बस्नु भनेपछि प्रमिला माइतमा आएर बस्न थालिन । त्यसपछि विदेश जान्छु भनेर घरबाट निस्केका श्रीमानले कात्तिकमा फोन गरेर ‘म विदेश गएँ, मलाई नखोज्नु’ भनेको प्रमिलाले बताइन् ।

त्यसपछि माइती बस्न थालेकी प्रमिलाले श्रीमानले अर्कै केटी लिएर हिँडेकाे थाहा पाइन् ।  ‘अहिले काठमाण्डाै बस्छ भनेको सुनेको तर काठमाण्डौ कुन ठाँउमा बस्ने, के गर्ने, केही थाहा नभएकाे‘ प्रमिलाले सुनाइन् ।

माइतमा बस्दा प्रमिलालाई आफन्त र छिमेकीले गर्भपतन गर्न सुझाव दिए तर उनले मानिनन् । श्रीमान फर्केर आउने विश्वासमा पेटभित्रको बच्चालाई जन्म दिने निधाे गरिन् । प्रमिलाले गएको मंगलबार बिहान जिल्ला अस्पताल फिदिममा छोरी जन्माइन् । अहिले नवजात शिशु र आमाको स्वास्थ्य सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।

माइतमा  घरमा पनि आर्थिक अवस्था एकदमै नाजुक रहेको साथै आमा दमको रोगी र बुवा सामान्य काममात्र गर्नसक्ने हुनाले गर्भवस्थामा पनि मेलापातको कामदेखि घरका काम सबै गर्नुपर्थ्याे । माइतमा भएका दुई दिदीहरुकाे बिहे भइसकेको छ भने दाजुहरु पनि छुट्टिएर बसेका छन् ।

प्रमिलालाई सुत्केरी गराउन स्थानीय  स्वास्थ्य स्वयंसेविकाले फिदिम ल्याएकी हुन् । सुत्केरीपछि श्रीमानको घर र माइत दुवै पक्षबाट प्रमिलाको हेरचाहका लागि कोही नआएपछि प्रमिला संकटमा परिन् ।

त्यसपछि जिल्लामा रहेका मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, र स्थानीय जनप्रतिनिधिलगायतको सहयोगमा उनलाई अहिले फिदिम नगरपालिका अन्तर्गत सञ्चालित फिदिम–४ मा रहेको सामुदायिक सेवा केन्द्रमा राखिएको छ ।

अल्पकालीन रुपमा आपतमा परेका महिलाहरुलाई सेवा दिने उदेश्यले स्थापना गरिएको सेवा केन्द्रमा उनकाे राम्रै हेरचाह भइरहेको छ ।


 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया