गुठी विधेयकको विरोधमा भएको माइतीघरको प्रदर्शनमा जे देखियो

 असार ४, २०७६ बुधबार १९:३५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - गुठी विधेयकको विरोधमा उत्रिएका काठमाण्डौ उपत्यकाका गुठीयारहरुले तीन जना मन्त्रीको राजीनामा माग गरेका छन् । 

गुठी विधेयक खारेजीको माग गर्दै बुधबार काठमाण्डौको माइतीघर मण्डलामा भएको विशाल प्रदर्शनमा गुठीयार, सम्पदा अभियन्ता र सस्कृतिविद्हरुले मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजीनामाको माग गरेका हुन् । 

प्रदर्शनकारीहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सरकारका प्रवक्त संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्काेटा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको राजीनामा माग गरेका हुन् । 

थापाविरुद्ध गुठी विधेयकको विरोध गर्ने गुठीयार र अभियन्तामाथि दमन गरेको आरोप उनीहरुले लगाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिन गरेको पत्रकार सम्मेलनमा विधेयकलाई लिएर भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरण विथोल्ने कोसिस भएको भनेर गुठीयारहरुको आन्दोलनप्रति टिप्पणी गर्नुभएको थियो । गुठी विधेयक पनि उहाँले नै संसदमा दर्ता गराउनुभएको थियो । 

त्यस्तै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गुठी सामन्तवादको अवशेष भएको भन्दै टिप्पणी गर्नुभएको थियो ।  तीनै जनाको अभिव्यक्तिले गुठीको मर्म र भावनाप्रति चोट पुगेकाले राजीनामा दिनुपर्ने माग प्रदर्शनकारीहरुले गरेका हुन् ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पत्रकार सम्मेलनमा गुठी विधेयकलाई लिएर भ्रम छर्न खोजेको र आन्दोलनमा कस्ता कस्ता व्यक्ति छन् भन्दै गुठीयारहरुको आन्दोलनप्रति नै गर्नुभएको व्यग्य प्रति पनि उनीहरुले विरोध जनाए । 

विधेयक खारेजीको माग गर्दै काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट गुठीयारहरु जुलुससहित माइतीघर पुगेका थिए । प्रदर्शनकारीहरुले विधेयक फिर्ता गरेर मात्रै नहुने भन्दै खारेज गर्नुपर्ने माग अघि सारेका छन् । 

जनआन्दोलन झल्काउने प्रदर्शन

काठमाण्डौमा बुधबार भएको प्रदर्शनले २०६२/०६३ मा भएको जनआन्दोलनको झझल्को दिएको कतिपयले बताएका छन् । काठमाण्डौ उपत्यकाका नेवार समूदाय पनि लामो समयपछि सडकमा उत्रिएका हुन् । 

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिका अध्यक्ष गणपतिलाल श्रेष्ठले आफ्नो संस्कृति, परम्परा, सम्पदा, जात्रा पर्व नै खतरामा परेपछि बाध्य भएर नेवार समुदाय सडकमा उत्रिएको बताउनुभयो । 

उपत्यकाका विभिन्न ठाउँबाट परम्परागत भेषभुषा र नेपाली झण्डा बोकेर प्रदर्शनकारी माइतिघर पुगेका हुन् । प्रदर्शनकारीहरु झाकी प्रदर्शन तथा बाजागाजासहित सडकमा उत्रिएका हुन् । 

पानीको फोहोराले हान्ने प्रहरीलाई खुवाए पानी 

प्रदर्शनमा सहभागीलाई उनीहरुले नै पिउने पानीको व्यवस्था मिलाएका थिए । चर्को गर्मीमा सहभागिलाई सहज होस् भनेर ठाउँठाउँमा पीउने पानीको प्रवन्ध मिलाइएको संघर्ष समितिका अध्यक्ष गणपतिलाल श्रेष्ठले बताउनुभयो । 

प्रदर्शनकारीले सडकमा हिँड्ने बटुवादेखि सुरक्षाका लागि खटिएका प्रहरीलाई पनि पानी खुवाए । प्रदर्शनकारीले तिर्खाका प्रहरीलाई पानी खुवाएर गएको साता प्रहरीले प्रहार गरेको पानीको फोहोराको जवाफ पनि दिने मौका पाए ।  

यस्तै प्रदर्शनमा सहभागी भएका गायक योगेश्वर आमात्यले भने प्रदर्शनकारीलाई नियन्त्रण गर्न बसेका प्रहरीलाई पुष्प गुच्छा बाँडेर उल्टै स्वागत गर्नुभयो ।

आफूहरुले अहिलेसम्म शान्तिपूर्ण आन्दोलनबाट सरकारलाई धर्म संस्कृतिमाथि प्रहार नगर्न सचेत गराउँदै आएको र आगामी दिनमा पनि आफूहरुले गर्ने संघर्ष शान्तिपूर्ण नै रहने पनि उहाँले बताउनुभयो । 

आन्दोलनले माइतीघर मण्डलासहित उपत्यकाका मुख्य सडकहरु प्रायः ठप्प बने पनि कुनै हिंसात्मक घटना भएन । शान्तिपूर्ण आन्दोलनका अगाडी प्रहरी पनि बानेश्वरको निषेधित क्षेत्र खोल्न बाध्य बन्यो ।

अरु बेला बानेश्वरमा रहेको संसदभवन अगाडीहुँदै प्रदर्शन गर्न निषेध थियो । तर आजको प्रदर्शनमा उपत्यकाकावासिन्दा नै उर्लेर सडकमा पुगेकाले निषेधित क्षेत्र खुलाउन स्थानीय प्रशासन बाध्य बनेको हो । 

फोहोर आफैले उठाए 

यस्तै प्रदर्शनका क्रममा भएका फोहोर पनि प्रदर्शनकारीहरु आफैले उठाएर सफाइ गरेका छन् ।

माइतीघर मण्डला र वरपर प्रदर्शनकारीहरुले खाएका खाली पानीका बोत्तल, जुसका डब्बादेखि चुरोटका ठुटा तथा गुट्खा, खैनीका खाली खोलसमेत उनीहरु आफैले उठाएर सफाइ गरे । 

सडकमा खसेका पम्पलेट, प्लेकार्ड तथा साना साना फोहोर टुक्रा पनि उठाएकाले माइतीघर मण्डला चिटिक्क देखिन पुग्यो । संस्कृति र सभ्यताको पहिचान दिन पनि आफूले गरेको फोहोर आफैले उठाएर मण्डला सफा बनाएको सफाइ गर्दै गरेका युवा सुसान श्रेष्ठले बताउनुभयो । 

यसअघिका राजनीतिक दलले गर्ने प्रदर्शनमा जताततै फोहोर पारेर हिँड्ने गरेको देख्नेहरुलाई भने प्रदर्शनकारी आफैले गरेको सफाईप्रति अचम्म मानेर हेरिरहेका थिए ।

 

संसदबाट अझै भएको छैन फिर्ता 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले विधेयक फिर्ता गरेको भनेर पत्रकार सम्मेलन गरेर जानकारी दिएको भए पनि संसदबाट भने अझै फिर्ता भइसकेको छैन । 

राष्ट्रियसभा नियमावली २०७५ अनुसार संसदमा दर्ता भएको विधेयक संसदबाटै हुनुपर्ने उल्लेख छ । नियमावलीको दफा ११६ ले विधेयक पेश गर्नेले विधेयक फिर्ता लिन चाहेमा एक दिन अगावै संसदमा सूचना दिनुपर्ने उल्लेख छ । 

यदि विधेयक संसदीय समितिमा विचाराधीन अवस्थामा पुगेको भए सम्बन्धित समितिले सोही व्यहोराको प्रतिवेदन बैठकमा पेश गरेपछि मात्रै विधेयक फिर्ता हुन सक्छ ।  

प्रतिनिधिसभाको बुधबारको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि संसदमा दर्ता भएको विधेयक संसद चलेको बेला संसदबाटै फिर्ता लिनुपर्ने भए पनि बाहिर बाट फिर्ता लिनु उचित नभएको बताउनुभएको थियो ।  

सभापति देउवाले गुठी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिनु सकारात्मक रहे पनि संसदबाहिरबाट फिर्ता लिनुले संसदीय व्यवस्था प्रति नै प्रश्न उब्जाएको बताउनुभयो । ‘संसद चलेको बेला विधेयक बाहिरबाट फिर्ता लिन मिल्छ ? संसदबाटै फिर्ता लिन पर्ने हो नि,’ उहाँले भन्नुभयो, ‘यो कहाँको संसदीय व्यवस्था हो ?’    

नेपालको संविधानको धारा २९० अनुसार गुठीको मूलभूत मान्यता अनुरुप राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित गर्न भन्दै सरकारले वैशाख १७ गते राष्ट्रियसभामा विधेयक पेस गरेको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया