विप्रेषण आप्रवाह २० प्रतिशतले बढ्यो

 असार ५, २०७६ बिहिबार ७:८:२१ | रासस
unn.prixa.net

काठमा‍ण्डौ – वैदेशिक रोजगारीमा जाने क्रममा कमी देखिए पनि विप्रेषण आप्रवाह भने उल्लेख्य रुपमा वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले वृद्धि भएको उल्लेख छ । 

बैंकका अनुसार दश महिनाको अवधिमा सात खर्ब २५ अर्ब ३० करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको छ । अघिल्लो वर्षको यही अवधिमा विप्रेषण आप्रवाह सात प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ९.३ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १०.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय १९.४ प्रतिशतले वृद्धि भई आठ खर्ब २६ अर्ब २० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आय ०.१ प्रतिशतले घटेको थियो ।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३८.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या छ प्रतिशतले घटेको थियो ।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या भने समीक्षा अवधिमा ५.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो सङ्ख्या २.२ प्रतिशतले घटेको थियो ।

हिमाली क्षेत्रमा मूल्यवृद्धि

राष्ट्र बैंकका अनुसार देशको अन्य भूभागको तुलनामा हिमाली क्षेत्रमा मूल्यवृद्धि भएको छ । क्षेत्रगत उपभोक्ता मुद्रास्फीति हिमालमा ६.१ प्रतिशत पुगेको हो । गएको आर्थिक वर्षको यही अवधिमा त्यस्तो मुद्रास्फीति ६.३ प्रतिशत थियो । गएको वर्षको तुलानामा चालु आवको दश महिनामा ०.२ प्रतिशत मूल्यस्फीति घटेको हो ।

काठमाण्डौ उपत्यकामा ६.०५, पहाडमा ५.० र तराईमा ४.९ प्रतिशत उपभोक्ता मुद्रास्फीति रहेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ६.३, ३.३, ५.७ र ४.० प्रतिशत रहेको थियो ।

नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३ प्रतिशत र भारतको ३.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ४.१ प्रतिशत र भारतको ४.९ प्रतिशत रहेको थियो । थोक मुद्रास्फीति ५.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही अवधिमा उक्त मुद्रास्फीति २.० प्रतिशत रहेको थियो ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया