'नेइमार जति मन लाग्छ लड'

 असार २२, २०७५ शुक्रबार ११:४०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप फुटबलमा खेलाडीको चर्चा धेरै कारणले हुन्छ । धेरैजसोको चर्चा राम्रो खेलेको वा सोचेजस्तो खेल्न नसकेका कारण हुने गर्छ । तर, खेलाडीको व्यहोरा तथा मैदान र मैदान बाहिर देखाउने अनुशासनको विषयले पनि चर्चा पाउँछ । 

म्याराडोनाको हाते गोल होस् वा जिदानले इटालीका मार्को माटेराजीको छातीमा टाउकोले हानेको होस अथावा लुइस सुवारेजले इटालीकै जर्जियो चिलिनीलाई टोकेको जस्ता सन्दर्भहरु खेलपछिका वर्षौँसम्म पनि चर्चा र आलोचनाका विषय बनिरहेका छन् ।
 
पछिल्ला बर्षहरुमा खासगरि सामाजिक सञ्चालमा यस्ता कुराले बढी ठाउँ पाउँछन् । यसपटकको विश्वकपमा पनि केही विषयको चर्चा र आलोचना भइरहेको छ । रोनाल्डो मेसी, इनिएष्टा जस्ता खेलाडीले टिमलाई अघिल्लो चरण पुर्याउन नसकेका कारण आलोचना व्यहोरिरहेका छन् ।

तर, ब्राजिलका नेइमार भने मैदानमा देखाउने व्यवहारका कारण आलोचना र ब्यंग्यको विषय बनाइएका छन् । सामान्य ट्याकलमा पनि मैदानमा लड्ने मात्र होइन अति नै पीडा भएको जस्तो गरि नाटक गर्ने गरेका कारण नेइमारबारे कतै ट्रोल बनाएर त कतै कार्टुन बनाएर उनको खिल्ली उडाइएको छ ।

तर ब्राजिलका उनका अग्रज खेलाडी रिभाल्डोले भने नेइमारको बचाउ गरेका छन् । उनले नेइमारलाई आफ्नो हिसाबले खेल्न र आवश्यक परेको बेला मैदानमा लड्न पनि सुझाव दिएका छन् । यी भेट्रान आफ्नो इन्स्टाग्राम पेजमा नेइमारलाई सुझाव दिंदै लेख्छन ‘नेइमार, तिमी अरुबेला जस्तो खेल्छौ विश्वकपमा पनि त्यस्तै खेलिराख, अरु देशबाट आएका नकारात्मक टिप्पणीको वास्तै नगर किनभने उनीहरु विश्वकपमा छैनन् ।’

उनले थपेका छन्, ‘यदि तिमीलाई ड्रिबलिङ गर्न मन लाग्यो भने ड्रिबलिङ गर, तिमीलाई बल फ्लिक गर्नुछ भने फ्लिक गर तर, तिमीलाई कसैले फल गरेर लडायो भने लड ।’ किनभने तिमीले गोल गर्नका लागि यसो गर्नैपर्छ ।

रिभाल्डोले थप सुझाव दिएका छन् लडेपछि यसअघिका खेलमा जस्तै उठ्नु , र सँधै फुटबलका साथ मजाक गर्ने बानी कायमै राख्नु ।’ 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया