डेभिड वार्नर विश्वकप २०१९ मा पाँच सय रन बनाउने पहिलाे खेलाडी

 असार १०, २०७६ मंगलबार २०:५७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

अस्ट्रेलियाका विस्फोटक ओपनिङ ब्याट्सम्यान डेभिड वार्नर आईसीसी विश्वकप क्रिकेट २०१९ मा ५ सय रन बनाउने पहिलो खेलाडी बनेका छन् । जारी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी पनि वार्नर नै हुन् ।

वार्नरले मंगलबार इंग्ल्याण्डविरुद्ध लर्डसमा ५३ रनको पारी खेल्दै ५ सय रन पूरा गरेका हुन् । वार्नरले यस विश्वकपमा २ शतक तथा तीन अर्धशतक बनाइसकेका छन् । उनको जारी विश्वकपमा सर्वाधिक स्कोर १६६ रन हो ।

यसैगरी अहिलेसम्म उनले ४६ चौका र ६ छक्का प्रहार गरेका छन् । जारी विश्वकपमा अस्ट्रेलियाका एरोन फिन्च, बंगलादेशका शकिब अल हसन, भारतका रोहित शर्मा र न्यूजिल्याण्डका केन विलियमसन र इंग्ल्याण्डका जो रुटले पनि दुई दुई शतक बनाएका छन् ।

वार्नरको जारी प्रर्दशनका कारण भारतीय स्टार खेलाडी सचिन तेन्दुलकरलको १६ वर्ष पुरानो रेकर्ड खतरामा परेको छ । २००३ को विश्वकपमा सचिनले सर्वाधिक ६७३ रन बनाएका थिए ।

त्यस यता थप तीन वटा विश्वकप सकिँदासम्म कसैले यो रेकर्ड ताेड्न सकेका छैनन् । अस्ट्रेलियाले अझै समूह चरणमा २ खेल खेल्न बाँकी छ भने सेमिफाइनल पुग्ने सम्भावना पनि उत्तिकै बलियाे छ । अब बाँकी रहेका तीन खेलमा १७४ रन बनाउन सके सचिनको रेकर्ड उनले आफ्नो नाममा पार्ने छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया