विश्वकप क्रिकेट : भारत सेमिफाइनलनजिक, वेष्ट इण्डिज समूह चरणबाटै बाहिरियो

 असार १२, २०७६ बिहिबार २२:५२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतसँग १२५ रनले पराजित भएपछि वेष्ट इण्डिज इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटको समूह चरणबाटै घर फर्किने निश्चित भएको छ । 

सातौं चरणको खेलमा उच्च लयमा रहेको भारतविरुद्ध वेष्ट इण्डिजको ब्याटिङद निरिह देखियो । ७ खेलबाट ३ अंक जोडेको वेष्ट इण्डिजले बाँकी दुवै खेलमा जित हासिल गरे पनि सेमिफाइनलमा पुग्नेछैन ।

भारत भने ६ खेलबाट ११ अंकसहित सेमिफाइनल नजिक पुगेको छ । भारत प्रतियोगिताकै एकमात्र अपराजित टोली पनि हो ।

२६९ रनको मध्यम लक्ष्य पछ्याएको वेष्ट इण्डिजले सुरुआतदेखि नै विकेट बचाउन सकेनन् । कुनै पनि ब्याट्सम्यानले धेरैबेर क्रिजमा टिक्ने सामर्थ्य देखाउन नसक्दा ३४ ओभर २ बलमा १४३ रनमै अलआउट भयो ।

अफगानिस्तानविरुद्धको अघिल्लो खेलमा ह्याट्रिक विकेट लिएका मोहम्मद शामी र जरप्रित बुमराहले अर्को एउटा खेलमा सानदार प्रदर्शन गरेपछि भारतले वेष्ट इण्डिजमाथि सानदार जित दर्ता गरेको हो । 

शामीले ६.२ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए भने २ विकेट लिएका बुमराहले ६ ओभरमा ९ रनमात्र खर्चिए । ७ ओभरमा ३९ रन खर्चेका स्पिनर युजवेन्द्र चहलले पनि २ विकेट लिए । कुलदीप यादव र हार्दिक पण्ड्याको नाममा एक–एक विकेट रह्यो । 

ओपनर क्रिस गेलले १९ बलमा ६ रनमात्र जोड्न सके । अर्का ओपनर सुनील अम्ब्रिसले ३१ रन बनाए । निकोलस पुरनले २८ तथा सिम्रन हेटमायरले १८ रन बनाउनुबाहेक ६ ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

नवौं नम्बरमा आएका केमर रोचले १४ र दशौं नम्बरमा ब्याटिङ गरेका कोट्रेलले १०  रन थपेका थिए । 

यसअघि म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै दुई सय ६८ रन बनाएको थियो ।

राम्रो सुरुवात गर्न नसकेको भारतले २९ रनमा पहिलो विकेट गुमायो । ओपनर रोहित शर्मा १८ रनमा आउट भए । त्यसपछि दोस्रो विकेटका लागि कप्तान विराट कोहली र लोकेश राहुलबीच ६९ रनको साझेदारी भएपछि भारत केही सम्हालिएको थियो । तर राहुल ४८ रनमा आउट भए । त्यसपछि अर्का खेलाडी विजय शंकर व्यक्तिगत १४ रनमा पेभेलियन फर्किएपछि भारतले एक सय २६ रनमा तेस्रो विकेट खेर फाल्यो ।

भारतले त्यसपछि अरु दुई विकेट कम रनमा नै गुमायो । कप्तान विराट कोहली व्यक्तिगत ७२ रनमा आउट भए भने केदार जादव मात्र सात रनमा पेभेलियन फर्किए । एक सय ८० रनमा पाँच विकेट गुमाएको भारतका लागि महेन्द्रसिंह धोनी र हार्दिक पाण्ड्याबीच ७० रनको साझेदारी भएपछि भारतले राम्रो चुनौती दिन सफल भयो । हार्दिकले ४६ रन बनाए ।

त्यसपछि क्रिजमा आएका मोहम्मद शामीले खाता खोल्न सकेनन् । जसका कारण भारतले दुई सय ५२ रनमा सात विकेट गुमायो । भारतका लागि धोनीले अविजित ५६ रन बनाए ।

बलिङतर्फ वेष्ट इण्डिजका केमर रोचले तीन तथा जेसोन होल्डर र शेल्डन कोट्रेलले दुई–दुई विकेट लिए ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया