विश्वकप क्रिकेटः पाकिस्तानकाे आँखा सेमिफाइनल, अफगानिस्तान पहिलाे जितकाे खाेजीमा

 असार १४, २०७६ शनिबार १३:२१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप अन्तर्गत शनिबार हुने पहिलो खेलमा पाकिस्तान र अफगानिस्तान प्रतिस्पर्धा गर्दैछन् । आजको खेलमा पाकिस्तान विजयी हुँदै सेमिफाइनलको यात्रा बलियो बनाउन चाहन्छ भने अफगानिस्तान पहिलो जितको खोजीमा रहनेछ । 

विश्वकपमा सहभागिता जनाउनु अघि नौवटा प्रतिद्वन्द्वी मध्ये कम्तीमा दुई वटा टिमलाई हराउने लक्ष्यका साथ इंग्ल्याण्ड आएको अफगानिस्तानले सात खेल खेलिसक्यो । तर उसले एउटा पनि खेल जित्न सकेको छैन । 

न त अफगानिस्तानको कुनै खेलमा वर्षा नै भयो । एक अंक पनि जोड्न नसकेको अफगानिस्तान तालिकाको पुछारमा छ र विश्वकपको सेमिफाइनलमा नपुग्ने निश्चित नै भइसक्यो । यो विश्वकपमा खासै राम्रो खेल्न नसकेको अफगानिस्तानले भारतलाई भने कडा टक्कर दिएको थियो । 

आजको खेलमा अफगानिस्तानले छिमेकी देश पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल लिड्समा नेपाली समय अनुसार सवा तीन बजे सुरु हुनेछ । छिमेकी हुने बित्तिकै यो प्रतिस्पर्धा जित–हारमा मात्र सीमित हुनेछैन । यो खेलमा दुई छिमेकीको प्रतिष्ठा पनि जोडिएको हुनेछ ।

विश्वकप खेल्नुभन्दा अघि पाकिस्तानी टिम निकै खराब थियो । खेलाडीहरु पनि राम्रो फर्ममा थिएनन् । तर विश्वकपको प्रदर्शनले पाकिस्तान सेमिफाइनलमा पुग्दा कुनै अचम्म मान्नुपर्ने छैन । 

संयोगको कुरा त के छ भने पाकिस्तानले सन् १९९२ मा विश्वकप जित्दा समूह चरणमा जस्तो नतिजा निकालेको थियो, त्यस्तै नतिजा यो विश्वकपमा पनि देखिएको छ । सात खेल खेलिसकेको पाकिस्तानले अबको दुई खेल अफगानिस्तान र बंगलादेशसँग खेल्दैछ । जुन टिम सन् १९९२ को विश्वकपमा सहभागी थिएनन् ।

सेमिफाइनलको आशा जीवित राख्नका लागि पाकिस्तानले यी दुबै टोलीलाई हराउनु पर्नेछ ।

वार्म अप म्याचमा पाकिस्तानलाई हारको स्वाद चखाएको अफगानिस्तान आजको खेलमा दबावमुक्त भएर खेल्नेछ । किनभने उसका खेलाडीले भारतविरुद्ध देखाएको बहादुरी र केही पनि गुमाउन नपर्ने अवस्थाले पाकिस्तानलाई झड्का दिन पनि सक्नेछ ।

पाकिस्तानी टिममा हरिस सोहिलको उपस्थितिले मध्यक्रम बलियो देखिएको छ । यता अफगानिस्तानले भने अझ पनि युवा बलर राशिद खानको विश्वास कायमै राखेको छ ।

प्रतियोगितामा सबैभन्दा खराब बलिङको कीर्तिमान बनाइसकेका राशिद खानका लागि यो विश्वकप त्यति सम्झनलायक रहेन । इंग्ल्याण्डविरुद्ध ऐतिहासिक खराब बलिङ गरेका खानको आत्मविश्वास कम भएको विश्लेषण गरिएको छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया