बनाएर नसक्दै भत्कियो फाप्लु विमानस्थलको पार्किङ

 असार ३०, २०७६ सोमबार १८:१७:१२ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा रहेको फाप्लु विमानस्थलको पार्किङको काम सम्पन्न नहुँदै भत्किएको छ । गएको कात्तिकदेखि निर्माण कार्य सुरु भएको पार्किङस्थलको आरसीसी ढलान चिराचिरा भएर भत्किएको छ । करिब १ महिनाअघि मात्र ढलान गरिसकेको पार्किङस्थल वर्षा भएपछि भत्किन सुरु भएको हो ।

नागरिक उड्डयन प्राधिकरणको ८ करोड ७८ लाखको लागतमा काष्टमण्डप उमा एण्ड कम्पनी जेभी काठमाण्डौले पार्किङस्थल निर्माण गरेको हो । निर्माण कम्पनीले गुणस्तरीय काम गरेको दाबी गरेको भए पनि जेठमा निर्माण सम्पन्न भएको पार्किङस्थल असारमै भत्किएको छ ।

निर्माण भएको एक महिनामै भत्किन सुरु भएपछि गुणस्तरीयतामा नै प्रश्न चिन्ह खडा भएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले कामको गुणस्तरसम्बन्धी निरन्तर ताकेता गर्दा पनि निर्माण कम्पनीले बेवास्ता गर्दा निर्माण कार्य सम्पन्न नहुँदै पार्किङस्थल र पर्खाल भत्किएको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले बताउयो । यस विषयमा आफूले गृह मन्त्रालयमा पत्रचार गर्ने प्रमुख जिल्ला अधिकारी रानाको भनाइ छ । 

पार्किङ स्थल निर्माण सम्पन्न हुनु पूर्व नै भत्किनुले आयोजनामा चरम लापरवाही तथा आर्थिक अनियमितताको शंका उत्पन्न भएको स्थानीयको भनाइ छ ।

यता निर्माण कम्पनीले भने कामको गुणस्तरमा कुनै पनि कमजोरी नभएको दाबी गरेको छ । निरन्तरको वर्षाले निर्माणाधीन स्थल भत्किएको स्वीकार गर्दै नियतवश यस्तो नभएको दाबी गरेको छ । नागरिक उड्यन प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठले निर्माणको क्रममा केही त्रुटी भएको भन्दै त्यसको पुनः निर्माण गरिने बताउनुभयो ।

यो पनि पढ्नुहोस् 

फाप्लु विमानस्थलको निरीक्षण, ठेकेदारले लापर्वाही गरेको निष्कर्ष

अन्तिम अपडेट: चैत ६, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया