मोरङमा पुरुषका तर्फबाट सम्बन्ध विच्छेद मुद्दा बढ्दाे, तीन हजार वर्ष कैद असुली बाँकी

 असार ३१, २०७६ मंगलबार २०:५१:२७ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - एक वर्षको अवधिमा मोरङ जिल्ला अदालतमा सम्बन्ध विच्छेदकाे लागि पुरुषका तर्फबाट आउने मुद्दाकाे संख्या बढेकाे छ । 

सम्बन्ध विच्छेदका एक हजार एक सय १२ मुद्दा दर्ता भएकोमा ८७६ महिला तथा २३६ जना पुरुष वादी रहेकाे र तीमध्ये ८ सय ३५ मुद्दा फछ्र्यौैट भएका छन्  । 

देवानी संहिता लागू भएसँगै पुरुषबाट सम्बन्ध विच्छेदको लागि बढी मुद्दा दर्ता हुन आएको जिल्ला अदालत मोरङका न्यायाधीश राजुकुमार खतिवडाले जानकारी दिनुभयो ।

जिल्ला अदालत मोरङमा सबैभन्दा बढी १ हजार २ सय ३ वटा अंश मुद्दा रहेकोमा ८ सय ३५ वटा फैसला भएका छन्  ।  मुद्दा दर्तालाई आधार मान्दा माना चामलको मुद्दा सबैभन्दा बढी दर्ता हुनेमध्येको तेश्रोमा परेको छ । यो सम्बन्धी ३ सय ३३ मुद्दा दर्ता भएकोमा २ सय ३५ फर्छ्याैट भएका छन्  ।

त्यस्तै लागुऔषध मुद्दा चौथोमा परेको छ । सीमासँग जोडिएकोले पनि यो वर्ष २६६ वटा मुद्दा लागुऔषधसँग सम्बन्धित रहेकोमा २ सय १९ वटा फर्छ्याैट गर्न सफल भएको खतिवडाले जानकारी दिनुभयो ।

जिल्ला अदालतमा जबर्जस्ती करणीका मुद्दाहरु २ सय ७ वटा दर्ता भएका छन् र तीमध्ये १३६ वटा फैसला भएका छन् । 

घरेलु हिंसाको ९३  र मानव बेचबिखन तथा ओसार पसारको १२ वटा मुद्दामध्ये घरेलु हिंसाको ५२ र मानव बेचबिखन तथा ओसार पसारको ५ वटा मुद्दा फर्छ्याैट भएका छन्  । 

एक वर्षको अवधिमा भएका मुद्दा दर्ता तथा फर्छ्याैटको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाटका क्रममा न्यायाधीश खतिवडाले जम्मा ४ हजार ५ सय ४८ मुद्दा फर्छ्याैट गर्न सफल भएको जानकारी दिनुभएकाे हाे । 

आर्थिक वर्ष २०७४-०७५बाट जिम्मेवारी सरेर आएको २ हजार ४ सय ७५ मुद्दा मध्येबाट २ हजार २ सय ९ वटा मुद्दा फैसला भएका छन् । चालु आर्थिक वर्षमा दर्ता भएका ४ हजार १ सय ६ वटा मुद्दामध्ये २ हजार ३ सय ३९ वटा मुद्दा फैसला गर्न सफल भएको अदालतका न्यायाधीश कृष्णमुरारी सिवाकोटीले बताउनुभयो । तीमध्ये ९ सय ५३ वटा मुद्दा मिलापत्रबाट टुङ्गिएका हुन्।

सिवाकोटीका अनुसार, बाल इजलासमा ४० वटा मुद्दा रहेकोमा २५ वटा फर्छ्याैट भएका छन् । १२० दिनभित्र बाल इजलासबाट बालबालिका सम्बन्धी मुद्दा किनारा लगाउनु पर्ने व्यवस्था अनुसार अधिकांश मुद्दाहरु किनारा लागेका छन्  । 

तीन हजार वर्ष कैद असुली बाँकी

जिल्ला अदालत मोरङमा विभिन्न मुद्दामा फैसला भएका व्यक्तिहरुबाट ३ हजार १ सय ४८ वर्ष १० महिना ७ दिन कैद असुली हुन बाँकी देखिएको छ । ५ हजार ७ सय ५ वर्ष ३ महिना २५ दिन लगत बाँकी देखिएकोमा यो वर्ष २ हजार ५ सय ५६ वर्ष ५ महिना १८ दिन असुल गरिएको जिल्ला अदालत मोरङले जनाएको छ ।

त्यस्तै  अदालतले गरेको फैसलाबाट आर्थिक वर्षभित्र २१ करोड ९५ लाख ६४ हजार ३ सय ४५ रुपैयाँ असुल हुनुपर्ने देखिएकोमा आर्थिक वर्षको अन्त्यसम्ममा ७ करोड ९६ लाख ८७ हजार ३ सय ५८ रुपैयाँ असुली गरेको जनाइएको छ । त्यस्तै अदालतले विशेष अभियान सञ्चालन गरेर समेत कैद र जरिवाना असुली गरेको जनाएको छ । 

समुदायमा अदालत

जिल्ला अदालत मोरङले अदालतको काम कारबाहीको बारेमा जानकारी दिनको लागि समुदायमा अदालत अभियान सञ्चालन गरेको थियाे । अभियान अन्तरगत ४ ठाउँमा नागरिकले अदालत प्रति गर्ने व्यवहार, दृष्टिकोणको बारेमा बुझ्ने र बुझाउने काम गरेको छ ।

अदालती प्रक्रियाको बारेमा गाउँगाउँमा गएर बुझाएको, अदालतलाई नागरिकले के सोच्छन् भनेर बुझ्न गाउँमा छलफल भएको बताइएकाे छ । समुदायमा अदालत कार्यक्रम लेटाङ, पथरी शनिस्चरे, धनपालथान, सत्यनारायण माध्यमिक विद्यालय र ब्राइट भिजन कलेजमा सञ्चालन गरिएको थियो ।

अदालतले एक वर्षभित्रमा मुद्दा फर्छ्याैटमा ठूलो सफलता हासिल गरेको जनाएको छ । यसरी सफलता हासिल हुनुमा म्याद तामेली, पेसी व्यवस्थापन, पेसीमा चढेका मुद्दा धेरै पटक हटाउने प्रवृत्तिलाई निरुत्साहित गर्नु र सरोकारवालासँग समन्वय हुनु नै महत्वपूर्ण रहेको अदालतका श्रेस्तेदार ईश्वरमणी ओझाले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: चैत २९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया