कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
संखुवासभा — भोटखोला गाउँपालिकाको पाँच वडा हेर्नका लागि एक जनामात्रै सचिव रहेका छन् । गाउँपालिका भित्रका पाँच वटा वडा हेर्न एकजना मात्रै सचिव हुदाँ सेवा प्रवाहमा समस्या आएको छ ।
सिंगो गाउँपालिकामा नै एक जना मात्रै वडा सचिव हुँदा सास्ती खेप्न बाध्य भएको स्थानीयहरु बताउँछन् । गाउँपालिकाको स्थापनाकालदेखि नै एक जना वडा सचिवको भरमा सिंगो गाउँपालिका चलिरहेको छ । सबै वडामा काम गर्नु गर्दा कहिलेकाहीँ कामको चापले सेवाग्राही मर्कामा पर्ने सचिब दाबा लामा बताउनुहुन्छ ।
जिल्लाको दुर्गम भोटखोला गाउँपालिकामा दरबन्दी अनुसारका कर्मचारी जान मान्दैनन् । यो गाउँपालिकामा कुल दरबन्दी २७ जना भए पनि पाँच जना अस्थायी कर्मचारीबाट गाउँपालिकाको सम्पूर्ण कामकाजहरु सञ्चालन हुने गरेको गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले बताउनुभयो ।
भोटखोला गाउँपालिका दुर्गम भएको कारणले नै कर्मचारी आउन मान्दैनन् । मन्त्रालयले सरुवा गरेर पठाए पनि बाध्यतामा एक÷दुई महिना बस्ने अनि तत्काल सरुवा मिलाउने सरुवा नभएको खण्डमा काज मिलाएर प्रदेश, संघ र सुगमका स्थानीय तहमा जाने गरेको गाउँपालिकाका अध्यक्ष भोटेले बताउनुभयो । उहाँले भन्नुभयो ‘दुर्गम भएकै कारणले कर्मचारी नबस्ने भएपछि कर्मचारीलाई गाउँपालिकाले थप चार हजार रुपैयाँ दुर्गम भत्ता दिने निर्णय गरेको छ । तर पनि कर्मचारी बस्न मान्दैनन् ।’
सडक सञ्जाल समेत नपुगेको भोटखोलाकाको ५ वटै वडा हिँडेर पुग्नु पर्ने बाध्यता छ । भौगोलिक रुपमा विकट भएका कारण सबै वडा कार्यालयमा पुगेर सेवा दिन ज्यादै कठिन हुने गरेको वडा सचिव लामाले बताउनुभयो । सचिब लामाले भन्नुभयो ‘पैदल हिडेर हरेक वडामा महिनामा तीन÷चार दिनमा एकपटक सेवा दिन पुग्छु । गाउँपालिका भित्रका एक वडाबाट अर्को वडा पुग्न नै दुई दिन हिँड्नु पर्छ । दैनिक सबै वडामा पुग्न सकिँदैन ।’
भोटखोला गाउँपालिकाको थुदामबाट वडा नम्बर २ को वडा कार्यालय च्याम्ताङ आउन करिब तीन दिन लाग्छ । वडा कार्यालय पुगे पनि वडाले दैनिक रुपमा सेवा दिन नसक्दा सर्वसाधारणहरुले समेत हैरानी ब्यहोर्नु परेको छ ।
भोटखोला गाउँपालिकामा करिब ६ हजार ५७६ जनसंख्या रहेको छ । सडक, विद्युत् र सञ्चारसमेत छैन । सडक, विद्युत् र सञ्चार सेवा समेत नहुदाँ अझै समस्या हुने गरेको सचिव लामाको भनाइ छ । दक्ष जनशक्ति र सञ्चारसमेत नहुँदा सेवा प्रवाहसमेत प्रभावकारी हुन नसकेको कर्मचारीहरु बताउँछन् ।
भोटखोलामा अहिले प्रमुख प्रशासकीय अधिकृत, सहलेखापाल, नायब सुब्बा (वडा सचिव र कृषि शाखा प्रमुख), खरिदार, खानेपानी सरसफाइ प्राविधिक स्थायी कर्मचारी रहेका छन् । २७ जनाको दरबन्दी भए पनि स्थायी कर्मचारी पाँचजना मात्र रहेका छन् । कर्मचारी अभावले गाउँ–गाउँमा सिंहदरबार पुर्याउन अझै कठिन भएको गाउँपालिका अध्यक्ष भोटेले बताउनुभयो ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।