प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
रुसमा जारी फिफा विश्वकपको २१ औं संस्करणले चार सेमीफाइनलिस्ट पाइसकेको छ ।
तर विश्वकपको इतिहासमा पहिलो पटक दक्षिण अमेरिकी टिम अन्तिम चारमा अटाउन सकेनन् ।
विश्व फुटबलका तीन ठूला टिम जर्मनी, ब्राजिल र अर्जेन्टिना एकैपटक सेमीफाइनल नपुगेको पनि यो पहिलो पटक नै हो ।
रुस विश्वकपमा यस्ता धेरै नसोचेका, अनुमान नगरिएका नतिजाहरु आउने क्रम अझै जारी छ । सेमीफाइनल समीकरण पूरा भएसँगै विश्वकपको उत्साह अझ थपिएको छ ।
सेमीफाइनलमा फ्रान्स र बेल्जियम तथा इंग्ल्याण्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । यी चार टिममध्ये फ्रान्स र इंग्ल्याण्डले एक एक पटक विश्वकपको उपाधि जितेका छन् ।
यदि बेल्जियम र क्रोएसिया फाइनल पुगे भने विश्वकपले नयाँ च्याम्पियन पाउनेछ ।
फ्रान्सले क्वार्टरफाइनलमा दक्षिण अमेरिकी टोली उरुग्वेलाइ दुई–शून्य गोलले पराजित गर्दै १२ वर्षपछि सेमीफाइनलमा स्थान बनायो ।
मुख्य स्ट्राइकर इडिसन काभानीको चोट उरुग्वेका लागि महँगो सवित भयो ।
रफायल भाराने र एन्टोइन ग्रिजम्यानको गोलको मद्दतमा फ्रान्स विश्वकप उपाधि दोब्बर गर्ने लक्ष्यतर्फ अघि बढेको छ ।
त्यसैबीच अर्को क्वार्टरफाइनलमा हाइ प्रोफाइल टिम ब्राजिल र बेल्जियम आमने–सामने भएका थिए ।
पाँच पटकको च्याम्पियन ब्राजिललाई तुलनात्मक रुपमा बलियो मानिएको थियो । तर नतिजा बेल्जियमको पक्षमा आयो ।
जारी विश्वकपमा ब्राजिलले खेलेका खेल मध्ये बेल्जियमविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो ।
तर उसले बेल्जियमको चुनौति समाप्त पार्न सकेन ।
बेल्जियम दुइ–एक गोलले ब्राजिललार्इ पराजित गर्दै ३२ वर्षपछि सेमीफाइनलमा स्थान बनाउन सफल भयो ।
बेल्जियमले ५५ वर्षपछि ब्राजिलमाथि जित हात पारेको हो ।
रोबर्टो मार्टिनेजको टोली बेल्जियमका लागि उपाधि जित्ने यो विश्वकप जस्तो सुनौलो अवसर अर्को पटक नहुन सक्छ ।
ब्राजिलको हारसँगै रुस विश्वकपमा दक्षिण अमेरिकी टिमको यात्रा समाप्त भएको थियो ।
नेइमार, गाब्रिएल जिजस, फिलिपे कोउटिन्हो, विलियान, पाउलिन्हो जस्ता स्टार खेलाडीले भरिएको ब्राजिलले पनि अर्जेन्टिना, स्पेन र जर्मनीकै बाटो पछ्यायो ।
हारपछि पनि आफ्नो टिमको एकतामा कुनै कमी नहुने ब्राजिलियन प्रशिक्षकको भनाइ छ ।
अर्को सेमीफाइनलिस्ट इंग्ल्याण्डले प्रि–क्वार्टरफाइनलमा स्विडेनलाई दुई–शून्यले पराजित गर्यो ।
उत्कृष्ट लयमा देखिएको इंग्ल्याण्डले २८ वर्षपछि सेमीफाइनलमा स्थान बनाएको हो ।
१९६६ मा विश्वकप जितेयता कुनैपनि ठूलो प्रतियोगिता जित्न नसकेको इंग्ल्याण्डले यसपटक नयाँ इतिहास कोर्ने धेरैको अनुमान छ ।
ग्यारेथ साउथगेटको नेतृत्वमा रहेको इंग्ल्याण्डलाइ यसपटक ‘इट्स कमिङ होम’ को नारालाई यथार्थमा बदल्ने सुनौलो मौका पनि छ ।
आयोजक रुस र क्रोएसियाबीचको क्वार्टरफाइनल भने प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्यो ।
निर्धारित समयमा एक एक गोल भएको खेलको अतिरिक्त समयमा दुवैले एक एक गोल गरेका थिए । थप गरिएको समयमा गोल भएको जारी विश्वकपमा यो पहिलो पटक हो ।
पेनाल्टी शुटआउटमा क्रोएसिया भाग्यमानी बन्दा घरेलु समर्थक स्तब्ध बने ।
१९९८ पछि क्रोएसियाले पहिलाेपटक सेमीफाइनल यात्रा तय गरेको हो । पराजय भोगे पनि रुसले मन भने जित्न सफल भयो ।
अब विश्व फुटबलको जिज्ञासु नजर मंगलबारबाट सुरु हुने सेमीफाइनलमा छ । याे थाह पाउन कि अब विश्वकपले दुइ नयाँ फानइलिस्ट पाउला या दुइ पूर्व च्याम्पियन ?