पहिरोले सडक अवरुद्ध भएपछि भोटखोलामा खाद्यान्न अभाव

 साउन ५, २०७६ आइतबार ९:२४:७ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – सदरमुकाम खाँदबारीदेखि भोटखोला गाउँपालिका जाने कोशी ल्हासा राजमार्गको मकालु गाउँपालिकाको नयाँबस्तीमा सडक अवरुद्ध भएपछि भोटखोलामा खाद्यान्न अभाव भएको छ ।

सदरमुकाम खाँदबारीदेखि १ सय ६२ किलोमिटर उत्तरी क्षेत्रमा रहेको भोटखोला गाउँपालिकामा करिब एक महिना अघिदेखि खाद्यान्न ढुवानी हुन नसक्दा संकट आएको हो । गएको असार २ गते आएको अविरल वर्षाले मकालु गाउपालिकाको फ्याक्सिन्दा र नयाँबस्तीमा पहिरो खसेपछि कोशी ल्हासा राजमार्ग अवरुद्ध भएको छ ।

एक महिनासम्म सडक नखुलेपछि यो क्षेत्रमा खाद्यान्न ढुवानी गर्न समस्या भएको भोटखोला–२ च्याम्ताङका वाङछिरिङ भोटेले बताउनुभयो । उहाँले भन्नुभयो ‘गोला बजारमा सँधै यातायात सञ्चालन भइरहने हुनाले उनीहरुले खाद्यान्नको जोहो गरेका थिएनन् तर एक महिनादेखि पहिरोले बाटो अवरुद्ध भएपछि खाद्यान्न संकट पर्न थालेको छ ।’

भोटखोला गाउँपालिका भित्र पाँच वटा वडाहरु रहेको छ । भर्खरै मात्र कोशी ल्हासा राजमार्गले छोएको भोटखोलामा गोलाबजारसम्म यातायात सञ्चालनमा थियो । यातायात सञ्चालनमा आएपछि धेरै सामग्री स्टोर गरेर नराखिएको स्थानीय ब्यापारीहरु बताउँछन् । अहिले एक महिनासम्म बाटो अवरुद्ध हुँदा खाद्य सामग्री सकिएको छ ।

खाद्य डिपोमा न कर्मचारी छन् न चामल 

भोटखोला गाउँपालिकामा रहेको खाद्य डिपो गाउँपालिकाको केन्द्र हटियामा रहेको छ । यो डिपोमा न त कर्मचारी बस्छन् न त चामल नै छ ।

भोटखोला क्षेत्रमा खाद्यान्न सहज रुपमा पु‍र्‍याउने भनेर स्थापना भएको खाद्य डिपो वर्षोदेखि अलपत्र छ । भोटखोलाको लागि पाँच सय क्वीन्टल चामलको कोटा थियो । यसैअनुसार गएको पुस महिनामा नै ठेकेदारद्धारा ढुवानी गरेर वितरण गरिएको खाद्य संस्थान खाँदबारीका निमित्त प्रमुख धर्मदेवप्रसाद यादवले जानकारी दिनुभयो ।

कर्मचारी अभावका कारण ठेकेदारमार्फत खाद्य डिपोमा भएको चामल यस अघि नै वितरण गरिसकिएको उहाँले बताउनुभयो । खाद्य संस्थानका एक जना कार्यालय प्रमुख र कार्यालय सहयोगी मात्रै सदरमुकाम खाँदबारीमा बस्ने गरेका छन् ।

यो क्षेत्रमा सहज आपूर्ति गर्नका लागि र अवरुद्ध सडक खुलाउन समन्वय भइरहेको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले बताउनुभयो । उहाँले सम्बन्धित निकायहरुसंग पटक–पटक छलफल भइरहेको छिट्टै नै अवरुद्ध सडक सञ्चालनमा ल्याउने तयारी भैरहेको पनि जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया