प्रदेश १ का २६८ खेलाडी विराटनगरमा सम्मानित

 साउन ७, २०७६ मंगलबार १८:३६:३७ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - पाँचौँ महिला साफ च्याम्पियन्सिपका बेला खेलाडीहरुको लागि  घोषणा भएका पुरस्कार विराटनगरमा वितरण गरिएकाे छ ।

विराटनगर महानगरपालिकाले २६ जना खेलाडी तथा अफिसियललाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हाे । त्यसलगत्तै प्रदेश १ सरकारले मंगलबार घोषणा गरेको जनही नगद एक लाख रुपैयाँसहितकाे खेलाडी सम्मान पनि गरिएकाे छ।

प्रदेश सरकारले विराटनगरमा सम्पन्न भएको महिला साफ च्याम्पियन्सिपका २६ खेलाडीसहित , टिम व्यवस्थापक र प्रशिक्षकलाई एक लाख रुपैयाँसहित सम्मान गर्‍याे ।  त्यस्तै प्रदेश सरकारले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण, रजत र काश्य पदक ल्याउने प्रदेश १ का खेलाडीलाई समेत नगद सहित सम्मान गरेको थियो ।

खेलाडी सम्मान कार्यक्रममा प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई खेलकुदको राजधानी बनाउने अभिव्यक्ति दिनुभयाे । प्रदेश १ खेलकुदका हिसाबले संभावना बोकेको प्रदेश भएकोले अन्य प्रदेशमा भन्दा प्रदेश १ मा खेलकुदलाई प्राथमिकतामा राखेर अन्य प्रदेशको भन्दा बढी नै रकम विनियोजन भएको दावी पनि गर्नुभयाे ।

 प्रदेश १ मा फुटबललाई पहिलो प्राथमिकतामा राखेर मुख्यमन्त्री लिग फुटबल प्रतियोगिता समेत आयोजना भइसकेकोले प्रदेशमा खेलकुदका गतिविधि बढेको उहाँले बताउनुभयाे ।

साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिता इज्जत र प्रतिष्ठासँग जोडिएको विषय भएकोले पनि प्रदेश सरकारले त्यसलाई उच्च महत्व दिएको र प्राथमिकतामा राखेर प्रतियोगिता सफल गराउन हरेक हिसाबमा सहयोग पुर्‍याएको बताउनुभयाे ।

उहाँले पाँचौँ महिला साफ च्याम्पियन्सिपमा नेपाली महिला टोलीको प्रदर्शन उच्च रहेको भन्दै प्रशंसा पनि गर्नुभयाे । मुख्यमन्त्री राईले आगामी प्रतियोगितामा पहिलो स्थानमा आउन अहिलेदेखि नै तयारी सुरु गर्न आग्रह गर्दै भन्नुभयाे, ‘खेलकुदको विकासका लागि जस्तोसुकै सहयोग गर्न व्यक्तिगत र सरकारको तर्फबाट तयार छु ।’

प्रदेशका सबै स्थानीय तहमा खेल मैदान

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ का १३७ पालिकामा खेल मैदान निर्माणको काम पूरा भएको बताउनुभएकाे छ । उहाँले  प्रदेशका १४ जिल्लामा रंगशाला निर्माणको काम भएको पनि दावी गर्नुभयाे । उनले अहिले निर्माण भईरहेको बिराटनगर महानगरपालिका वडा नम्बर १९को बैजनाथपुर रंगशालालाई अन्तराष्ट्रिय स्तरको बनाउनको लागि काम भईरहेकोले त्यो प्रदेश सरकारको प्राथमिकतामा रहेको जानकारी दिए । धरानलाई खेलकुदको गतिबिधि हुने क्षेत्रको रुपमा विकास गरी  धरानलाई खेलकुद ग्राम बनाईने मन्त्री घिमिरेले दाबी गरे ।

 

अन्तिम अपडेट: चैत ११, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया