बाढीले बगाएको काठ लिन जाँदा बबई नदीले बगाएका दुई जनाको जीवितै उद्धार

 साउन ८, २०७६ बुधबार १०:५४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया – बर्दियाको खुन्तिपुरमा बाढीले बगाएर ल्याएको काठ लिन जाँदा बबई नदीले बगाएको दुई जनाको सकुशल उद्धार गरिएको छ । 

बाढीले बगाएर ल्याएको काठ लिन नदी किनारमा गएका बेला बारबर्दिया नगरपालिका–११ खुन्तीपुरका रामभरोसे थारु र अर्का एक जनालाई बाढीले बगाएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिनुभयो । बबई नदीले बगाएका दुवै जनाको सकुशल उद्धार गरिएको उहाँले बताउनुभयो ।

नेपाल रेडक्रस बर्दियाको उद्धार टोलीले डोरी र लाइफ ज्याकेटको सहायताबाट बगेको स्थानदेखि झण्डै २ किलोमिटर तल गुलरिया नगरपालिकाको भैँसाहीबाट रामभरोसे थारुलाई र अर्का एक जनालाई बालापुरबाट उद्धार गरिएको सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

बबई नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कताका लागि जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुरोध गरेको छ । बबई नदीको चेपाङ्गमा रहेको बाढी मापन केन्द्रमा बुधबार बिहान पानीको सतह ५.४ मिटर पुगेकाले बबई नदीको तल्लो तटीय क्षेत्रमा बेलुकासम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

२०७१ साल साउन ३० गते बबई नदीमा आएको बाढीले बर्दियामा जनधनको ठूलो क्षति भएको थियो । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया