राजदेवी नगरपालिकाका बाढी पीडित साेध्छन् : राहत पाउन मेयरकाे मान्छे हुनु पर्ने हाे र ?

 साउन १०, २०७६ शुक्रबार २०:२८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

रौतहट - बाढी आएको दुई साता बितिसक्दा पनि राहत नपाएपछि आक्रोशित बनेका बाढी प्रभावितले शुक्रबार राजदेवी नगरपालिकाको कार्यालय घेराउ गर्दै विरोध प्रदर्शन गरेका छन् ।

दुई साताअघि आएको विनाशकारी बाढीबाट घरबारविहीन भई पालमा बसेर गुजारा गर्दै आएका पीडितहरु भोकै बस्नु पर्दा पनि राजदेवी नगरपालिकाबाट राहत वितरण नभएपछि बाढीबाट प्रभावित भएका ९ वटै वडाका झण्डै एक हजार बासिन्दाले आक्रोशित बन्दै नगरपालिकाको कार्यालय घेराउ गर्दै प्रर्दशन गरेका हुन् ।

असार २७ र २८ गते आएको बाढीले घर भत्किँदा भएभरका अन्न र लत्ताकपडासहित बहुमूल्य सामग्रीहरु नष्ट हुँदा पनि निर्वाचित भएका जनप्रतिनिधिले आफूहरुको पीडा नबुझेकोमा आक्रोशित बन्दै पीडितहरुले शुक्रबार नगरपालिकाको कार्यालय घेराउ गर्न बाध्य भएको नेकपाका नेता भिखारी रायले बताउनुभयाे ।

बाग्मती नदीमा आएको बाढीबाट राजदेवी नगरपालिकाका विभिन्न वडाहरु नराम्ररी प्रभावित भए पनि जनप्रतिनिधिले  वास्ता नगर्दा स्थानीयले बाध्य भएर कार्यालय घेर्नु परेकाे उहाँले बताउनुभयाे ।  

बाढी गएकाे दुई साता बित्दा पनि मेयर र निमित्त प्रमुख प्रशासकीय अधिकृतसहितका कुनै पनि पदाधिकारीले आफूहरुको समस्याप्रति कुनै चासो नदिएको कर्वानाको उषादेवी रामले गुनासाे गर्नुभयाे ।

'घरमा बस्ने अवस्था छैन, खान अन्नको छटाक छैन, जिउमा लगाउने कपडा छैन, गाउँमा कसैले दिएको भरमा बालबालिकालाई खुवाएर अहिले सम्म बाँचेको छु, तर नगरपालिकाबाट कुनै बन्दोबस्तीको सामानहरु पाउन सकिएन । अब कसरी बाँच्नु ?',  उषादेवीले गुनासाे गर्नुभयाे ।

त्यस्तै शैलकुमारी पासवानले राहत लिन पनि मेयरको मान्छे हुनुपर्ने हाे कि के हाे भन्दै दुखेसो पोख्नुभयाे ।  आफूलाई भोट दिए नदिएको छुट्टयाउँदै मेयरले भेदभाव समेत गरेका उहाँको आरोप छ ।

राजदेवीको बाढीपीडित नागरिकले आफूहरुलाई भत्किएका घरहरु मर्मत गर्न र भोक मेटाउन खाद्यान्न, त्रिपाललगायतका अत्यावश्यक सामग्रीहरुको अभाव रहेको गुनासो गरे ।

राजदेवी नगरपालिकाकी उपमेयर अंशु सिंहले बाढीपीडितहरु आन्दोलित हुन थाल्दा निकै सम्झाइबुझाइ गरेर एक साताभित्र समस्या समाधान गर्ने आश्वासन दिएपछि  फर्किएको जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया