समयमा काम नसक्ने संखुवासभाका सात ठेकेदार कम्पनीलाई जरिवाना, तीन कम्पनीको धरौटी जफत

 साउन १२, २०७६ आइतबार १२:५८:२० | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा -पूर्वी पहाडी जिल्ला संखुवासभामा काम नसक्ने आधा दर्जन निर्माण कम्पनीहरुलाई सडक डिभिजन कार्यालयले कारबाही गरेको छ ।

निर्माणको ठेक्का लिएर काम नगर्ने सात वटा ठेकेदार कम्पनीलाई कारबाही बापत जरिवाना तिराएको छ भने तीन वटा निर्माण कम्पनीको धरौटी बापतको रकम जफत गरिएको कार्यालयले जनाएको छ । सडक डिभिजन कार्यालय तुम्लिङटारले संखुवासभा र संखुवासभा देखी भोजपुर जोड्ने सडक र पुलको काममा समेत ठेक्का लगाएका थिए । 

समयमा काम सम्पन्न नगर्ने सात कम्पनीलाई जरिवाना र तीन वटा निर्माण कम्पनीको धरौटी बापतको रकम ३ करोड ४१ लाख धरौटी जफत गरिएको तुम्लिङटार डिभिजन सडक कार्यालयका प्रमुख कुवेर नेपालीले बताउनुभयो । उहाँका अनुसार, ओयसिस इन्जिनियर्स एन्ड बिल्डर्सलाई १७ लाख, कोसी एन्ड न्यौपाने निर्माण सेवालाई १६ लाख ८० हजार, हरिहरि निर्माण सेवालाई १४ लाख ५७ हजार, सगरमाथा लोहनी ब्रदर्स जेभीलाई २ लाख ५० हजार, सर्वउद्धार सगरमाथा दोभान जेभीलाई ६ लाख ५० हजार, याक्थुहाङ निर्माण सेवालाई १४ लाख ५० हजार, विनायक निर्माणलाई १८ हजार र बज्र एन्ड सन्सलाई ११ हजार जरिवाना बापतका रकम असुल गरिएको छ । 

तीन कम्पनीको धरौटी जफत

समयमा काम सम्पन्न नगर्ने स्वच्छन्द निर्माण सेवाले न्यून काम गरेपछि २ करोड २१ लाख धरौटी रकम जफत गरेको हो । त्यसैगरी कान्छाराम एनबी जेभीसँग १ करोड ९ लाख र मना कन्स्ट्रक्सनसँग ११ लाख धरौटी जफत गरेको कार्यालयले जनाएको छ । 

ओयसिस इन्जिनियर्स एन्ड बिल्डर्सले भोजपुरको टक्सार मानेभन्ज्याङ बैकुन्ठे युवालांखा सडक ठेक्कामा लिएको थियो । २०७२ असार १० मा ठेक्का सम्झौता गरेर २०७५ असार २५ सम्म निर्माण सम्पन्न नभएपछि १७ लाख जरिवाना तिरेको हो । त्यसैगरी कोसी एन्ड न्यौपानेले भोजपुरको दिङला नेपालेडाँडा मझुवाचालिसे गोथेबजार दोभान फेदी साल्पा सडक ठेक्कामा लिएको थियो ।

२०७२ साउन १२ मा ठेक्का सम्झौता गरेर २०७४ असार २४ मा सम्पन्न गर्नु पर्ने भए पनि काम पूरा गरेको थिएन । त्यसैले १६ लाख ८० हजार जरिवाना असुलेको सडक कार्यालयले जनाएको हो । 

त्यसपछि इखुवाखोला पुलको ठेक्का हरिहरि निर्माण सेवाले पनि १४ लाख ५७ हजार जरिवाना तिरेको छ । उसले २०६९ असार २६ देखि २०७५ असार २५ मा सक्ने गरी पुलको ठेक्का लिएको थियो । सर्वउद्धार सगरमाथा दोभान जेभीले चिर्खुवा खोला पुल २०६८ असार १९ मा ठेक्का लिएर २०७५ असार २५ मा सक्नु पर्ने थियो । काम सम्पन्न नभएपछि ६ लाख ५० हजार जरिवाना तिरेको छ ।

कोशील्हासा राजमार्ग अन्तर्गतका बसन्तपुर—गुफापोखरी सडकखण्ड निर्माणको ठेक्का सगरमाथा लोहनीले समयमा काम सम्पन्न गरेनन् । त्यसैले ६ लाख ५० हजार जरिवाना तिरेको छ । याक्थुहाङ निर्माण सेवाले टुटेदेउराली—मुढे सडकको काममा लापरबाही गरेर काम सम्पन्न नगरेपछि १४ लाख ५० हजार जरिवाना तिरेको छ ।

त्यसैगरी संखुवासभा र भोजपुर जोड्ने अरुण नदीमाथिको पक्की पुलको ठेक्का लिएर ३० प्रतिशत गरेका स्वच्छन्द निर्माण सेवाको २ करोड २१ लाख धरौटी जफत गरिएको कार्यालयले जनाएको छ । २०६७ असार २५ मा सम्झौता भएर २०७३ कात्तिक २० मा सम्पन्न हुनुपर्ने पक्की पुल अलपत्र अवस्थामा छाडिएको छ ।

त्यसपछि याक्खाचोक–पिलुवा सडक निर्माणका लागि ठेक्का पाएकाे कान्छाराम एनवी जेभीले समयमा काम सकेन् । त्यस सडककाे सम्झौता २०७५ असार २२ मा भएकाे थियाे । त्यसैले उनको धरौटी जफत गरिएको छ । त्यसैगरि मना कन्स्ट्रक्सनले कात्तिके घाटमा फेरी निर्माणका लागि २०७२ असार ३० मा सम्झौता गरे पनि २०७३ माघ ३० सम्म केही काम नगरे पछि ११ लाख धरौटी जफत गरिएको हो ।

ठेकेदार निर्माण कम्पनीहरुले समयमा नै काम सम्पन्न नगर्नु साह्रै गलत काम भएको सरोकारवालाहरुको भनाइ छ । जिल्लामा बजेट प्राप्त भएपनि कामको प्रगति अनुसार खर्च गर्न नसक्नु दुःखत भएको उनीहरु बताउँछन् । 


 

अन्तिम अपडेट: चैत २५, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया